बाँके- विभिन्न २ सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी यहाँ ‘मःमः फेस्टिबल’को चौथो संस्करण सुरु गरिएको छ। नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजले सुरु गरेको तीनदिने मःम महोत्सवको शुभारम्भ गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले यस्ता महोत्सवले नेपालगञ्जको आर्थिक कारोबार चलायमान हुने विश्वास व्यक्त गरे।
सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका पश्चिम क्षेत्रीय कार्यकारी प्रमुख केशव न्यौपानेले महोत्सव नाफामुखी नभई स्वादको सहर नेपालगञ्जलाई देशभर ब्रान्डिङको उद्देश्य राखिएर सुरु गरिएको जानकारी दिए। अंग्रेजी नयाँ वर्ष २०२६ का अवसरमा सुरु गरिएको महोत्सवलाई आगामी वर्षदेखि नेपालगञ्जको साझा आयोजनाका रूपमा अगाडि बढाउने लक्ष्य लिइएको उनको भनाइ छ।
पश्चिम क्षेत्रीय कार्यकारी प्रमुख न्यौपानेका अनुसार आज सांस्कृतिक कार्यक्रमसँगै मःमः मेकिङ एन्ड कुकिङ प्रतियोगिता पनि आयोजना गरिने बताए। सो महोत्सवमा २ सयभन्दा बढी प्रकारका मःमः सहभागी गराइएको सिद्धार्थ ग्रुपका हेड अफ सेफ एलबी कौशलले जानकारी दिए। स्थानीय स्वादसँगै नयाँ-नयाँ फ्लेवरका मःमःले महोत्सवलाई विशेष बनाएको उनको भनाइ छ। कौशलले अकबरे खुर्सानी, कोदो, फापर तरुललगायत दुई सय प्रकारका मःम महोत्सवमा प्राप्त हुने बताए।
महोत्सवको अन्तिम दिन सोमबार, राष्ट्रिय तथा स्थानीय ब्यान्डहरूको प्रस्तुति रहने छ भने राष्ट्रिय तथा स्थानीय कलाकारको नृत्य प्रस्तुत गरिने आयोजकले जनाएको छ। स्वादको सहर मानिएको नेपालगञ्जमा शनिबारदेखि सुरु भएको मःमः महोत्सवले खाद्य पर्यटनलाई थप उचाइ दिने अपेक्षा गरिएको छ।
कटेजले २०८० सालदेखि निरन्तर रूपमा सो महोत्सव आयोजना गर्दै आएको थियो। सिद्धार्थ ग्रुपअन्तर्गत नेपालगञ्जको चारतारे लक्जरी होटल सिद्धार्थसहित देशभर ३३ वटा होटल, रिसोर्ट, रेष्टुरेन्ट तथा क्याफे सञ्चालनमा छन्। रासस