काठमाडाैं- शिखर पावर डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले माघ ६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको हो।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको जनाएको छ।
कम्पनीको जारी पुँजी ९८ करोड रुपैयाँको रहेको छ। कम्पनीले जारी पुँजीको ३२.६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता सेयर निष्कासन गर्ने भएको हो।
कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने २ करोड २२ लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका २ लाख २२ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गर्न गर्नेछ।
आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आईपीओमा माघ ९ गतेभित्र आवेदन दिनु पर्नेछ। सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा माघ २० गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात ९ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ९ लाख ८० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गर्ने जनाएको छ।
सेयर खरिदका लागि बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको वडा नं.१ देखि १० सम्मका सम्पूर्ण वडाहरु र आयोजनाको विद्युत प्रसारण लाइनबाट प्रभावित क्षेत्र बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. २ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
निष्कासन बन्द छिटोमा माघ २० गते हुनेछ भने ढिलोमा फागुन ८ गते हुनेछ।आईपीओ निष्कासनको लागि गराएको रेटिङ्मा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाउँछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको बुर्तिवाङ र बागलुङ बजार शाखा कार्यालय, प्रभु बैंकको बडिगाड शाखा, गरिमा विकास बैंकको बुर्तिवाङ शाखा र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुर्तिवाङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले दरखास्त फाराम प्राप्त गर्नका लागि २ रुपैयाँ प्रति दरखास्त शुल्क बुझाउनु पर्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।