काठमाडौं- साताको तेस्रो दिन आज मंगलबार नेप्से परिसूचक ४.९० अंकले बढेर २६३९.९१ बिन्दुमा पुगेको छ।
आजको कारोबारमा ३ सय ४९ कम्पनीको १ करोड ३६ लाख २४ हजार ८ सय २४ कित्ता सेयर खरिद-बिक्री हुँदा ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार ३९ रुपैयाँ बराबरको कारोबार भएको छ।
आज सेन्सेटिभ इण्डेक्स शुन्य दशमलव १२ प्रतिशत, फ्लोट इण्डेक्स शुन्य दशमलव ०९ र सेन्सेटिभ फ्लोट इण्डेक्स शुन्य दशमलव १८ प्रतिशतले बढेको छ।
आज थ्रिस्टार हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। दोर्दी खोला जलविद्युत कम्पनीको सेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने सुपर मादी हाइड्रोपावरको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।
रसुवागढी हाइड्रोपावर कम्पनीको सेयरमूल्य यस दिन ६ प्रतिशतभन्दा बढी घटेको छ।कारोबार रकमका आधारमा राधी विद्युत कम्पनीको ५४ करोड ६५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, एसवाई प्यानल नेपालको करिब ३५ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने बुटवल पावर कम्पनीको कारोबार रकम २८ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशत बढेको छ। बैंकिङ, वित्त, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक सामान्य घटेको छ।