शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

आर्थिक वृद्धिदर ३.०२ प्रतिशत हुने प्रारम्भिक अनुमान

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस ३० २०८२
आर्थिक वृद्धिदर ३.०२ प्रतिशत हुने प्रारम्भिक अनुमान

काठमाडौं- राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादनमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.०२ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ।

मौसमी प्रभाव समायोजन नगरिएको तथ्यांकअनुसार खाद्यान्न बाली, वनपैदावर, निर्जीवन बिमा र निर्माण सामग्री उत्पादनमा संकुचन भए पनि विद्युत उत्पादन तथा वितरण, वित्तीय क्रियाकलाप, पशुजन्य उत्पादन, फलफूल तथा तरकारी, व्यापार सेवा र पर्यटन क्षेत्रमा वृद्धिका कारण कुल उत्पादन वृद्धिदर सकारात्मक रहेको देखिएको जनाइएको छ। समग्रमा १८ वटा औद्योगिक वर्गीकरणमध्ये सबैमा धनात्मक वृद्धिदरको अनुमान गरिएको छ।

मौसमी प्रभाव समायोजन गरिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिकको तुलनामा चालु वर्षको पहिलो त्रैमासिकमा १.६८ प्रतिशतले संकुचन हुने प्रारम्भिक अनुमान छ। १८ औद्योगिक वर्गीकरणमध्ये १३ क्षेत्रमा ऋणात्मक वृद्धि देखिएपछि समग्र जीडीपीमा सामान्य संकुचन आएको देखिएको छ।

क्षेत्रगत विश्लेषणअनुसार विद्युत तथा ग्याससम्बन्धी क्रियाकलापमा सबैभन्दा बढी वृद्धिदर (१४.९१ प्रतिशत) देखिएको छ। त्यसपछि वित्तीय तथा बीमा क्रियाकलापमा ७.०७ प्रतिशत, पेशागत, वैज्ञानिक तथा प्राविधिक क्रियाकलापमा ५.५२ प्रतिशत वृद्धिदर रहेको अनुमान गरिएको छ।

अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान दिने कृषि क्षेत्रको वृद्धिदर १.३६ प्रतिशत रहेको छ। धानबाली उत्पादन घटे पनि पशुपन्छी, तरकारी र फलफूल उत्पादनमा सामान्य वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव पुर्‍याएको छ।

थोक तथा खुद्रा व्यापार क्षेत्रले ३.८९ प्रतिशत वृद्धि हासिल गरेको प्रारम्भिक अनुमान छ। जुन व्यापारजन्य वस्तु उत्पादन र आयात वृद्धिको परिणाम मानिएको छ।

सबैभन्दा कम वृद्धिदर पानी आपूर्ति, ढलनिकास, फोहोर व्यवस्थापन र मानव स्वास्थ्य तथा सामाजिक क्रियाकलाप क्षेत्रमा क्रमशः १.११ प्रतिशत र १.१९ प्रतिशत रहेको देखिन्छ।


प्रकाशित : बुधबार, पुस ३० २०८२१६:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend