काठमाडौं- रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको आईपीओमा आवेदन दिने समय सकिएको छ।
आईपीओमा आवेदन दिने समय आज पुस ११ गते बेलुका ५ बजेसम्म रहेको थियो।
सीडीएससीको तथ्यांकअनुसार आज शुक्रबार ५ बजेसम्म सम्म रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा ५ लाख ८३ हजार ८ सय ९६ जना आवेदकले आवेदन दिएका छन्। २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार ८ सय ४० रुपैयाँ बराबरको ३ करोड ५ लाख ४ हजार ८ सय कित्ताको लागि आवेदन परेको छ।
कम्पनीले निष्कासन गरेको ९ लाख २४ हजार ७६८ कित्ता सेयर भन्दा यो आवेदन ३३ गुणाले बढि हो। याे कम्पनीकाे आईपीओ पर्ने संभावना १ सय जनामध्ये करिब ३ जना रहेकाे छ।
कम्पनीले पुस ७ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो।
कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याइएको साधारण सेयरमा ५७ हजार ७९८ कित्ता साधारण सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता सेयर निष्कासन गरेको हो। कम्पनीको प्रतिसेयर मूल्य भने ८२० रुपैयाँ ८० पैसा रहेको छ।
रिलायन्सप्रति आकर्षण किन ?
तीन दसकअघि स्थापित रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा लगानीकर्ताको अभूतपूर्व आकर्षण देखिनुमा विश्वासिलो बिरासत र भरासिलो भविष्य, बलियो वित्तीय अवस्था र निरन्तर लाभदायी यात्रा प्रमुख कारक रहेका छन् ।
यो नेपालको सबैभन्दा ठूलो धागो उत्पादक र रोजगारदाता उद्योग हो। कम्पनीले आफ्नो उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी उत्पादनहरु भारत, टर्की, भियतनाम, बेलायत लगायत मुलुकहरुमा निर्यात गर्दै आएको छ। वार्षिक ५ करोड अमेरिकी डलरको निर्यात हुन्छ। कम्पनीको मूल-उद्योग सुनसरीको खनार र शाखा उद्योग दुहबीमा रहेको छ। नेपालका प्रतिष्ठित र सफल उद्योपतिहरु पवनकुमार गोल्याण, अक्षय गोल्याण र शशिकान्त अग्रवाल कम्पनीका संस्थापक लगानीकर्ता हुन्।
रिलायन्सको नेतृत्व हाल अक्षयले गरिरहेका छन्। अन्तर्राष्ट्रिय बजारमा समेत विशिष्ट पहिचान स्थापित गर्न सफल रिलायन्सलाई उद्योग तथा वाणिज्य क्षेत्रबाट राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको भन्दै नेपाल सरकारले गत असारमा अक्षयलाई ‘महत्वपूर्ण वर्ष व्यक्ति’ (सीआईपी) बाट सम्मान गरेको थियो।
नेपालमा कम्पनी स्थापना गर्ने र छोटो समयमै आईपीओ निष्काशन गरी सर्वसाधारणको लगानी भित्र्याएर नाफा असुल्ने प्रवृत्ति मौलाएको टिकाटिप्पणी हुने गरेको छ। रिलायन्सको हकमा भने त्यस्तो देखिँदैन। कम्पनीले जारी पुँजी १ अर्ब ९० करोडको १० प्रतिशत सेयरमात्र निष्कासन गरेको छ। यसबाट तीनजना संस्थापक लगानीकर्ताहरुले कम्पनीबाट हात झिक्न खोजेको नभई आम-लगानीकर्तासँग सहकार्य गर्न खोजेको स्पष्ट हुन्छ।यसबाट रिलायन्स स्पिनिङ मिल्सले आफ्नो विश्वासिलो विरासतको जगमा सर्वसाधारण लगानीकर्ताका लागि भरासिलो भविष्य देखाएको छ।
कम्पनीको पछिल्लो ५ वर्षको प्रतिसेयर आम्दानी (ईपीएस) को अनुपात हेर्दा वार्षिक ४० रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०७७/७८ मा ५३ रुपैयाँ ९१ पैसा, २०७८/७९ मा ६१ रुपैयाँ १२ पैसा, २०७९/८० मा ५४ रुपैयाँ ३४ पैसा, २०८०/८१ मा २ रुपैयाँ ९५ पैसा र २०८१/८२ मा २७ रुपैयाँ ८७ पैसा छ। गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा ९ ईपीएस ९ गुणा बढेको छ।
२०८१/८२ को लेखापरीक्षण गरिएको वार्षिक वित्तीय विवरणमा कम्पनीको वित्तीय अवस्था निकै मजबुत देखिन्छ। मंसिर पहिलो साता सार्वजनिक गरिएको लेखापरीक्षण प्रतिवेदनअनुसार कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ४८ करोड ९३ लाख ८४ हजार ५४७ रुपैयाँ कूल नाफा गरेको छ।अघिल्लो आर्थिक वर्षमा यो अंक ८६ करोड ५० लाख ६० हजार ३२५ रुपैयाँ मात्र थियो। गत आर्थिक वर्षमा कम्पनीको खुद नाफा ४७ करोड ५८ लाख ११ हजार ९७९ रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षमा खुद नाफा ५ करोड ३ लाख ८३ हजार ७९३ रुपैयाँ थियो। खुद नाफामा साढे ९ गुणा बढी बृद्धि भएको छ।
रिलायन्सले एक वर्षअघि आईपीओको मूल्य ८२० रुपैयाँ ८० पैसा तय गरेको थियो। आर्थिक वर्ष २०८०/८१ को नाफाको आधारमा उक्त मूल्य निर्धारण गरिएको थियो।उक्त आवमा कम्पनीले ५ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने प्रतिशेयर आम्दानी २ रुपैयाँ ९५ पैसा थियो। गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले खुद नाफा ४७ करोड ५८ लाख रुपैयाँ तथा ८४४ प्रतिशतको छलाङ हानेको छ। प्रतिसेयर आम्दानी पनि ८४४ प्रतिशतको दरले बढेको छ। यस हिसाबले आज सहभागी हुने लगानीकर्ताहरुले पनि ८४४ प्रतिशत नाफा वृद्धि भएको कम्पनीलाई रिकभरी मूल्यमा जोड्नुअघिको सस्तो मूल्यमै सेयर पाउनेछन् ।
कम्पनीको रेटिङ पनि राम्रो रहेको छ। साधारण सेयर निष्कासनको लागि ‘क्रेडिट रेटिङ नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालबाट रेटिङ गराएको छ। केयर रेटिङले कम्पनीलाई ‘केयर एनपी सिंगल ए’ इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको कम्पनी हो भन्ने बुझाउँछ।