शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नागरिक लगानी कोषको साधारण सभा सम्पन्न, बोनस सेयर र नगद लाभांश पारित

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस ३० २०८२
नागरिक लगानी कोषको साधारण सभा सम्पन्न, बोनस सेयर र नगद लाभांश पारित

काठमाडौं- नागरिक लगानी कोषको ३१ औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। कोषको साधारण सभाले गत आर्थिक वर्ष २०८१/८२ को आम्दानीबाट ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश (नगदसमेत) वितरणको प्रस्ताव पारित गरेको हो।

कोषको गत आर्थिक वर्षको कर पछिको खुद नाफा १ अर्ब २५ करोड ६० लाख रुपैयाँ छ। जसमध्ये रु २५ करोड १२ लाख साधारण जगेडा कोषमा राखी बाँकी रकमबाट लाभांश वितरण गरिएको हो।

कोषले सञ्चालन गरेको विभिन्न बचत कार्यक्रमबाट गत आर्थिक वर्ष २०८१/८२ मा २ खर्ब ६६ अर्ब ६५ करोड रुपैयाँ खुद कोष संकलन भएकामा चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बचत परिचालन मौज्दात रकम २ खर्ब ९६ अर्ब ८९ करोड रुपैयाँ पुगेको जनाएको छ।

साधारण सभाले कोषको वार्षिक प्रतिवेदन, गत आर्थिक वर्ष २०८१/८२ को नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणसमेत पारित गरेको छ। साधारण सभाले सर्वसाधारण सेयरधनीका तर्फबाट नारायणप्रसाद घिमिरेलाई सर्वसम्मत चयन गरेको छ।

साधारणसभामा कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले गत आर्थिक वर्षको लाभांशबाट सेयरधनी सन्तुष्ट देखिनु, कोषका कर्मचारीको सेवासुविधा र वृत्तिविकासलगायत विषयमा चासो देखाउनु सकारात्मक रहेको बताए। उनले संस्थालाई व्यवस्थित बनाएर लैजान दूरदर्शी ढंगले काम गर्ने प्रतिबद्धता जनाए। 

कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले सेयरधनीले साधारण सभामा दिएका सुझाव सम्बोधन गरिने प्रतिबद्धता जनाए। साथै संस्थालाई सुशासित संस्थाका रूपमा अघि बढाउँदै लगिएको उनले दाबी गरे।

कार्यकारी निर्देशक कार्कीले कोषले नेपाल वायुसेवा निगममा गरेको कर्जा लगानीको असुलीमा जटिलता देखिएको बताए। निगमले विमान खरिदका लागि कर्जा लग्दा नेपाल सरकार ‘ग्यारेन्टी’ बसेको उल्लेख गर्दै उनले ढिलो-चाँडो असुली हुने अपेक्षा व्यक्त गरे।

त्यस्तै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोषले शिक्षा, विपद् व्यवस्थापन तथा पुनर्निर्माणका क्षेत्रमा खर्च गरेको उनको भनाइ छ।  कोषका तथ्यांक क्रमशः ‘डिजिटलाइज’ गर्दै लगिएको र डाटा भण्डारणलाई सुरक्षित बनाउँदै लगिएको पनि कार्कीले जानकारी दिए। रासस


प्रकाशित : बुधबार, पुस ३० २०८२१५:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend