शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

चौँरीपालन व्यवसाय संकटमा

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस १० २०८२
चौँरीपालन व्यवसाय संकटमा

मनाङ- नेपालको गण्डकी प्रदेशको उत्तरी भेगमा अवस्थित हिमालपारिको जिल्ला मनाङका खर्कहरूमा यतिबेला मुस्किलले चौँरी देखिन्छन्। मनाङ ङिस्याङ गाउँपालिका-५ आइसलेक खर्कमा ढुंगामाटो धेरै र हरिया घाँस कम देखिन थालेका छन्। जाडो मौसममा किसानले आफ्नो घरवरपर पाइने आहारा खोजेर चाैँरीलाई खुवाउने गर्छन्। 

दश वर्षदेखि चौँरीपालन गर्दै आएका मनाङको नासोँ गाउँपालिका-४ ओढारगाउँका याक चौँरीपालक किसान सुरेश थकाली समयमा हिँउ नपर्ने र खडेरी पनि लामो समय भइराख्ने हुनाले पानीका मुहान सुक्दै गएको बताउँछन्। उनी भन्छन्, 'पहिले-पहिले जताततै खर्कमा घाँस प्रशस्त पाइन्थ्यो। अहिले चरन क्षेत्र र पानीको मुहान सुक्दै जाँदा चाैँरीपालनमा समस्या बढ्दै गएको छ।' 

थकालीसँग अहिले ७० वटा चौँरी छन्। घाँसको अभावमा थकाली बजारबाट किनेर ल्याएको नाइट्रोजनको दाना खुवाएर पाल्ने गरेको बताउँछन्। 'करिब पाँचदेखि १० वर्षको अन्तरालमा कुनै वर्ष बढी पानी र हिउँपर्ने हुन्छ भने कुनै वर्ष न पानी न हिउँ पर्छ,' किसान थकाली भन्छन्, 'सन् २०२० मा भएको अत्यधिक हिमपातले जनजीवन मात्रै नभई चौँरीलाई आहारा पुर्‍याउन समस्या भयो।' अत्यधिक चिसो, हरियो घाँसपात र अन्य पौष्टिक आहारको कमीका कारण मनाङमा सयौँ किसानको गोठ खाली भएको अनुभव थकाली सुनाउँछन्।

मनाङको नाम्के खर्क, क्याङ, माथिल्लो मनाङ, आइसेलेक क्षेत्रमा नै अनावृष्टि, अतिवृष्टि हुँदा पशुपालनमा मात्रै नभई भूक्षय जस्ता विपदबाट स्थानीय किसानलाई चौँरीपालनमा थप समस्या भएको छ। वर्षा र हिमपात हुने समय फेरिएकाले किसान चौँरीपालन गर्ने आत्मविश्वास घट्दै थएको थकाली बताउँछन्। हिमपहिरो जाने, हिमताल सुक्ने, चौँरीका खर्क (घाँसे मैदान) बगरमा परिणत हुने भइरहेको मनाङका स्थानीय बासिन्दा बताउँछन्। पानीको अभावले घाँसे मैदान बगरमा परिणत भएपछि चौँरीलाई आहारा पुर्‍याउन चुनौतीपूर्ण भएको उनीहरूको भनाइ छ। 

नासोँ गाउँपालिका-४ ओढारका चौँरीपालक किसान खरमान गुरुङ भन्छन्, 'विगतमा हिउँपर्ने समय एउटै हुन्थ्यो। अहिले कुन बेला हिँउ पर्छ भन्ने थाहा हुँदैन।' पहिले-पहिले हिमपात हुने समयमा बढी चिसो भएपछि गोठ सार्ने गरिन्थ्यो, तर अहिले हिउँ पर्ने समयको ठेगान नै नहुँदा पशुचौपायाको आहारा व्यवस्थापन गर्न सकस हुने उनी बताउँछन्। पाँच वर्षअघि भएको हिमपातमा गुरुङको ६३ वटा चौँरी मरेका थिए। त्यसपछि थप चौँरी पाल्नलाई आँट नगरेको बताउँछन्। 

'पानी र खडेरीको विपदले हामी किसान हतोत्साहित भएका छौँ, कहिले हिमपातले त कहिले गर्मीले याकचौँरी मर्छन्,' गुरुङ भन्छन्। राष्ट्रिय कृषि जनगणना २०७८ अनुसार नेपालमा हिमाली क्षेत्रमा बसोबास गर्ने १० हजार परिवारको जीविकोपार्जनको प्रमुख स्रोत चौँरीपालन हो।

