काठमाडाैं- रिज लाइन इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको साधारण सेयरमा आवेदन दिने आज पुस २८ गते अन्तिम दिन रहेको छ।
कम्पनीले आफ्नो १ अर्ब १८ करोड ५० लाख रुपैयाँ बराबरको जारी पुँजीको २२ प्रतिशत अर्थात् २६ करोड ७ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ११ करोड ८५ लाख रुपैयाँ बराबरको ११ लाख ८५ हजार कित्ता सेयर निष्कासन गरिएको हो।
यस आईपीओमा गोरखा जिल्लाको अजिरकोट गाउँपालिकाका सम्पूर्ण वडाहरू तथा लमजुङ्ग जिल्लाको दुधपोखरी गाउँपालिकाका वडा नं. १,२ र ३ एवं दोर्दी गाउँपालिकाका वडा नं. ४,५ र ६ का बासिन्दाहरूले मात्र आवेदन दिन पाउनेछन्।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि प्रतिसेयर १०० रुपैयाँका दरले आवेदन दिन सक्ने व्यवस्था छ। कम्पनीको वित्तीय अवस्थालाई केयर रेटिङ नेपालले 'केयरएनपी डबल बी' रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाउँछ।
कम्पनीले हाल ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ, जसको कुल लागत २ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको छ। प्रतिमेगावाट २३ करोड १६ लाख रुपैयाँ लागत परेको यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७ वर्ष ४ महिना र डिस्काउण्टमा फिर्ता हुने अवधि १० वर्ष ९ महिना रहेको छ।
३० वर्ष ११ महिना विद्युत अनुमतिपत्र बाँकी रहेको यस आयोजनाले २०८० माघ ८ गतेदेखि नै व्यावसायिक उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण लाइनमा विद्युत बिक्री गरिरहेको छ। सेयर निष्कासन प्रक्रियाकाे बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडले रहेकाे छ।