काठमाडाैं- सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।
बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्कासन गरेको आईपीओ आज बाँडफाँट गरेको हो।
बैंकले गत पुस १६ गतेदेखि २० गतेसम्म सर्वसाधारण लगानीकताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँबराबरको १४ लाख ३९ हजार १७९ कित्ता सेयर निष्कासन गरेको थियो।
सो निष्कासनमा २३ लाख २ हजार ८४३ जनाले २ करोड ५९ लाख ३४ हजार ९३० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये २२ लाख ६५ हजार ९५५ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत बैंकको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार १ लाख ४३ हजार ९१७ जनाले १० कित्ताका दरले बैंकको सेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा बाँकि रहेको ९ कित्ता सेयर सोही लगानीकर्ताहरुमा बाँडफाँट गरिएको छ। ९ जना आवेदकले बैंकको थप १ कित्ता अर्थात कुल ११ कित्ताका दरले बैंकको सेयर प्राप्त गरेका छन्।
सालपा विकास बैंकको स्थापना २०६९ सालमा भएको हो। यो बैंकले राष्ट्र बैंकबाट सोही वर्षको असार १ गते अनुमति पाएर सेवा दिन सुरु गरेको थियो। यसको केन्द्रीय कार्यलय खोटाङको दिक्तेल बजारमा रहेको छ। बैंकले हालसम्म ६ वटा शाखाहरू दिक्तेल, ऐँसेलुखर्क, बाक्सिला, हलेसी, सिम्पानी र चिसापानी मार्फत सेवा विस्तार गरेको छ।
बैंकलाई इन्फोमेरिक्स् नेपालले बी रेटिङ् प्रदान गरेको छ। यो रेटिङले बैंकको वित्तीय दायित्व भुक्तानीमा उच्च जोखिम रहेको देखाउँछ, जसले लगानीकर्तालाई सावधानी अपनाउन संकेत गरेको छ। बैंकमा अध्यक्ष टंक राईसहित ६ जनाको लगानी रहेको छ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।