शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

माघ महिनाका लागि बैंकहरूले घटाए ब्याजदर, कुन बैंककाे कति?

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस ३० २०८२
माघ महिनाका लागि बैंकहरूले घटाए ब्याजदर, कुन बैंककाे कति?

पुसमा सबैभन्दा कम ब्याजदर रहेको प्राइम कमर्सियल बैंकले भने माघका लागि ०.१५ प्रतिशत विन्दुले ब्याजदर बढाएर ४.४ प्रतिशत पुर्‍याएको छ।

काठमाडौं- वाणिज्य बैंकहरूले माघ महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्।

बैंकिङ् प्रणालीमा तरलता वृद्धि भएसँगै बैंकहरूले लगातार ब्याजदर घटाउँदै लगेका हुन्।

माघमा २० वटा वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा दिने अधिकतम औसत ब्याजदर ४.६८४५ प्रतिशत कायम भएको छ। जुन पुसको तुलनामा ०.१४९५ प्रतिशत विन्दुले कम हो। व्यक्तिगत मुद्दति तर्फ कुल ११ वटा बैंकले ब्याजदर घटाएका छन्।

यस महिना ब्याजदर सबैभन्दा धेरै घटाउनेमा हिमालयन र माछापुच्छ्रे बैंक रहेका छन्। जसले ०.५ प्रतिशत विन्दुले दर कटौती गरेका छन्। ब्याजदर घटाउने अन्य बैंकहरूमा सिद्धार्थ, सानिमा, लक्ष्मी सनराइज, सिटिजन्स, कुमारी, एभरेष्ट, कृषि विकास, नेपाल एसबीआई र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन्।

पुसमा सबैभन्दा कम ब्याजदर रहेको प्राइम कमर्सियल बैंकले भने माघका लागि ०.१५ प्रतिशत विन्दुले ब्याजदर बढाएर ४.४ प्रतिशत पुर्‍याएको छ।

संस्थागत मुद्दति निक्षेपको औसत ब्याजदर पनि समीक्षा अवधिमा ०.०६२५ प्रतिशत विन्दुले घटेको छ। माघका लागि ४ वटा बैंकले संस्थागत ब्याजदर घटाएका छन् भने बाँकी १६ बैंकले पुसकै दरलाई निरन्तरता दिएका छन्।

बैंकहरूले तोकेको नयाँ दर अनुसार ग्लोबल आईएमई बैंकले सबैभन्दा बढी ५.५ प्रतिशत ब्याज दिएको छ। नेपाल बैंकले ५.१ प्रतिशत तथा राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया, नेपाल इन्भेष्टमेन्ट मेगा र एनएमबी बैंकले समान ५ प्रतिशत ब्याज तोकेका छन्।

त्यसैगरी सिद्धार्थ, सानिमा, प्रभु र नबिल बैंकको ४.५५ प्रतिशत तथा लक्ष्मी सनराइज, माछापुच्छ्रे र सिटिजन्स बैंकको ४.५ प्रतिशत कायम भएको छ। कुमारी बैंकले ४.४३ प्रतिशत, एभरेष्ट, कृषि विकास र नेपाल एसबिआई बैंकले समान ४.४ प्रतिशत तथा स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम ४.३६ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।


प्रकाशित : बुधबार, पुस ३० २०८२१५:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend