शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

अर्थशास्त्रको स्थापित मान्यतामाथि चुनौती, के संकट सन्निकट छ विश्वमा?

शुक्रबार, पुस ११ २०८२
अर्थशास्त्रको स्थापित मान्यतामाथि चुनौती, के संकट सन्निकट छ विश्वमा?

पछिल्लो समय संसारका धेरै मुलुककले अमेरिकी डलरप्रतिको विश्वासनीयतामा पनि प्रश्न उठाउन थालेका छन्। डलरप्रतिको अविश्वासले गर्दा धेरै केन्द्रीय बैंकले सुनको खरिद बढाउन थाले। यही कारणले भरथेग गर्‍यो।

काठमाडौं- अर्थशास्त्रको प्रचलित साहित्यले भन्दै आएको छ- सामान्य अवस्थामा जब अमेरिकी ऋणपत्रको प्रतिफल बढ्छ तब लगानीजति त्यसमै थुप्रिन्छ र भाउ पनि बढ्छ।

जब संसारभर सेयर बजार, व्यापार र अरु उपकरण शिथिल हुन्छन् तब ऋणपत्रमा लगानी बढ्छ यतिसम्म कि सुनभन्दा बढी।

जब ऋणपत्रमा लगानीकर्ता झुम्मिन्छन् तब सुनको भाउ खासै बढ्दैन किनभने सुनबाट ब्याज आउँदैन खाली लगानीमात्र हुन्छ। सुरक्षित लगानीको अन्तिम र बाध्यात्मक बिकल्प बन्दै आएको छ सुन। 

प्रतिफल आउने ऋणपत्रको प्रतिफलसमेत घटेको समयमा सम्पत्तिको मूल्य गुमाउनुभन्दा यथावत राख्नुलाई सुरक्षित ठानेर सुनमा लगानीकर्ता आकर्षित हुन्छन्। अहिलेसम्मको प्रचलित अर्थशास्त्रको साहित्यले भन्दै आएको कुरा यही हो।

अवस्था सधैँ यस्तो हुँदैन जब संसारमा कुनै ठूलै वित्तीय अनिश्चितता र संकटको समय आउँछ वा आउने सम्भावना रहन्छ तब यी दुई माध्यम सँगसँगै उचाइतर्फ जान्छन्। अहिलेको विश्वमा यही भइरहेको छ। अर्थात् ट्रेजरीको प्रतिफल पनि बढिरहेको छ अर्कोतिर सुनको मूल्य पनि उकालो लागेको छ।

यो असंगत प्रचलित साहित्य र प्रवृत्तिविपरीत हो। यसले अर्थतन्त्र सामान्य अवस्थातर्फ उन्मुख नरहेको प्रष्ट देखिएको विश्लेषणकहरूले बताएका छन्।

बढ्दो भूराजनीतिक तनाब र संसारभर फैलिएको संरक्षणवादले गर्दा अर्थतन्त्रमा अनिश्चितता बढिरहेको छ। जब अर्थतन्त्रमा अनिश्चितता बढ्छ तब सेयर बजार तथा अन्य उपकरण खस्किन्छन्। यस्तोमा अमेरिकी सरकारको ऋणपत्रमा लगानीको प्रतिफल उच्च हुँदा त्यसैमा लगानी हुन्थ्यो। तर अहिले त्यसमा पनि लगानीकर्ता रोकिएनन् र सुनतर्फ आकर्षित भएका छन्। 

सन् २०२५ मा सुनको मूल्य ७० प्रतिशतसम्मले बढेको छ। इतिहासकै उच्च बिन्दु ४ हजार ४ सय डलर औन्ससम्म पुग्यो। यो हालसम्मकै ठूलो बुल थियो। 

सुनको इतिहासकै ठूलो बुल भएकै वर्ष अमेरिकी बण्डको प्रतिफल लगातार ४ प्रतशित माथि रहेको थियो। जब बण्डमै ४ प्रतिशतको प्रतिफल हुँदा पनि लगानीकर्ता सुनतर्फ मोडिएर सुनको मूल्य पनि उकालो लाग्नु भनेको लगानीकर्ताले बण्डप्रतिको विश्वास गरेका छैनन्।

अमेरिकाको बढ्दो सार्वजनिक ऋणको चाप, भूराजनीतिक जोखिमका कारणले पनि सुनतर्फ लगानीकर्ता आकर्षित भए। ब्याजदर घट्ने अनुमानले गर्दा पनि सुनतर्फ माग बढेको कतिपयको विश्लेषण छ। 

तर यो घटना इतिहासमा पहिलोपटक भएको होइन। जब संसारमा ठूला वित्तीय संकट आएका छन् त्यसको आसापसमा यस्तो प्रवृत्ति देखिने गर्छ। सन् १९७० को दशक, सन् २००० को दशक पनि यस्तो देखिएको छ। कोभिडपछिको अवस्थामा पनि यस्तो देखिँदै आएको छ। तर सन् २०२५ मा भने यसले चरम रुप लिएको छ। यसलाई कतिपयले विश्वव्यापी संटक निकट आउँदै गरेको रुपमा बुझेका छन्। 

पछिल्लो समय संसारका धेरै मुलुककले अमेरिकी डलरप्रतिको विश्वसनीयतामा पनि प्रश्न उठाउन थालेका छन्। डलरप्रतिको अविश्वासले गर्दा धेरै केन्द्रीय बैंकले सुनको खरिद बढाउन थाले। यही कारणले भरथेग गर्‍यो। 


प्रकाशित : शुक्रबार, पुस ११ २०८२०७:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend