बाँके- डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभर ३० प्रजातिका ५ लाख १३ हजार बिरुवा वितरण गरेको छ।
वितरण गरिएका बिरुवामध्ये ४ लाखभन्दा बढी एकवर्षीय र १ लाख ३४ हजार बहुवर्षीय प्रजातिका रहेका डिभिजन वन कार्यालयका योजना शाखाका वरिष्ठ वन अधिकृत सुशील सुवेदीले जानकारी दिए। बिरुवा कृषकका निजी जग्गा, सामुदायिक वन, सडक किनार, धार्मिक स्थल तथा सार्वजनिक क्षेत्रमा हरियाली विस्तार, वातावरणीय सुधार र आयआर्जन प्रवद्र्धनका उद्देश्यले वितरण गरिएको उनले बताए।
उनका अनुसार एकवर्षीय बिरुवातर्फ सागवान, युकालिप्टस र खयरको माग बढी छ भने बहुवर्षीय प्रजातितर्फ श्रीखण्ड, कल्कीफुल, ज्याकराण्डा, गुलमोहर, धुपी र जामुनका बिरुवा उत्पादन गरिएका छन्।
कृषकले सागवान र युकालिप्टसजस्ता छिटो बढ्ने प्रजातिका बिरुवा रोज्ने गरेका छन्। नेपालगञ्ज उपमहानगरपालिका, जानकी गाउँपालिका र कोहलपुर नगरपालिका आसपासका क्षेत्रमा भेनियर उद्योग, प्लाइउड उद्योग, इट्टा उद्योग तथा जडिबुटी प्रशोधन उद्योगमा काठ र दाउराको खपत बढी रहेकाले निजी खेतमा लगाइएका रुखको माग बढ्दै गएको छ।
साथै प्राकृतिक वन पुनस्र्थापना र जैविक विविधता संरक्षणका लागि साल, महुवा, खयर र सिसौजस्ता स्थानीय प्रजातिको उत्पादन तथा रोपणमा प्राथमिकता दिइँदै आएको छ।
कार्यालयका अनुसार कोहलपुर, मेहनमानपुर, अगैया, शम्शेरगञ्ज, नरैनापुर तथा केन्द्रीय नर्सरीमार्फत जिल्लाका विभिन्न पालिकामा बिरुवा वितरण हुँदै आएको छ। यस वर्ष ६ लाखभन्दा बढी बिरुवा उत्पादन गर्ने लक्ष्यका साथ जिल्लाका ८ नर्सरीमा पोलिब्यागमा माटो भर्ने, ब्याड व्यवस्थापन, नर्सरी मर्मत तथा बिरुवाको गुणस्तर सुधारका कार्य तीव्र रूपमा अघि बढाइएको कार्यालयले जनाएको छ।
यसबाट बिरुवा उत्पादन र नर्सरी व्यवस्थापनमा स्थानीय महिलाको उल्लेखनीय सहभागिताले रोजगारी सिर्जना, सीप विकास र आत्मनिर्भरता प्रवद्र्धनमा समेत योगदान पुगेको छ।रासस