काठमाडौं- सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नम्बर-२ स्थित हायुटारमा अवस्थित एसबीआई बैंक लुटपाटमा संलग्न रहेको आरोपमा घरधनीसहित ७ जनालाई प्रहरीले पक्राउ गरेकाे छ।
बैंक लुटपाटमा घरधनीकै संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्यप्रकाश सुवेदीले बताए। बैंक लुटमा संलग्न भएको आरोपमा प्रहरीले बैंकको शाखा रहेको घरका धनी छविलाल स्याङ्तानलाई पक्राउ गरेको छ।
बैंक लुटपाटकाे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बस्तीपुर सिन्धुलीबाट खटिएको टोली घटनास्थलमा पुग्दा दुईवटा कोठामा बैंकको कर्मचारीहरु र बैंकको सुरक्षा गार्डलाई नियन्त्रणमा लिइ हातखुट्टा बाँधेर तथा मुखमा टेपसमेत टाँसिएको अवस्थामा फेला पारेको थियो।
बैंक लुटेर फरार भएका व्यक्तिको पहिचान तथा पक्राउ गर्न प्रहरी टोली तथा स्थानीयसमेतको साथ सहयोग लिइ उक्त घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी उपरीक्षकको कमाण्डमा ५० जना प्रहरी परिचालन भएको थियो।
प्रहरी टोली तथा स्थानीयहरु समेतको सहभागितामा शंकास्पद स्थानमा खोजतलास गर्ने क्रममा घटनास्थलबाट करिब २ किलोमिटर पूर्व लिपिखोलामा बीएडी ०३९८ नम्बरकाे टाटा सुमो र चालक भागवत सिंह थापालाई नियन्त्रयमा लिएर सोधपुछ गरेको सुवेदीले बताए।
सोधपुछका क्रममा ६ जनाले विवाहको लागि उक्त टाटा सुमो काभ्रे जिल्लाको बनेपाबाट सोही दिन रिजर्व गरी ल्याएको र निज व्यक्तिहरु केही समयपश्चात आउने भएकाले पर्खी बसेको जानकारी गराएकोमा शंका लागि तत्काल सुमो र सुमो चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान तथा सोधपुछ गरिएको थियो।
पक्राउ पर्नेमा काभ्रेको बनेपा घर भएका ४९ वर्षीय भागवत सिंह थापा, सिन्धुली घ्याङलेख गाउँपालिका घर भएका ४७ वर्षीय चतुरमान बज्यु, चितवन भरतपुर घर भएका २४ वर्षीय शशांक श्रेष्ठ, नुवाकोट पञ्चकन्या-५ घर भएका २३ वर्षीय मिलन गिरी, सोही ठाउँका १९ वर्षीय विवेक मगर, सिन्धुली घ्याङलेख-२ बस्ने ४४ वर्षीय छविलाल स्याङ्तान र १६ वर्षीय बालक छन्।
बैंकबाट लुटेको २ करोड ६८ लाख ५५ हजार नगद प्रहरीले बरामद गरेको छ। लुटेराहरूले घटनास्थलमा देखाएको पेस्तोल नक्कली रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ। नक्कली प्लास्टिकको पेस्तोल र खुकुरी देखाएर बैंक लुटिएको डीएसपी सुवेदीले जानकारी दिए। प्रहरीले लुटमा प्रयोग भएको नक्कली पेस्तोल र खुकुरी बरामद गरेको छ।
घरधनी स्याङ्तानले लुटेराहरूलाई हतियार व्यवस्थापन गरिदिएका थिए। उनले सूचना आदान प्रदान पनि गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ।
घ्याङलेख गाउँपालिका-२ बस्ने चतुरमान बज्यु र घरधनी छविलाल स्याङ्तानले २०८२ असोजबाट नै बैंक लुट्ने योजना बनाएको अनुसन्धान अधिकृतहरूलाई बताएका छन्।
लुटेराहरू पुस २३ मा काठमाडौंबाट २ वटा मोटरसाइकलमा सिन्धुली गएका थिए तर त्यसबेला परिस्थिति अनुकूल नभएर फर्केको र दोस्रो प्रयासमा लुटेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ। पुस २९ मा कोटेश्वरमा भेला भएर लुटेराहरू बनेपासम्म सार्वजनिक यातायातमा गएका थिए। बनेपाबाट टाटा सुमो रिजर्भ गरेर घटनास्थलमा पुगेका हुन्।
आरोपीहरूविरुद्ध प्रहरीले चोरी तथा डाँकासम्बन्धी कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ। एसबीआई बैंकको शाखा कार्यालयका अनुसार ३ करोड ७ लाख लुटपाट भएको छ।