शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

धितोपत्र बजार पुँजीकरण ४३ खर्ब ६८ अर्ब नाघ्यो, ४३ अर्ब २४ करोड रुपैयाँ थप सूचीकृत

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस २५ २०८२
धितोपत्र बजार पुँजीकरण ४३ खर्ब ६८ अर्ब नाघ्यो,  ४३ अर्ब २४ करोड रुपैयाँ थप सूचीकृत

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो वर्ष २०८१ मङ्सिर मसान्तमा यस्तो पुँजीकरण ४४ खर्ब ४९ अर्ब ११ करोड रहेको थियो।

काठमाडाैं- नेपालको धितोपत्र बजार पुँजीकरण चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म आइपुग्दा ४३ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ कायम भएको छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्ष २०८१ मंसिर मसान्तमा यस्तो पुँजीकरण ४४ खर्ब ४९ अर्ब ११ करोड रहेको थियो। 

गत आर्थिक वर्षको मंसिर मसान्तसम्म बजार पुँजीकरण कुल गार्हस्थ उत्पादनको ७७.९३ प्रतिशत रहेकोमा २०८२ मंसिरमा यो अनुपात ७१.५२ प्रतिशत रहेको छ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २८५ पुगेको छ। जसमा १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, ९७ जलविद्युत् कम्पनी, २६ उत्पादन तथा प्रशोधन उद्योग, ८ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका कम्पनीहरू रहेका छन्। 

बजार पुँजीकरणको हिस्सामा बैंक, वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ५२.५ प्रतिशत रहेको छ। त्यसैगरी जलविद्युत् क्षेत्रको १५.२ प्रतिशत, लगानी क्षेत्रको ७.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ६.५ प्रतिशत, व्यापारिक संस्थाको ४.९ प्रतिशत, होटेलको ३.१ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा १०.४ प्रतिशत पुगेको छ।

आर्थिक वर्ष २०८२ /८३ को पहिलो पाँच महिनामा मात्रै कुल ४३ अर्ब २४ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन्। यस अवधिमा २१ अर्ब ९६ करोडको साधारण सेयर, ७ अर्ब ४६ करोडको हकप्रद सेयर, ६ अर्ब २५ करोडको म्युचुअल फन्ड, ३ अर्ब ४० करोडको डिबेन्चर, ३ अर्ब २४ करोडको बोनस सेयर र ९२ करोड ५० लाख रुपैयाँ बराबरको एफपीओ थपिएका हुन्। 

साथै समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ११ अर्ब ८३ करोडको म्युचुअल फन्ड, ५ अर्ब १५ करोडको साधारण सेयर र ३ अर्ब ७८ करोडको हकप्रद सेयर गरी कुल २० अर्ब ७५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति प्रदान गरेको छ।


प्रकाशित : शुक्रबार, पुस २५ २०८२१५:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend