शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सालपा विकास बैंकको आईपीओमा आजबाट आवेदन दिन सकिने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस १६ २०८२
सालपा विकास बैंकको आईपीओमा आजबाट आवेदन दिन सकिने

बैंकले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासनका लागि अनुमति पाएको थियो।

काठमाडाै‌ं-सालपा विकास बैंक लिमिटेडले आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ।

कम्पनीलेआज पुस गतेदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो।

बैंकले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासनका लागि अनुमति पाएको थियो।

सोमध्ये पहिलो चरणमा १ लाख ७२ हजार ३८८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

यसका साथै बैंकले ८६ लाख १९४ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिसकेको छ।

दोस्रो चरणमा बैंकले २६ हजार ११९ कित्ता सेयर बैंकका कर्मचारीहरुलाई सुरक्षित राखी बाँकी रहने १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १४ लाख ३९ हजार १७९ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्कासन गरेको हो।

आईपीओमा पुस २० गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि-आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

बैंकले आईपीओ निष्कासनबाट प्राप्त रकममध्ये ३ करोड रुपैयाँ शाखा विस्तारमा लगानी गर्ने जनाएको छ। त्यसैगरी, १२ करोड ८९ लाख रुपैयाँ लगानीका विभिन्न क्षेत्रमा र बाँकी १ करोड ३४ लाख ८८ हजार रुपैयाँ अन्य क्षेत्रमा लगानी गर्ने योजना बैंकको छ।

सालपा विकास बैंकको स्थापना २०६९ सालमा भएको हो। यो बैंकले राष्ट्र बैंकबाट सोही वर्षको असार १ गते अनुमति पाएर सेवा दिन सुरु गरेको थियो। यसको केन्द्रीय कार्यलय खोटाङको दिक्तेल बजारमा रहेको छ। बैंकले हालसम्म ६ वटा शाखाहरू दिक्तेल, ऐँसेलुखर्क, बाक्सिला, हलेसी, सिम्पानी र चिसापानी मार्फत सेवा विस्तार गरेको छ।

बैंकलाई इन्फोमेरिक्स् नेपालले बी रेटिङ् प्रदान गरेको छ। यो रेटिङले बैंकको वित्तीय दायित्व भुक्तानीमा उच्च जोखिम रहेको देखाउँछ, जसले लगानीकर्तालाई सावधानी अपनाउन संकेत गरेको छ। बैंकमा अध्यक्ष टंक राईसहित ६ जनाको लगानी रहेको छ।

बैंकको २०८२ असारसम्मको अपरिष्कृत रिपोर्टअनुसार बैंकको चुक्ता पुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँ रहेको छ। यो अवधिसम्म बैंकले १ अर्ब ३३ करोड निक्षेप संकलन गर्दा १ अर्ब ८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको कुल सम्पत्ति १ अर्ब ७८ करोडको रहेको छ भने दायित्व १ अर्ब ४१ करोड छ। यस अवधिमा प्रति सेयर आम्दानी २ रुपैयाँ २४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ १४ पैसा रहेको छ।

बैंकको विगत चार वर्षको नाफाको प्रवृत्ति चिन्ताजनक रहेको छ। आर्थिक वर्ष २०७८र७९ मा बैंकले २ करोड १४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो, जुन आर्थिक वर्ष २०८१र८२ मा घटेर १ करोड ४ लाख रुपैयाँमा सीमित भएको छ। चार वर्षअघि प्रति सेयर आम्दानी ५२ रुपैयाँ रहेकोमा अहिले घटेर २ रुपैयाँ २४ पैसामा झरेको छ। नाफा र प्रति सेयर आम्दानीमा आएको यो ठूलो गिरावटले बैंकको सञ्चालन दक्षता र भविष्यको मुनाफा कमाउने क्षमता कमजोर देखाएको छ।

सालपा विकास बैंकको आईपीओ निष्कासनले अवसर दिए पनि यसको ‘बी’ रेटिङ र पछिल्ला वर्षहरूमा नाफा तथा प्रतिसेयर आम्दानीमा देखिएको तीव्र गिरावटले लगानीकर्ताहरूलाई  विचार गर्नुपर्ने अवस्था सिर्जना गरेको छ। आईपीओमा आवेदन दिँदा बैंकको वर्तमान वित्तीय जोखिम र कमजोर प्रतिसेयर आम्दानीलाई ध्यानमा राख्दै लगानीको निर्णय लिनु बुद्धिमानी हुनेछ।


प्रकाशित : बुधबार, पुस १६ २०८२१०:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend