काठमाडौं- अर्थतन्त्रको बाह्य क्षेत्रमा सुविधाजनक अवस्थाले निरन्तरता पाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनले पछिल्ला केही महिनादेखिको निरन्तरको सुविधाजनक अवस्था देखाएको छ।
चालु आर्थिक वर्षको मंसिरसम्मको तथ्यांकअनुसार ३ खर्ब ५८ अर्ब ८३ करोड रुपैयाँले चालु खाता बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ५८ अर्ब ४५ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १८ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब ५४ करोडले बचतमा रहेको छ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ७ अर्ब ६ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ अर्ब ५० करोड रहेको थियो। यसैगरी समीक्षा अवधिमा ७ अर्ब ४७ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ६ अर्ब ३ करोड रहेको थियो।
समीक्षा अवधिमा शोधनान्तर स्थिति ४ खर्ब २१ अर्ब ८९ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब २५ अर्ब ३४ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६८ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ९८ करोडले बचतमा रहेको छ।
२०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९.६ प्रतिशतले वृद्धि भइ २०८२ मंसिर मसान्तमा ३२ खर्ब १ अर्ब ४७ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ मंसिर मसान्तमा १३.५ प्रतिशतले वृद्धि भइ २२ अर्ब १३ करोड पुगेको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ मंसिर मसान्तमा १८.७ प्रतिशतले वृद्धि भइ २८ खर्ब ६६ अर्ब ४७ करोड पुगेको छ। बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ मंसिर मसान्तमा २७.४ प्रतिशतले वद्धि भइ ३ खर्ब ३५ अर्ब कायम भएको छ। २०८२ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.२ प्रतिशत रहेको छ।