शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

व्यवसायीलाई प्रधानमन्त्री देउवाले भने- एमसीसी सम्झौताबाट फाइदा लिनुस्

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २७ २०७८
व्यवसायीलाई प्रधानमन्त्री देउवाले भने-  एमसीसी सम्झौताबाट फाइदा लिनुस्

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट पारित भएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबाट फाइदा लिन निर्माण व्यवसायी महासंघलगायत निजी क्षेत्रका संघ संस्थालाई सुझाव दिएका छन्। 

'एमसीसी परियोजनाअन्तर्गत अन्तर्राष्ट्रिय प्रतिस्पर्धा ‘ग्लोबल टेण्डर’ हुन्छ, नेपालका व्यवसायीले पनि प्रतिस्पर्धामा सहभागी हुनुहोस्। हामी सबैभन्दा बढी खुसी हुन्छौँ। ग्लोबल टेण्डर हुँदा जुनसुकै मुलुकका निर्माण व्यवसायीले प्रतिस्पर्धामा सहभागी हुन पाउने छन्। चीन, भारतलगायत अन्य मुलुकले पनि सहभागी हुन सक्नेछन्' प्रधानमन्त्री देउवाले भने। 

नेपाल निर्माण व्यवसायी महासंघको २३ औँ साधारण सभा एवं १२ औँ अधिवेशनको उद्घाटन गर्दै उनले मुलुकको दिगो विकासका लागि आधुनिक र गुणस्तरीय पूर्वाधारको निर्माण आवश्यक रहेकोसमेत बताए।
 
प्रधानमन्त्री देउवाले भौतिक पूर्वाधारको विकास एवम् विस्तारबाट मात्र देशको समृद्धि सम्भव भएको बताए। उनले भने, 'भौतिक पूर्वाधारको विकास बिना मुलुकको समग्र विकास सम्भव छैन र, त्यो निर्माण व्यवसायीबाट मात्रै सम्भव छ। भौतिक निर्माणको उद्योगलाई अझ व्यावसायिक र प्रतिस्पर्धी बनाउनुस्, यसका लागि सहकार्य गर्न सरकार तत्पर छ।'

प्रधानमन्त्री देउवाले निर्माण व्यवसाय मुलुकमा पूर्वाधार निर्माण तथा रोजगारी सिर्जना गर्ने अग्रणी व्यवसाय भएकाले यसमा आबद्ध व्यवसायी आफ्नो व्यवसायप्रति सदैव गम्भीर र जिम्मेवार हुन आवश्यक रहेको बताए। उनले निर्माण व्यवसायमा स्वच्छ प्रतिस्पर्धालाई प्रवद्र्धन गर्दै मुलुकमा लागत किफायती र गुणस्तरीय निर्माणलाई सुनिश्चित गर्न सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

मुलुकमा कृषिपछि सबैभन्दा बढी रोजगारीको अवसर सिर्जना गर्ने निर्माण क्षेत्रको स्वच्छ र प्रतिस्पर्धी विकासबाट नै मुलुकको द्रुततर आर्थिक विकास सम्भवन हुने प्रधानमन्त्रीको भनाइ छ। 

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माण व्यवसायीको मागबमोजिम नै निर्माण उद्योगलाई समृद्ध बनाउन सार्वजनिक खरिद नियमावलीको एघारौँ संशोधन मन्त्रिपरिषद्ले पारित गरेको बताए। 

मुलुकको विकासमा निर्माण व्यवसायीले गरेको योगदानको प्रशंसा गर्दै उनले भने, 'गुणस्तरीय निर्माण उद्योग निर्माणका लागि व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयार छ। समस्याको नीतिगत प्रक्रियाबाट समाधान गरिन्छ।' रासस


प्रकाशित : शुक्रबार, फागुन २७ २०७८१३:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend