काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरूको समग्र कर्जा प्रवाह सुस्त रहेको अवस्थामा व्यक्तिगत घरकर्जामा भने उल्लेख्य वृद्धि देखिएको छ।
नेपाल राष्ट्र बैंकको नीतिगत सहुलियत, कर्जा सीमाको विस्तार र न्यून ब्याजदरका कारण चालु आर्थिक वर्षमा घरकर्जा प्रवाह उल्लेखनीय रूपमा बढेको हो। ऋण प्रवाह नहुँदा लगानीयोग्य रकम १२ खर्ब रुपैयाँ थुप्रिएको छ। यस्तोमा व्यक्तिगत घरकर्जा भने बढेको देखिएको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को मंसिरसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले २ करोड रुपैयाँसम्मको व्यक्तिगत घरकर्जा शीर्षकमा २७ अर्ब ३४ करोड रुपैयाँ लगानी गरेका छन्। गत आर्थिक वर्षको यसै अवधिमा यस्तो कर्जा लगानी ११ अर्ब १३ करोड रुपैयाँमात्र थियो। यसले एक वर्षको अवधिमा घरकर्जा प्रवाह दोबरभन्दा बढीले वृद्धि भएको देखाउँछ।
२०८१ असारमा ३ खर्ब ८७ अर्ब रहेको व्यक्तिगत घरकर्जा २०८१ मंसिरमा ३ खर्ब ९८ अर्ब पुगेको थियो। २०८२ असारमा ४ खर्ब १७ अर्ब नाघेको घरकर्जा २०८२ मंसिरसम्ममा ४ खर्ब ४४ अर्ब पुगेको हो।
चालु आर्थिक वर्षको पाँच महिना (साउन-मंसिरसम्म) मा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कुल कर्जा १ दशमलव ९ प्रतिशत अर्थात् १ खर्ब २ अर्ब २४ करोड रुपैयाँले बढेको छ। तर यही अवधिमा व्यक्तिगत घरकर्जाको वृद्धिदर भने ६ दशमलव ५ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा व्यक्तिगत घरकर्जाको वृद्धिदर २ दशमलव ९ प्रतिशत मात्र थियो।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको मंसिरसम्म आइपुग्दा व्यक्तिगत घरकर्जाको कुल बक्यौता ४ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको असारसम्म यस्तो कर्जा ३ खर्ब ९८ अर्ब रुपैयाँको हाराहारीमा थियो।
घरकर्जा प्रवाह बढाउन राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा विशेष सहुलियत दिएको थियो। मौद्रिक नीतिमार्फत व्यक्तिगत घरकर्जाको सीमा २ करोड रुपैयाँबाट बढाएर ३ करोड रुपैयाँ पुर्याइएको छ। साथै पहिलोपटक ३ करोड रुपैयाँसम्मको घर खरिद वा निर्माण प्रयोजनको कर्जामा ‘लोन टू भ्यालु (एलटीभी) रेसियो’ ८० प्रतिशत कायम गरिएको छ।
राष्ट्र बैंकको नीतिगत सहजीकरण र व्यक्तिगत घरकर्जामा तुलनात्मक रूपमा कम जोखिम भएकाले यस क्षेत्रमा कर्जा प्रवाह बढेको बैंकरहरूको भनाइ छ। बैंकरहरूका अनुसार हाल ठूलो कर्पोरेट कर्जाको माग न्यून रहेकाले बैंकहरू साना र मध्यम खालका घरकर्जामा केन्द्रित भएका छन्।
अहिले ठूलो कर्पोरेट ऋणको माग खासै छैन। त्यसैले नियमित आम्दानी भएका व्यक्तिलाई किस्ताबन्दीमा दिइने घरकर्जा बढेको छ। यस्ता कर्जामा जोखिम पनि कम हुने भएकोले पनि राष्ट्र बैंकको मौद्रिक नीतिमा दिएको सहुलियतले पनि सकारात्मक प्रभाव पारेको छ।
बैंकहरूको आधारदर र कर्जाको ब्याजदर न्यून स्तरमा झर्नु पनि घरकर्जा बढ्नुको अर्को प्रमुख कारण हो। २०८२ मंसिर वाणिज्य बैंकहरूको औसत आधारदर ५ दशमलव ३८ प्रतिशतमा झरेको छ भने कर्जाको औसत ब्याजदर ८ दशमलव ९० प्रतिशतसम्म झरेको राष्ट्र बैंकको तथ्यांक छ।
बैंकहरूले आधारदरमा १ देखि ५ प्रतिशतसम्म प्रिमियम थप गरी कर्जा प्रवाह गर्दै आएका छन्। यसका आधारमा हाल परिवर्तित ब्याजदर योजनामा करिब ५ प्रतिशत र स्थिर ब्याजदर योजनामा करिब १० प्रतिशत हाराहारीमा घरकर्जा लगानी भइरहेको छ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको मंसिरसम्म कर्जा प्रकृतिअनुसार हायर पर्चेज कर्जा ६ दशमलव १ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ५ दशमलव ७ प्रतिशत तथा रियल इस्टेट कर्जा (व्यक्तिगत आवासीय घरकर्जासमेत) ३ दशमलव ७ प्रतिशतले बढेको छ। क्यास क्रेडिट कर्जा २ दशमलव ६ प्रतिशत, आवधिक कर्जा १ दशमलव २ प्रतिशत, माग तथा अन्य चालु पूँजी कर्जा १ प्रतिशत र ट्रस्ट रिसिप्ट (आयात) कर्जा शून्य दशमलव ९ प्रतिशतले बढेको छ। यता अधिविकर्ष कर्जा भने ५ दशमलव ४ प्रतिशतले घटेको छ।
राष्ट्र बैंकका अधिकारीहरूका अनुसार समग्र कर्जा विस्तार अपेक्षित रूपमा नबढे पनि आवासीय घरकर्जाले बैंकिङ प्रणालीमा कर्जा प्रवाहलाई आंशिक रूपमा चलायमान बनाएको छ। मौद्रिक सहुलियत र ब्याजदर अनुकूल रहेसम्म व्यक्तिगत घरकर्जाको माग आगामी महिनाहरूमा पनि कायम रहने अनुमान गरिएको छ।