काठमाडाैं- सालपा विकास बैंकको आईपीओमा माग भन्दा १९.३७ गुणा बढी आवेदन परेको छ।
कम्पनीले १४ लाख ३९ हजार १७९ कित्ता सेयरको लागि आवेदन माग गरेकोमा २ करोड ७८ लाख ८४ हजार ५ सय ७० कित्ता सेयरको लागि २३ लाख ८३ हजार ४ सय ७ जनाले आवेदन दिएका थिए।
हरेकलाई १० कित्ता सेयर बाँड्नुपर्ने नियमअनुसार १ लाख ४३ हजार ९ सय १७ जनालाई मात्र सेयर पर्ने हुँदा बाँकी २२ लाख ६९ हजार ४ सय जना लगानीकर्ताको हात रित्तो हुने देखिएको छ।
बैंकले आईपीओ निष्कासनबाट प्राप्त रकममध्ये ३ करोड रुपैयाँ शाखा विस्तारमा लगानी गर्ने जनाएको छ। त्यसैगरी, १२ करोड ८९ लाख रुपैयाँ लगानीका विभिन्न क्षेत्रमा र बाँकी १ करोड ३४ लाख ८८ हजार रुपैयाँ अन्य क्षेत्रमा लगानी गर्ने योजना बैंकको छ।
सालपा विकास बैंकको स्थापना २०६९ सालमा भएको हो। यो बैंकले राष्ट्र बैंकबाट सोही वर्षको असार १ गते अनुमति पाएर सेवा दिन सुरु गरेको थियो। यसको केन्द्रीय कार्यलय खोटाङको दिक्तेल बजारमा रहेको छ। बैंकले हालसम्म ६ वटा शाखाहरू दिक्तेल, ऐँसेलुखर्क, बाक्सिला, हलेसी, सिम्पानी र चिसापानी मार्फत सेवा विस्तार गरेको छ।
बैंकलाई इन्फोमेरिक्स् नेपालले बी रेटिङ् प्रदान गरेको छ। यो रेटिङले बैंकको वित्तीय दायित्व भुक्तानीमा उच्च जोखिम रहेको देखाउँछ, जसले लगानीकर्तालाई सावधानी अपनाउन संकेत गरेको छ। बैंकमा अध्यक्ष टंक राईसहित ६ जनाको लगानी रहेको छ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।