शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

किसानलाई गोबर मल खरिद र ढुवानीमा अनुदान

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस २३ २०८२
किसानलाई गोबर मल खरिद र ढुवानीमा अनुदान

कास्की- पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्रका किसानलाई गोबरको मल खरिद र ढुवानीमा ५० प्रतिशत अनुदान दिने भएको छ।

महानगरभित्रका स्थानीय पशुपालक किसानका फार्ममा मल पूर्ण रूपमा उपयोग नभई खेर जाने गरेकाले मलको सदुपयोग एवं खरिद गर्ने किसानलाई पनि राहत पुगोस् भन्ने उद्देश्यले अनुदानको कार्यक्रम राखिएको महानगरका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए।

जिल्ला दररेटअनुसार मलको खरिदमा ५० प्रतिशत र ढुवानीमा ५० प्रतिशत अनुदान दिने गरी महानगरबाट सूचना प्रकाशन गरिएको बताउँदै उनले प्राप्त निवेदनका आधारमा अनुदान दिन लागिएको बताए। यस वर्ष अनुदानका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए। जिल्ला दररेट अनुसार गोबरको मल प्रतिकिलो तीन रुपैयाँ २५ पैसा पर्दछ।

रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक मलको प्रयोग बढाउनका लागि पनि यो कार्यक्रम उपयोगी बन्ने उनले विश्वास व्यक्त गरे।

'यो कार्यक्रमसँगै पशुपालक किसानलाई पनि आफ्नो फर्ममा खेर जाने मल बिक्री भई सहयोग पुग्ने छ भने तरकारी तथा फलफूल लगाउने किसानलाई खरिद र ढुवानीमा दिइने अनुदानले राहत मिल्नेछ,' उनले भने, 'यसले किसानलाई उत्पादनको लागत घटाउन पनि सहयोग पुग्छ।'

यस कार्यक्रमले पशुपालन र तरकारी तथा फलफूल उत्पादनमा पनि एक अर्कोलाई सहयोग पुग्ने विश्वास लिइएको उनले बताए। रासस


प्रकाशित : बुधबार, पुस २३ २०८२१३:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend