शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

पृथ्वी राजमार्गमा सडक विस्तारका क्रममा ३८४ रुख कटान

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन २९ २०७८
पृथ्वी राजमार्गमा सडक विस्तारका क्रममा ३८४ रुख कटान

तनहुँ- पृथ्वी राजमार्ग सडक खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ कमलबारीदेखि बन्दिपुर-१ को स्याउलीसम्म ३ सय ८४ रुख कटान गरिएको छ।

करिब दश किलोमिटर सडक दूरीअन्तर्गत एक हजार पाँच सय रुख कटान गर्नुपर्नेमा पहिलो चरणमा उक्त सङ्ख्याका रुख कटान गरिएको हो। छिमेकी जिल्ला पोखराको चाइना पुलदेखि तनहुँको पूर्वी नाका मुग्लिनपुलसम्म करिब ९० किलोमिटर दूरीमा सडक विस्तार गरिने भएको छ। उक्त मार्गअन्तर्गत तीन वटा निर्माण कम्पनीले तीन प्याकेजमा सडक विस्तारका कार्य गर्नुपर्ने भए पनि हाल दुई प्याकेजमा मात्रै काम भइरहेको गजुरमुखी निर्माण कम्पनीका इञ्जिनियर कमल श्रेष्ठले जानकारी दिए। 

जिल्लाको आँबुखैरेनीदेखि म्याग्दे गाउँपालिकाको जामुनेसम्म ४१ किलोमिटर र जामुनेदेखि पोखराको चाइनापुलसम्म ४९ किलोमीटर दूरीमा तीन निर्माण कम्पनीले सडक विस्तारका काम गर्नेछन्। हाल ४१ किलोमिटर दूरीभित्र सडक विस्तारका कार्य भइरहेपनि ४९ किमी क्षेत्रमा काम सुरु नभएको उनको भनाइ थियो।

उक्त ४१ किमीमध्ये दश किमी गजुरमुखी निर्माण कम्पनी प्रालिले ठेक्का पाएपछि सडक विस्तारका कार्य गर्दै आएको छ। उक्त कम्पनीका अनुसार ३४ किमी ८०० मिटरदेखि २४ किमी ८०० मिटरभित्रको बाँकी रहेको दश किमी सडक विस्तारका लागि उक्त निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको हो। 

दश किमीमध्ये हालसम्म दुई किमी सडकको रुख काटिएको जानकारी दिँदै उनले भने, 'सडक कालोपत्र बाहेक अन्य कार्य चौध महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ।' कूल ६५ करोड रूपैयाँमा ठेक्का सम्झौता गरी पाँच वर्ष योजना सम्पन्न गर्नुपर्ने समयसिमा छ। उक्त क्षेत्रमा अहिले दैनिक ४० देखि ५० जनासम्म जनशक्ति परिचालन गरिएको निर्माण कम्पनीका निर्देशक शान्ता महर्जनले जानकारी दिए। रासस  


प्रकाशित : आइतबार, फागुन २९ २०७८०६:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend