शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

कर्जा नोक्सानी व्यवस्थामा संशोधन गर्दै राष्ट्र बैंकले गर्‍यो निष्क्रिय कर्जा तीन महिनामा स्तरोन्नतिको व्यवस्था

शुक्रबार, माघ २ २०८२
कर्जा नोक्सानी व्यवस्थामा संशोधन गर्दै राष्ट्र बैंकले गर्‍यो निष्क्रिय कर्जा तीन महिनामा स्तरोन्नतिको व्यवस्था

राष्ट्र बैंकका अधिकारीहरूका अनुसार अन्तर्राष्ट्रिय अभ्यास र आईएमएफको सिफारिसअनुसार भुक्तानी भएको बक्यौता रकम तीन महिनासम्म सोही वर्गमा कायम राख्नुपर्ने व्यवस्था गरिएको हो।

काठमाडौं- राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा कर्जा नोक्सानी व्यवस्थामा नयाँ संशोधन गर्दै कमसल, शंकास्पद र खराब वर्गका निष्क्रिय कर्जामा भाखा नाघेको सम्पूर्ण बक्यौता रकम भुक्तानी भए पनि तीन महिनासम्म सोही वर्गमा कायम राख्ने र त्यसपछि मात्रै असल वर्गमा स्तरोन्नति गर्ने व्यवस्था लागु गरेको छ।

यसअघि निष्क्रिय कर्जामा भाखा नाघेको रकम भुक्तानी भएपछि ६ महिनासम्म सुक्ष्म निगरानीमा राखेर ५ प्रतिशत कर्जा नोक्सानी कायम गरिन्थ्यो र त्यसपछि मात्र असल वर्गमा स्तरोन्नति गर्न पाइन्थ्यो। हालको संशोधनले यस अवधिलाई तीन महिनामा घटाएको हो।

राष्ट्र बैंकका अधिकारीहरूका अनुसार अन्तर्राष्ट्रिय अभ्यास र आईएमएफको सिफारिसअनुसार भुक्तानी भएको बक्यौता रकम तीन महिनासम्म सोही वर्गमा कायम राख्नुपर्ने व्यवस्था गरिएको हो।

संशोधनअनुसार निष्क्रिय वर्गमा (पुनर्संरचना र पुनर्तालिकीकरण बाहेक) वर्गीकृत कर्जाको भाखा नाघेको सम्पूर्ण बक्यौता रकम भुक्तानी भएपछि तीन महिनासम्म कर्जा नियमित भएमा जुन वर्गमा थियो सोही वर्गमा राखेर मात्र स्तरोन्नति गर्न सकिने व्यवस्था कायम गरिएको छ।

त्रैमासिक वा आर्थिक वर्षको अन्त्यमा मात्रै भुक्तानी हुने प्रवृत्ति हुँदा यसले बैंकहरूको वित्तीय स्थायित्वमा थप दबाब पर्न सक्नेछ।

संशोधित एकीकृत निर्देशनअनुसार ऋणीले लिखित अनुरोध गरेमा वर्षमा एकपटक ब्याजदर परिवर्तन अनुसार किस्ता रकम परिमार्जन गर्न सक्ने व्यवस्था गरिएको छ। यसले अतिरिक्त कर्जा नोक्सानी आवश्यक नपर्ने गरी सुविधा उपलब्ध गराएको छ।

कर्जाको वर्गअनुसार न्यूनतम कर्जा नोक्सानी यसप्रकार कायम गरिएको छ -

असल: १ प्रतिशत

सुक्ष्म निगरानी: ५ प्रतिशत

कमसल: २५ प्रतिशत

शंकास्पद: ५० प्रतिशत

खराब: १०० प्रतिशत


प्रकाशित : शुक्रबार, माघ २ २०८२१७:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend