शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बैंकिङ प्रणालीमा तरलता बढ्यो, २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै केन्द्रीय बैंक

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस २२ २०८२
बैंकिङ प्रणालीमा तरलता बढ्यो, २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै केन्द्रीय बैंक

केन्द्रिय बैंकले राष्ट्र बैंक ऋणपत्र २०८३ ‘घ’ नामक उपकरण मार्फत ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने जनाएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज पुस २२ गते २५ अर्बको नेपाल राष्ट्र बैंक ऋणपत्र जारी गरेको छ। 

बैंकिङ क्षेत्रमा पैसा थुप्रिने क्रम नरोकिएपछि राष्ट्र बैंकले १ वर्ष अवधिको लागि नेपाल राष्ट्र बैंक ऋणपत्रको बोलकबोल तथा निष्कासन गरेको हो।

केन्द्रिय बैंकले राष्ट्र बैंक ऋणपत्र २०८३ ‘घ’ नामक उपकरण मार्फत ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने जनाएको छ।

साँवा भुक्तानी २०८३ पुस २२ गते र ब्याज भुक्तानी अर्धवार्षिक हुने केन्द्रीय बैंकले जनाएको छ। यस ऋणपत्रको बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी सहभागी हुन पाउने छन्।

आह्वान गरिएको ऋणपत्रको रकम बाँडफाँट गर्दा बोलकबोलको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी आह्वान रकमसम्म वा समितिले निर्धारण गरेको बाँडफाँट रकमसम्मको विन्दुमा कायम हुने ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही एकल ब्याजदरमा सो दर र सो दरभन्दा कम बोलवालालाई नेपाल राष्ट्र बैंक ऋणपत्र बिक्री गरिने केन्द्रीय बैंकले उल्लेख गरेको छ।

ऋणपत्र निष्कासन मितिमा काउण्टरपार्टीको खातामा पर्याप्त मौज्दात नभएमा त्यस्ता काउण्टरपार्टीको स्वीकृत बोल रकम रद्द गरी सोको २.५० प्रतिशत दरको हर्जाना सहित ६ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोर अन्तर्गतका कुनै पनि बोलकबोलमा सहभागी हुन बन्देज लगाइने बैंकले जनाएको छ।

बैंकका अनुसार स्वीकृत बोलपत्रअनुसार ऋणपत्र खरीद गर्ने काउण्टरपार्टीलाई विभागले नेपाल राष्ट्र बैंक खुला बजार कारोबारसम्बन्धी कार्यविधि (सातौं संशोधन, २०८१), २०७८ को अनुसूची-९ बमोजिमको प्रमाण-पत्र प्रदान गर्नेछ। परिपक्व मितिमा सो वापतको साँवा ब्याज भुक्तानी भएपछि उक्त प्रमाणपत्र स्वतः रद्द हुनेछ।

ऋणपत्र केन्द्रीय बैंकले लगातार चौथो पटक ऋणपत्र जारी गरेको हो। यसअगाडि पुस १४ गते र १६ गते र २० पनि १ वर्षे अवधिको ऋणपत्र जारी गरेको थियो।


प्रकाशित : मंगलबार, पुस २२ २०८२१२:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend