रौतहट- गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको बाढीले रौतहटमा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन घटेको छ। भित्र्याउने बेलाको धानबालीमा वर्षाको बाढी पसेपछि रौतहटमा धानको उत्पादन घटेको हो।
गत वर्षको तुलनामा यस वर्ष रौतहटमा कुल २१ हजार ५ सय ७८ मेट्रिकटन धान उत्पादन घटेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सुरेन्द्रप्रसाद कुर्मीले जानकारी दिए। उनका अनुसार गत वर्ष जिल्लामा १ लाख १६ हजार ७ सय ८ मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष ९५ हजार १ सय ३० मेट्रिकटन उत्पादन भएको छ।
यस वर्ष जिल्लामा ३१ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो भने प्रतिहेक्टर उत्पादन ३ दशमलव ०२ मेट्रिकटन रहेको निमित्त प्रमुख कुर्मीले जानकारी दिए। गत वर्ष रौतहटमा ३५ हजार ८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो। प्रतिहेक्टर उत्पादन ३ दशमलव २६ थियो।
गत वर्षको तुलनामा यस वर्ष प्रतिहेक्टर धान उत्पादन ० दशमलव २४ प्रतिशतले घटेको छ। यस वर्ष कूल २१ हजार ५ सय ७८ मेट्रिकटन धान उत्पादन घटेको निमित्त प्रमुख कुर्मीले बताए।
समयमै वर्षा नहुँदा गत वर्षको तुलनामा यस वर्ष करिब चार हजार ३ सय हेक्टर क्षेत्रफलमा कम धान रोपिएको कार्यालयले जनाएको छ। गत असोजमा आएको बाढीले १७ हजार ६ सय ३८ हेक्टर खेतमा लगाएको धानबालीमा क्षति पुर्याएको थियो। बकैया र बागमती नदीले तटबन्ध बगाएपछि बाढी खेतमा पस्दा धान बालीमा क्षति पुर्याएको हो।
बाढीले सबैभन्दा बढी राजदेवी, परोहा, राजपुर, माधवनारायण, गढीमाई, इशनाथ, मौलापुर नगरपालिका र दुर्गाभगवती गाउँपालिकामा क्षति पुर्याएको थियो। रासस