पछिल्ला वर्षमा बढ्दो खडेरीका कारण पानीका मुहान सुक्ने र नयाँ घाँसपात पलाउन नसक्ने समस्या देखिएपछि चौँरीपालन व्यवसाय कष्टकर बन्दै गइरहेको छ। चौँरीमा आधारित उनीहरूको सांस्कृतिक पहिचान र सामाजिक जीवनशैलीमा समेत गहिरो संकट सिर्जना भएको छ। चौँरी हिमाली समुदायका लागि जीविकोपार्जनसँगै धार्मिक आस्था, सांस्कृतिक पहिचानसँग गहिरो रूपमा जोडिएको आधारशीला हो। तर, चौँरीपालन घट्दै जाँदा घ्यू, दही र छुर्पीजस्ता परम्परागत वस्तुसँगै खर्क संस्कृति, चाडपर्व र दैनिक जीवनशैली नै संकटमा पर्दै गएको नारका ८४ वर्षीय साङ्मा टासी लामा  बताउँछन्।

कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार नेपालमा हाल ७१ हजार ९१३ हजार याक/चौँरी छन्। सन् १९६० को दशकमा यसको संख्या करिब दुई लाख थियो। तथ्यांकअनुसार याकको संख्या पछिल्ला तीन वर्षमा १५ प्रतिशतले वृद्धि भएको छ। मन्त्रालयका अनुसार ६० प्रतिशत चौँरीहरू खर्क क्षेत्रमा पालिन्छन्। एक खर्कमा सामान्यतः १५ देखि ५० चौँरीसम्म पालिएको पाइन्छ। खर्कमा नै दूध, घ्यू, छुर्पी, पनिर उत्पादन गरिन्छ। 

जलवायुको प्रभाव

विश्वभर जलवायु परिवर्तनको असर नेपालमा पनि प्रत्यक्ष रूपमा देखिएको छ। यसको असर बढी हिमाली क्षेत्रमा पर्दा यहाँका खेतीपातीका साथै पशुपालनमा पनि समस्या पर्दै गएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोहन लामिछानेले जानकारी दिए। 'पछिल्लो समय विशेष गरेर हिमाली क्षेत्रमा अझ बढी प्रभाव परेको देखिएको छ,' उनले भने, 'प्रत्येक वर्ष तापक्रम बढ्दै जाँदा आवश्यकताभन्दा बढी पानी तथा हिमपात हुने मौसमी प्रणाली देखिन्थ्यो, तर अहिले सक्रिय भएको मौसमी प्रणाली देखिएको छैन।'

हिमाली क्षेत्रमा तापक्रम वृद्धिले यस क्षेत्रका कृषि, पशुपालनलगायतमा प्रभावित भएको बताउँदै उनी भन्छन्, 'जति तापक्रम बढ्दै जान्छ, त्यति नै पशुपालन, कृषि क्षेत्रमा असर गर्दै जान्छ। तापक्रम वृद्धिले नै बाढी, पहिरोलगायतका विपद् आउने हुन्छ।' सुख्खापनले कृषि, पशुपालनमा प्रभाव पारेको देखिएको उनले बताए। विगतमा एउटै समयमा हिमपात तथा पानी पर्ने भएको अभिलेखमा रहेका छन्। सन् २०२१ मा थोरै समयमा धेरै वर्षा भएको र हिमाली क्षेत्रका बस्ती, चरन क्षेत्र, खेतीयोग्य जमिनमा क्षति पुगेको उनले बताए। 

सन् २०२० मा भारी हिमपात, सन् २०२५ मा अकस्मात हिमपात र वर्षाले असर पारेको अभिलेख पाइएको उनको भनाइ छ। हिमाली क्षेत्रमा छिटोछिटो मौसम परिवर्तन हुँदा बालीनाली फेरिने देखिएको लामिछानेको भनाइ छ। हिमाली क्षेत्रमा उत्पादन वा बिरुवा नै हुर्कनै नसक्ने भएकामा अहिले उत्पादन भएको देखिन्छ। हिउँसँग सम्बन्धित भएर हुने पशुपालनका रूपमा रहेका चौँरीपालन तापक्रम वृद्धि हुँदै जाँदा लोप हुने अवस्थामा पुग्न सक्ने उनको अनुमान छ। 

