शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

पूर्वप्रहरीको लोभलाग्दो माछापालन, वार्षिक ३ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस १५ २०८२
पूर्वप्रहरीको लोभलाग्दो माछापालन, वार्षिक ३ करोड रुपैयाँको कारोबार

पर्वत- आफ्नै माटोमा भएको अथाह सम्भावना नदेखेर दैनिक हजारौँ युवायुवती विदेश पलायन भइरहेका बेला खोलामा बगेर खेर गइरहेको पानी सदुपयोग गरी यहाँका एक पूर्वप्रहरीले वार्षिक ३ करोड कारोबार रुपैयाँको गर्दै आएका छन्। पर्वतको मोदी गाउँपालिका-२ देउपुरका विकास तिमिल्सिनाले गाउँमा रेन्बो ट्राउट माछापालनबाट वार्षिक ३ करोड रुपैयाँको कारोबार गर्दै आएका हुन्।

२१ वर्ष लामो प्रहरी सेवा र विसं २०७४ को स्थानीय तहको निर्वाचनमा मोदी-२ देउपुरको वडाध्यक्षसमेत बनेर कार्यकाल सकेका तिमिल्सिनाले अन्य चार जना स्थानीयवासीको लगानीमा रेन्बो ट्राउन फार्म सञ्चालन गरेका हुन्।

मोदी-५ बाजुङको टिमुरेस्थित पातीखोलाको मुहानमा करिब ३० रोपनी क्षेत्रफलमा ३ करोड रुपैयाँको लगानीमा सञ्चालित फार्मबाट वार्षिक रूपमा ३ करोड रुपैयाँको कारोबार हुने गरेको उनले जानकारी दिए।

फार्ममा उत्पादन क्षमता रहेको ३० टन माछा बिक्रीबाट ३ करोड रुपैयाँको कारोबार हुने उनको भनाइ छ। 'फार्मसम्म जाने सडकको अवस्था भने मृत्युमार्ग जस्तो छ। तर पनि हरेस नखाई व्यवसायलाई निरन्तरता दिएको छु,' उनले भने। 

लामो समय ट्राफिक प्रहरीमा रहेर प्रहरी सहायक निरीक्षकसम्म पुगेपछि अवकाश भएका तिमिल्सिना जागिर छाडेको तीन महिनामा जनप्रतिनिधि बनेका थिए।

जनप्रतिनिधिको कार्यकाल सकिएसँगै व्यवसायमा जोडिएका तिमिल्सिनाको समय अहिले माछापालनमा बित्ने गरेको छ। चारैतिर वन र दुईतिर खोलाको बीच भागमा रहेको मोदी रेन्बो ट्राउट प्रालि चिसोपानीमा हुर्कने रेन्बो ट्राउट माछापालनका लागि उपयुक्त हावापानी भएको क्षेत्र हो। पोखरा-बागलुङ राजमार्गअन्तर्गत पातिचौर बजारबाट पाँच किलोमिटरको दूरीमा पुग्न सकिने उनको फार्म जोकोहीका लागि मन लोभ्याउने केन्द्र बनेको छ।

फार्ममा उत्पादित ट्राउट माछा पोखरा, काठमाडौँका माछा पारखीसम्म पुग्ने तिमिल्सिनाले बताए। उनका अनुसार फार्ममा हाल पाँच जनाले रोजगार पाइरहेका छन्। फार्ममा वार्षिक ३० टन माछा उत्पादन हुने उनले जानकारी दिए।

विसं २०७१ देखि सुरु भएको उक्त फार्म सुरुमा यामप्रसाद शर्मासहितका व्यक्तिले सञ्चालन गरेका थिए। केही वर्षअघि आएको बाढीले फार्म पूर्ण रूपमा क्षतिग्रस्त भएपछि नजिकै थप जग्गा व्यवस्थापन गरी विकास तिमिल्सिना, यामप्रसाद शर्मा, प्रेम पौडेल, राजेश शाही र राजु खड्का गरी पाँच जनाले सामूहिक लगानीमा पुनः नयाँ जग्गामा फार्म सञ्चालन गरेका थिए। फार्म व्यवस्थापनको जिम्मा तिमिल्सिनाले लिएका छन्।

सञ्चालक तिमिल्सिनाले फार्मबाट भएको आम्दानीमध्ये सबै खर्च कटाएर १ करोड रुपैयाँभन्दा बढी बचत हुने गरेको जानकारी दिए। हाल रेन्बो ट्राउट प्रतिकिलो १ हजार रुपैयाँमा बिक्री हुने गरेको छ। रासस


प्रकाशित : मंगलबार, पुस १५ २०८२१०:४४
  • सम्बन्धित विषय:

  • # माछापालन
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend