शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

कर्णालीमा स्याउ विकास बोर्ड गठनको तयारी

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस १९ २०८२
कर्णालीमा स्याउ विकास बोर्ड गठनको तयारी

स्याउ उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारले स्याउ विकास बोर्ड गठनको तयारी थालेको छ। त्यसका लागि नीतिगत तथा कानूनी कामहहरू भइरहेको प्रदेश सरकारले जनाएको छ।

सुर्खेत- स्याउ उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारले स्याउ विकास बोर्ड गठनको तयारी थालेको छ। त्यसका लागि नीतिगत तथा कानूनी कामहहरू भइरहेको प्रदेश सरकारले जनाएको छ।

कर्णालीमा उत्पादित स्याउको बजारीकरण गरेर आर्थिक लाभ लिन बोर्ड गठनको तयारी थालिएको हो। सरकारले बजेट भाषणमै बोर्ड गठन गर्ने जनाएको थियो। प्रदेश सरकारका साथै जिल्लास्थित स्थानीय र संघ सरकारबाट पनि स्याउ विकास बोर्ड गठनका लागि सहायक कामहरु भइरहेका छन्। 

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइमार्फत जिल्लाहरुमा काम भइरहेको जनाइएको छ। आयातित स्याउलाई विस्थापन गरेर कर्णालीकै स्याउले बजार पाउने सुनिश्चित गर्ने प्रदेश सरकारले बताउँदै आएको छ। 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आगामी माघदेखि सञ्चालन हुने प्रदेश सभाको हिउँदे अधिवेशनमा पेस गर्ने गरी बोर्ड गठनसम्बन्धी विधेयकको मस्यौदा तयारी गरिरहेको छ। बोर्डको विधेयकको मस्यौदा तयार भइरहेको र जिल्लाका कृषकहरूसँग आवश्यक विवरण माग गर्नेलगायतका काम भइरहेको मन्त्रालयका योजना महाशाखा प्रमुख तिलक पाण्डेले जानकारी दिए।

जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोटमा ठूलो परिमाणमा स्याउ उत्पादन हुने गरेको छ। सरकारले बोर्डको कार्यालय सबै जिल्लालाई पायक पर्ने गरी जुम्लामा राख्ने तयारी गरेको मन्त्रालयले जनाएको छ। कर्णालीमा ३ हजार ८० हेक्टर क्षेत्रफलमा स्याउखेती हुने भए पनि हाल दुई हजारभन्दा बढी हेक्टरमा स्याउखेती हुँदै आएको छ। 

ह्रासोन्मुख बगैँचा सुदृढीकरण गर्दै स्याउ, ओखर र सुन्तलाखेतीलाई विशेष कार्यक्रमका रूपमा कार्यान्वयन गर्न लागिएको प्रदेश सरकारले जनाएको छ। उक्त कार्यक्रम कार्यान्वयनका लागि चालु आर्थिक वर्षमा १४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। रासस


प्रकाशित : शनिबार, पुस १९ २०८२१४:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend