शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बैंकिङ प्रणालीको अतिरिक्त तरलता खिच्न राष्ट्र बैंकले जारी गर्‍याे २५ अर्बको ऋणपत्र

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस २८ २०८२
बैंकिङ प्रणालीको अतिरिक्त तरलता खिच्न राष्ट्र बैंकले जारी गर्‍याे २५ अर्बको ऋणपत्र

केन्द्रीय बैंकले राष्ट्र बैंक ऋणपत्र २०८३ ‘छ’ नामक उपकरणमार्फत ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने जनाएको छ।बोल गर्न सकिने रकम न्यूनतम ५ करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ।

काठमाडाैं- नेपाल राष्ट्र बैंकले आज पुस २८ गते २५ अर्ब रुपैयाँको नेपाल राष्ट्र बैंक ऋणपत्र जारी गरेको छ। 

बैंकिङ क्षेत्रमा पैसा थुप्रिने क्रम नरोकिएपछि राष्ट्र बैंकले एक वर्ष अवधिको लागि नेपाल राष्ट्र बैंक ऋणपत्रको बोलकबोल तथा निष्कासन गरेको हो।

केन्द्रीय बैंकले राष्ट्र बैंक ऋणपत्र २०८३ ‘छ’ नामक उपकरणमार्फत ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने जनाएको छ।बोल गर्न सकिने रकम न्यूनतम ५ करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ।

साँवा भुक्तानी २०८३ पुस २८ गते र ब्याज भुक्तानी अर्धवार्षिक हुने केन्द्रीय बैंकले जनाएको छ। यस ऋणपत्रको बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी सहभागी हुन पाउने छन्।

आह्वान गरिएको ऋणपत्रको रकम बाँडफाँट गर्दा बोलकबोलको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी आह्वान रकमसम्म वा समितिले निर्धारण गरेको बाँडफाँट रकमसम्मको बिन्दुमा कायम हुने ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही एकल ब्याजदरमा सो दर र सो दरभन्दा कम बोलवालालाई नेपाल राष्ट्र बैंक ऋणपत्र बिक्री गरिने केन्द्रीय बैंकले उल्लेख गरेको छ।

ऋणपत्र निष्कासन मितिमा काउण्टरपार्टीको खातामा पर्याप्त मौज्दात नभएमा त्यस्ता काउण्टर पार्टीको स्वीकृत बोल रकम रद्द गरी सोको २.५० प्रतिशत दरको हर्जाना सहित ६ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोरअन्तर्गतका कुनै पनि बोलकबोलमा सहभागी हुन बन्देज लगाइने बैंकले जनाएको छ।

बैंकका अनुसार स्वीकृत बोलपत्रअनुसार ऋणपत्र खरीद गर्ने काउण्टर पार्टीलाई विभागले नेपाल राष्ट्र बैंक खुला बजार कारोबारसम्बन्धी कार्यविधि (सातौँ संशोधन, २०८१), २०७८ को अनुसूची-९ बमोजिमको प्रमाणपत्र प्रदान गर्नेछ। परिपक्व मितिमा सो वापतको साँवा ब्याज भुक्तानी भएपछि उक्त प्रमाणपत्र स्वतः रद्द हुनेछ।

नेपालको बैंकिङ प्रणालीमा विगत तीन वर्षदेखि देखिएको अत्यधिक तरलताको समस्या थपिएको छ। अहिले नेपाल राष्ट्र बैंकलाई तरलता व्यवस्थापन गर्न हम्य परिरहेको छ। जसका कारण बैंक तथा वित्तीय संस्था समस्यामा परेका छन्।

चालु आर्थिक वर्षको पहिलो चार महिनामै बैंक तथा वित्तीय संस्थाहरूमा ११ खर्ब रुपैयाँभन्दा बढी ऋणयोग्य रकम थुप्रिएको छ। बैंकहरूका अनुसार कर्जाको माग निकै घटेपछि तरलता बैंकहरूमै थुप्रिन पुगेको हो।

केन्द्रीय बैंकले यस्तो ऋणपत्र लगातार छैटौँ पटक जारी गरेको हो। यसअगाडि पुस १४, १६, २०,२२, २३ र २४ गते पनि एक वर्षे अवधिको ऋणपत्र जारी गरेको थियो।


प्रकाशित : सोमबार, पुस २८ २०८२११:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend