शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

वित्तीय क्षेत्रको नाफा संकुचित भएपछि कर संकलनमा धक्का, उपभोग बढ्दा पनि देखिएन आयकरमा प्रभाव

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ १ २०८२
वित्तीय क्षेत्रको नाफा संकुचित भएपछि कर संकलनमा धक्का, उपभोग बढ्दा पनि देखिएन आयकरमा प्रभाव

सरकारले पुस अन्तिमसम्म ५ खर्ब ८१ अर्ब आम्दानी गरेको छ। यो वार्षिक लक्ष्यको ८१ प्रतिशत हो। ‍

काठमाडौं- देशमा उपभोगमा वृद्धि हुँदा त्यसको व्यापारमा सिर्जना हुने करयोग्य आम्दानी सिर्जना नहुँदा आयकर संकलनमा प्रगति हुन सकेको छैन। चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको अवधिमा आयकतर संकलनमा उल्लेख्य प्रगति नहुँदा लक्ष्यको तुलनामा न्यून र सीमान्त वृद्धिदरमा सीमित भएको छ। 

अर्थ मन्त्रालयको सार्वजनिक गरेको तथ्यांकअनुसार चालु वर्षको छ महिनामा गत वर्षको तुलनामा कर राजस्व ३ प्रतिशतले बढेको छ। लक्ष्यको तुलनामा ८१ प्रतिशतमात्र संकलन भएको छ। 

माग तथा खपतका कोणबाट बजार चलायमान भइरहेको देखाउने करका सूचक अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ। साउनदेखि कात्तिकसम्मको अवधिमा मूल्यअभिवृद्धि कर, अन्त:शुल्क र भन्सार महसुलमा वृद्धि भएको छ। 

अर्थ मन्त्रालयका अनुसार चार महिनामा भन्सार महसुल गत वर्षको ६ महिनाको तुलनामा ८ प्रतिशतले बढेको छ। यो अवधिमा भन्सार महसुल १ खर्ब १६ अर्ब ८३ करोड रुपैयाँ संकलन भएको छ।

त्यस्तै यही अवधिमा मूल्यअभिवृद्धि कर पनि ८.३१ प्रतिशतले बढेको छ। भ्याट १ खर्ब ६७ अर्ब रुपैयाँ संकलन भएको छ। भ्याटको वृद्धिदर आयात तथा आन्तरिक उत्पादन तथा वितरणमा सामान रहेको छ। 

त्यस्तै अन्त:शुल्क पनि ९ प्रतिशतले बढेको छ। ६ महिनामा अन्त:शुल्क ९१ अर्ब रुपैयाँ संकलन भएको छ। जसमा आन्तरिक उत्पादनबाट ७१ अर्ब र आयातबाट २५ अर्ब संकलन भएको छ। 

भन्सार, भ्याट र अन्त:शुल्कको वृद्धिले बजारमा आयात, वितरण तथा खपत बढेको प्रष्ट देखिन्छ। उपभोग तथा उत्पादनमा आधारित कर संकलको वृद्धि सन्तोषजनक हुँदा पनि आयकर भने गत वर्षको यही अवधिको तुलनामा घटेको छ। 

व्यापार, व्यवसाय, उत्पादन, विवतरण र खपत बढ्ने तर आयकर घट्ने भएको यसबाट देखिएको छ। 

यो अवधिमा आयकर गत वर्षको तुलनामा २.६६ प्रतिशतले घटेको छ। अर्थात यो बीचमा आयकर १ खर्ब ३८ अर्ब रुपैयाँ १५ करोड संकलन भएको छ। जसमा आयकर नै ०.९० प्रतिशत र ब्याजकर १६ प्रतिशतले घटेको छ। 

उपभोग र खपत बढेपनि त्यसबाट करयोग्य आम्दानी बढ्न नसकेको र यसका विभिन्न कारण हुनसक्ने अधिकारीहरू बताउँछन्। तर मुख्य कारण भनेको घटेको ब्याजदर र पछिल्लो मौसमी तथा राजनीतिक विद्रोहका कारण बीमा क्षेत्रको नोक्सानीलाई मुख्य कारण मान्छन् आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहाल। 

आयकरको मुख्य हिस्सा सेवा क्षेत्रबाट संकलन हुन्छ। बैंकको ब्याज घट्दा र ऋण प्रवाहमा उल्लेख्य प्रगति नहुँदा बैंकहरूको आम्दानी खुम्चिने सम्भावना हुन्छ। त्यही भएर बैंकहरूको आयकर पनि घटेको उनको भनाइ छ। 

त्यस्तै बीमा कम्पनीहरूको पनि नाफामा गिरावट हुने देखिएकाले पनि आयकर प्रभावित हुने दाहालको भनाइ छ। ‘उपभोग र उत्पादनसँग सम्बन्धित क्षेत्रबाट अप्रत्यक्ष कर नै धेरै आउने भएकाले आयकरको मुख्य स्रोत वित्तीय क्षेत्र नै हो। त्यसैको आयमा गिरावट हुने भएपछि आयकरमा देखियो’ दाहाल भन्छन्। 

समग्रमा वित्तीय क्षेत्रको संकुचनले गर्दा कर संकलनमा उत्साहन देखिएको छैन। 

गैरकर पनि गत वर्षको तुलनामा १२ प्रतिशतले घटेको छ। आर्थिक गतिविधिभन्दा पनि आकस्मिक लाभका रुपमा प्राप्त हुने र कतिपय बक्यौता संकलन हुँदा यो शीर्षकको कर बढ्छ। गएका दुई वर्षमा सरकारले विभिन्न शीर्षकको रोयल्टी तथा अन्य शीर्षकबाट ठूलो आम्दानी पाएको थियो।

सरकारले पुस अन्तिमसम्म ५ खर्ब ८१ अर्ब आम्दानी गरेको छ। यो वार्षिक लक्ष्यको ८१ प्रतिशत हो। ‍


प्रकाशित : बिहीबार , माघ १ २०८२१६:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend