काठमाडाैं- सुपर खुदी हाइड्रोपावर लिमिटेडले आगामी पुस २२ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशतले हुने ३१ लाख कित्ता सेयरमध्ये पहिलो चरणमा स्थानीयलाई १५ लाख ५० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ५५ हजार कित्ता सेयर बिक्री गर्न लागेको हो।
स्थानीय बासिन्दाका लागि छुट्याइएको सेयरमध्ये लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं २ र ३ का बासिन्दाले ६ लाख २० हजार कित्ता तथा वडा नं १, ४, ५, ६, ७, ८ र ९ का बासिन्दाले ९ लाख ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। स्थानीयका लागि आवेदन दिने म्याद छिटोमा माघ ६ गते र ढिलोमा माघ २१ गतेसम्म तोकिएको छ भने वैदेशिक रोजगारीमा रहेकाहरूले छिटोमा पुस २५ र ढिलोमा माघ ६ गतेसम्म आवेदन दिन पाउनेछन्।
केयर रेटिङ नेपालले यस कम्पनीलाई मध्यम जोखिम जनाउने केयरएनपी ‘डबल बी रेटिङ’ प्रदान गरेको छ।