शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

मनी म्युल, अनलाइन ठगी र भर्चुअल मुद्राको प्रयोगमार्फत तीन अर्ब रुपैयाँभन्दा बढीको अवैध कारोबार

बिहीबार , पुस १७ २०८२
मनी म्युल, अनलाइन ठगी र भर्चुअल मुद्राको प्रयोगमार्फत तीन अर्ब रुपैयाँभन्दा बढीको अवैध कारोबार

काठमाडौं- निर्दोष व्यक्तिको खाता प्रयोग गरी अवैध रकम ओसारपसार गर्ने 'मनी म्युल' प्रवृत्ति, अनलाइन ठगी र भर्चुअल मुद्राको दुरुपयोग नेपालमा गम्भीर वित्तीय अपराधको माध्यम बन्दै गएको देखिएको छ।

नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाइले सार्वजनिक गरेको 'भर्चुअल सम्पत्तिसम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदन २०२५' ले यस्ता गतिविधिले सम्पत्ति शुद्धीकरण र अवैध वैदेशिक विनिमय कारोबारको जोखिम तीव्र रूपमा बढाएको निष्कर्ष निकालेको छ।

प्रतिवेदनमा समेटिएको एक घटनाअनुसार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नेपाल र भारतमा फैलिएको अन्तर्राष्ट्रिय अनलाइन वित्तीय ठगी तथा भर्चुअल मुद्रा ठगी सञ्जालको पर्दाफास गरेको थियो। सो समूहले तीन अर्ब रुपैयाँभन्दा बढी बराबरको अवैध कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ठग समूहले बैंक तथा डिजिटल वालेट प्रयोगकर्तालाई लक्षित गरी विभिन्न जालसाजीका विधि अपनाउँदै आएको थियो।

अनुसन्धानअनुसार ठगहरूले आफूलाई बैंक तथा डिजिटल वालेटका कर्मचारीको रूपमा प्रस्तुत गरी एकपटक प्रयोग हुने गोप्य संकेत नम्बर र गोप्य संकेत संकलन गर्ने गरेका थिए। त्यसपछि पीडितको खातामा अवैध रूपमा प्रवेश गरी रकम स्थानान्तरण गर्ने गरिएको थियो।

साथै सामाजिक सञ्जाल र अनलाइन सन्देश प्रणाली प्रयोग गरी नक्कली रोजगारी, घरमै बसेर काम गर्ने प्रस्ताव, जुवा खेल्ने लिंक तथा उच्च आम्दानीको प्रलोभन देखाई प्रयोगकर्तालाई फसाउने गरिएको प्रतिवेदनमा उल्लेख छ।

ठग समूहले व्यक्तिगत कागजात प्रयोग गरी अन्य व्यक्तिलाई बैंक तथा डिजिटल वालेट खाता खोल्न लगाई ती खातालाई मनी म्युलका रूपमा प्रयोग गरेको देखिएको छ। ती खातामा जम्मा भएको अवैध रकम तहगत कारोबारमार्फत घुमाइने र अन्ततः भर्चुअल मुद्रामा रूपान्तरण गरी लुकाइने गरिएको थियो। केन्द्रीय अनुसन्धान ब्युरोले घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी नगद, चेक, मोबाइल, कम्प्युटर तथा ठगीसँग सम्बन्धित प्रमाणहरू बरामद गरेको थियो।

यस्तै प्रतिवेदनमा हुन्डी कारोबार र भर्चुअल मुद्रा प्रयोगको अर्को घटनासमेत समेटिएको छ। एक व्यक्ति र उनकी श्रीमती अवैध वैदेशिक विनिमय कारोबार र भर्चुअल मुद्राको प्रयोगमा संलग्न भएको आशंका गरिएको थियो। ती व्यक्तिको बैंक खातामा असम्बन्धित तेस्रो पक्षबाट ठूलो परिमाणमा नगद जम्मा हुने, कारोबारको उद्देश्य ‘उधारो फिर्ता’ उल्लेख गरिने र सोही दिन वा भोलिपल्ट सानासाना रकममा विभाजन गरी अन्य खातामा सारिने गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ।

अनुसन्धान क्रममा ती व्यक्तिकी श्रीमती र आमाको नाममा रहेका खाताहरू पनि अन्ततः एउटै व्यक्तिद्वारा सञ्चालन भइरहेको आशंका गरिएको छ। श्रीमतीको नियमित आम्दानीभन्दा धेरै गुणा बढी रकम कारोबार भएको र विभिन्न व्यक्ति तथा कम्पनीबाट ठूलो रकम प्राप्त भएको देखिएपछि ती रकमको स्रोत र उद्देश्यप्रति गम्भीर प्रश्न उठेको प्रतिवेदनले जनाएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार यस्ता गतिविधिले औपचारिक वित्तीय प्रणालीलाई छल्दै सीमापार रकम स्थानान्तरण, सम्पत्ति शुद्धीकरण र अवैध कारोबारलाई सहज बनाइरहेको छ। मनी म्युल, अनलाइन ठगी, हुन्डी कारोबार र भर्चुअल मुद्राको संयोजनले वित्तीय प्रणालीमा जोखिम बढाएको र यसले राष्ट्रिय आर्थिक सुरक्षासमेत प्रभावित गर्न सक्ने प्रतिवेदनको निष्कर्ष छ।

प्रतिवेदनले यस्ता अपराध नियन्त्रणमा प्रविधिगत जटिलता, सीमापार अधिकार क्षेत्रको समस्या तथा डिजिटल सम्पत्तिको पहिचान, रोक्का र जफतमा देखिने व्यवहारिक कठिनाइलाई प्रमुख चुनौतीका रूपमा औँल्याएको छ। साथै सूचक संस्था, नियामक निकाय र कानुन कार्यान्वयन गर्ने संस्थाबीच समन्वय सुदृढ नगरेसम्म यस्ता अपराध नियन्त्रण कठिन हुने उल्लेख गरिएको छ।

नेपाल राष्ट्र बैंकले पुनः स्पष्ट पारेको छ कि भर्चुअल सम्पत्तिसम्बन्धी कुनै पनि प्रकारको कारोबार, प्रयोग, स्थानान्तरण वा लगानी कानुनतः पूर्ण रूपमा निषेधित छ। यस्ता गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न व्यक्ति वा संस्थामाथि अनुसन्धान, सम्पत्ति रोक्का, जफत तथा अभियोजन प्रक्रिया अघि बढाइने व्यवस्था प्रचलित कानुनमा रहेको जनाइएको छ।


प्रकाशित : बिहीबार , पुस १७ २०८२१४:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend