काठमाडौं- अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिएसँगै त्यहाँबाट तेल निर्यात सुरु गरिसकेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भेनेजुएलाबाट कब्जा गरिएको कच्चा तेलको पहिलो लटको बिहीबार बिक्री गरेको हो।
अमेरिकाले जनवरीको सुरुमा भेनेजुएलामाथि गरिएको सैन्य कारबाही र राष्ट्रपति निकोलस मादुरोको गिरफ्तारी गरेको थियो। भेनेजुएलाको तेल भण्डारमाथि नियन्त्रण लिन अमेरिकाले उक्त आक्रमण गरेको थियो। भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिएर हाल अमेरिकाको कारागारमा राखिएको छ। उनीमाथि विभिन्न आरोपहरु लगाएर अदालतमा पेस गरिएको छ।
यो घटनाक्रमपछि अमेरिकाले त्यहाँको विशाल तेल भण्डारमाथि आफ्नो नियन्त्रण कायम गरेको थियो। भेनेजुएलामा रहेको तेल उत्खनन् अमेरिकी कम्पनीमार्फत मात्र हुने घोषणा ट्रम्पले यसअघि नै गरिसकेका छन्।
अमेरिकाले पहिलो लटमा भेनेजुएलाबाट ५० करोड डलर बराबरको तेल पहिलो लटमा बिहीबार बिक्री गरेको थियो। अमेरिकाले भेनेजुएलाको बन्दरगाह र ट्यांकरहरूमा रोकिएका करिब ३ करोडदेखि ५ करोड ब्यारेल तेल बजारमा ल्याउने योजना बनाएको छ। यसबाट अमेरिकाले करिब २ अर्ब डलरभन्दा बढी आम्दानी गर्ने अनुमान गरिएको छ।
भेनेजुएला विश्वको सबैभन्दा धेरै तेल रिजर्भ रहेको देश हो। अब अमेरिकाले चाहे जति र चाहेको देशलाई मात्र भेनेजुएलाबाट कच्चा तेल दिनेछ। तर अमेरिकाले नियन्त्रणमा लिनुपूर्व भेनेजुएलाबाट विभिन्न देशमा कच्चा तेल निर्यात हुँदै आएको थियो।
यहाँ २०२३ मा भेनेजुएलाबाट कुन देशमा धेरै कच्चा तेल निर्यात भयो भन्ने तथ्यांकबारे भिजुअल क्यापिटालिस्ट लेखेको छ। यो तथ्यांक अमेरिकी इनर्जी इन्फर्मेसन एडमिनिस्ट्रेसनबाट लिइएको हो। २०२३ मा भेनेजुएलाबाट २१ करोड १६ लाख व्यारेल कच्चा तेल निर्यात गरेको थियो। यसमध्ये ९० प्रतिशत कच्चा तेल चीन र अमेरिकातर्फ निर्यात भएको तथ्यांक छ।
चीनले २०२३ मा भेनेजुएलाबाट १४ करोड ४० लाख ब्यारेल तेल आयात गरेको थियो। यो भेनेजुएलाबाट निर्यात भएको कुल तेलको ६८ प्रतिशत हो। त्यस्तै सोही वर्ष भेनेजुएलाबाट अमेरिकामा ४ करोड ८५ लाख व्यारेल कच्चा तेल निर्यात भएको थियो। यो भेनेजुएलाबाट निर्यात भएको कच्चा तेलको करिब २३ प्रतिशत हो।
यी हुन् २०२३ मा भेनेजुएलाबाट धेरै तेल आयात गर्ने देशहरु :
१ चीन- १४ करोड ४० लाख ७१ हजार व्यारेल
२. अमेरिका- ४ करोड ८४ लाख ६७ हजार व्यारेल
३. स्पेन- ८५ लाख ३३ हजार व्यारेल
४. क्युबा- ७५ लाख ८७ हजार व्यारेल
५. सिंगापुर- १० लाख ९२ हजार व्यारेल
६. बहामस- ९ लाख २३ हजार व्यारेल
७. मलेसिया- ६ लाख १८ हजार व्यारेल
८. रसिया- ३ लाख ५८ हजार व्यारेल
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा ध्वस्त भएको ऊर्जा क्षेत्रलाई पुनर्जीवित गर्न अमेरिकी तेल कम्पनीहरूले कम्तीमा १ खर्ब डलर लगानी गर्ने घोषणा गरेका थिए।
भेनेजुएलाको तेल उत्खनन् अमेरिकी कम्पनी बाहेक अरुले गर्न पाउने छैनन् भने लगानी पनि अमेरिकाकै कम्पनीले मात्र गर्नेछ। यद्यपि ह्वाइट हाउसमा भएको छलफलका क्रममा ठूला तेल कम्पनीका कार्यकारीहरूले भने केही आशंका व्यक्त गरेका छन्।
अमेरिकाले भेनेजुएलामा ट्रम्पको घोषणा अनुसार १ खर्ब डलर लगानी भए अन्तर्राष्ट्रिय बजारमा भेनेजुएलाको तेलको आपूर्ति बढ्दा विश्वव्यापी इन्धनको मूल्यमा केही गिरावट आउन सक्ने विश्लेषण गरिएको छ। अमेरिकाको यो योजनाले विश्व अर्थतन्त्रमै प्रभाव पर्नेछ।