काठमाडौं- नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाइले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनले नेपालमा सम्पत्ति शुद्धीकरण निवारण, आतंककारी कार्यमा हुने वित्तीय लगानी निवारण तथा आमविनाशका हातहतियार निर्माण र विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी नीतिगत, संस्थागत र सञ्चालनगत प्रगतिको समग्र विवरण प्रस्तुत गरेको छ।
प्रतिवेदनअनुसार इकाइले आर्थिक वर्ष २०८१/८२ मा सूचनाको सुरक्षा, गोपनीयता तथा प्रयोगसम्बन्धी मार्गदर्शन तयार गरेको छ। साथै शंकास्सपद कारोबार र सीमा कारोबारसम्बन्धी मार्गदर्शन अद्यावधिक गर्नुका साथै वित्तीय सूचना व्यवस्थापन प्रणाली सञ्चालन तथा परिमार्जन गरिएको छ।
आर्थिक वर्ष २०८१/८२ मा वित्तीय सूचना संकलनमा उल्लेख्य वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षमा १ हजार ६३८ रहेका सूचक संस्थाहरूको संख्या बढेर ३ हजार ४८७ पुगेको छ। सो अवधिमा इकाइले ८ हजार ५ सय ६५ वटा शंकास्पद कारोबार तथा गतिविधिसम्बन्धी प्रतिवेदन प्राप्त गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशतले बढी हो।
प्राप्त प्रतिवेदनहरूको विश्लेषणसमेत उल्लेख्य रूपमा बढेको छ। विश्लेषणपछि ८४५ वटा शंकास्पद कारोबार तथा गतिविधिमा आधारित वित्तीय जानकारी प्रतिवेदन नेपाल प्रहरी, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित कानून कार्यान्वयन गर्ने निकायहरूमा पठाइएको छ। यसबाट वित्तीय अपराधको पहिचान, अनुसन्धान र अभियोजन प्रक्रियामा प्रत्यक्ष सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ।
अन्तर्राष्ट्रियस्तरमा पनि सहकार्य विस्तार गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा इकाइले विदेशी वित्तीय जानकारी इकाइहरूसँग ६४ वटा सूचना आदानप्रदान गरेको छ। यसले सीमापार वित्तीय कारोबारबाट उत्पन्न जोखिम, अन्तरदेशीय अपराध सञ्जाल, साइबर ठगी तथा नयाँ प्रकृतिका अपराध प्रवृत्तिविरुद्धको सहकार्यलाई थप सुदृढ गरेको छ।
प्रतिवेदनमा एसिया-प्रशान्त क्षेत्रीय समूहले गरेको पारस्परिक मूल्यांकन नेपाल उच्च निगरानीमा राखिएको क्षेत्राधिकारको सूचीमा परेपछि त्यसबाट बाहिरिन गरिएका समन्वयात्मक प्रयाससमेत समेटिएका छन्।
वार्षिक प्रतिवेदनले जोखिममा आधारित दृष्टिकोण अवलम्बन, प्रविधिमा आधारित वित्तीय सूचना विश्लेषण, अन्तरनिकाय समन्वय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप सुधारलाई इकाइको आगामी प्राथमिकताका क्षेत्रका रूपमा पहिचान गरेको छ। आगामी दिनमा वित्तीय सूचनाको विश्लेषणको गुणस्तर सुदृढ गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई अझ प्रभावकारी बनाइने कार्यदिशा तय गरिएको प्रतिवेदनमा उल्लेख छ।