काठमाडौं- सुपर खुदी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गरेको छ।
कम्पनीले आज पुस २२ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो।
कम्पनीले जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये १५ करोड ५० लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १५ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरेको हो।
जसकाे ४० प्रतिशत अर्थात ६ लाख २० हजार कित्ता साधारण सेयर लमजुङ जिल्लाको आयोजना प्रभावित क्षेत्र मर्स्याङ्दी गाउँपालिकाको वडा नं. २ र ३ का स्थानिय बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात ९ लाख ३० हजार कित्ता साधारण सेयर मर्स्याङ्दी गाउँपालिका वडा नं. १, ४, ५, ६, ७, ८ र ९ का स्थानिय बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।
सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ करोड ५५ लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १ लाख ५५ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेको हो।
लगानीकर्ताले आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन बन्द छिटोमा माघ ६ गते हुनेछ भने ढिलोमा माघ २१ गते हुनेछ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन बन्द छिटोमा पुस २५ गते र ढिलोमा माघ ६ गते हुनेछ।
कम्पनीको प्रति सेयर नेटवर्थ आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्म १ सय ५१ रुपैयाँ ५३ पैसा रहेको छ।कम्पनीकाे बिक्री तथा प्रबन्धकम ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
स्थानिय बासिन्दाले प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र प्राइम कमर्सियल बैंकको बेसीशहर शाखा र हिमालयन बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।