झापा- चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ। मेची भन्सार कार्यालयको तथ्यांकअनुसार उक्त अवधिमा ५ अर्ब ५३ करोड ३२ लाख ४९ हजार रुपैयाँबराबरको अलैँची निर्यात भएको छ।
पाँच महिनाको अवधिमा २ हजार ६ सय २२ दशमलव १० मेट्रिकटन अलैँची निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए। अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिमा ३ अर्ब ४५ करोड ६३ लाख रुपैयाँबराबरको अलैँची निर्यात भएको उनले बताए।
कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा चियाको निर्यात ३१ दशमलव ४० प्रतिशतले घटेको छ। उक्त अवधिमा १ अर्ब ८५ करोड ६२ लाख ७ हजार रुपैयाँबराबरको चिया निर्यात भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिमा २ अर्ब ७० करोड ३९ लाख ३६ हजार रुपैयाँबराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिए।
कार्यालयको तथ्यांकअनुसार निर्यात हुने मुख्य वस्तुहरूमा भेनियर सिट १ सय २९ दशमलव ९० प्रतिशत, छुर्पी ३२ प्रतिशत, अदुवा, सुठो ४८ दशमलव ७० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोभी ३६ दशमलव १० र मुसुरो दाल ४८१ प्रतिशतले वृद्धि भएको छ। यसैगरी प्लाउड ४६ प्रतिशत, अम्रिसो ३५ दशमलव ५० प्रतिशत र फलामे पाता निर्यातमा ९७ दशमलव ८० प्रतिशतले कमी आएको छ ।
मेची भन्साबाट चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो पाँच महिनामा १० अर्ब ७१ करोड ५४ लाख १३ हजार रुपैयाँबराबरको मालवस्तु निर्यात भएको छ। रासस