उनले भने, 'तापक्रम वृद्धि हुँदै जाँदा कसरी एड्याप्टिभ हुने र जनावरका साथै मानवलाई एड्याप्टिभ बनाउनुपर्ने हुन्छ। कुन-कुन व्यवसाय तथा गाईभैँसी पालनको विकास गर्न सकिन्छ जलवायु परिवर्तनमैत्री बनाउन अध्ययन गरेर लाग्नुपर्छ।' 

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशकी वरिष्ठ पशु विकास अधिकृत शोभा शर्माले याकको संख्या घट्दै जानुको कारण जलवायु परिवर्तनको असर र युवाको वैकल्पिक रोजगारीप्रतिको आकर्षण भएको बताइन्। 

नासोँ गाउँपालिका-८ ताचैका पशुपालक किसान याद घले घाँसको अभावमा चौँरी, भेडाच्यांग्रा माटो चाटेर बाँच्ने गरेको बताउँछन्। 'हिउँ परे पो यहाँको पालुवा पलाउँछ र पशुचौपायलाई घाँस हुन्छ,' उनी भन्छन्, 'एउटै गोठमा २०० भन्दा माथि चौँरी र भेडाच्यांग्रा पालिन्छन्। आफैले घाँस, दाना खरिद गरेर पाल्न सक्ने अवस्था छैन। करिब पुसदेखि फागुन, चैतसम्म चौँरी र भेडाच्यांग्रालाई घाँसको समस्या हुन्छ।' 

जौ, करु, उवा, गहुँ, कोलो बोडी, फापरको डाँठ गाईगोरु, चौँरीलाई भए पनि भेडाच्यांग्रालाई घाँस पुर्‍याउन नसकिने उनको भनाइ छ। 

उच्च हिमाली क्षेत्रमा तापक्रम १.५ डिग्री सेल्सियसदेखि २ डिग्री सेल्सियससम्मले बढेको अध्ययनले देखाएको हिमजलाधार विज्ञ रिजनभक्त कायस्थ बताउँछन्। 'यसको प्रत्यक्ष प्रभाव खर्क र जलस्रोतमा परेको देखिन्छ,' उनी भन्छन्, 'तापक्रम वृद्धिकै कारण हिउँ पग्लिँदै गएका छन्। पानीका स्रोत सुक्ने क्रम बढ्दो छ। जसले खर्कका साथै पशुपक्षी तथा मानवलाई समेत असर परिरहेको छ।' 

कायस्थ थप्छन्, 'सिँचाइको अभावले चरन भूमि सुक्खा बन्दै गएका छन्। पहिले हराभरा देखिने चौँरी खर्क अधिक स्थानमा चिरा परेका छन्। कतिपय स्थानमा पानीको अभाव, पहिरोका कारण माटो कटानजस्ता कारणले चरनयोग्य भूमि घटेका छन्।' चरन भूमिको अभावले यहाँका किसानले चौँरीपालन कम गर्दै गएको हुन सक्ने उनी बताउँछन्।

हिमाली क्षेत्रमा सुख्खा बढ्दै गएपछि चौँरीलाई चाहिने पौष्टिक घाँसपात र औषधीय जडीबुटी हराउँदै गएका छन्। हिमाली क्षेत्रमा नै हिउँ कम पर्दा हिमरेखा पनि माथि सर्दै गएका छन्। कात्तिक अन्तिम सातादेखि मंसिरको पहिलो साताभित्र चिसोका कारण खर्कबाट चौँरीलाई तल्लो खर्क (घरनजिक) सार्ने प्रचलन छ। घाँसे मैदान प्रशस्त हुँदा चौँरीको मलमूत्रले अझ मौलाएर हरित वृद्धिमा टेवा पुर्‍याउँदै आएकामा अहिले मुख्यतः पानीको मुहान पनि सुक्दा घाँसे मैदान नै मासिँदै गएका छन्। 

राष्ट्रिय पशुपछी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यलयका वरिष्ठ पशु विकास अधिकृत आभास पौडेलले हिमाली जिल्लामा तापक्रम वृद्धिका कारण याकमा किर्ना, झिँगा बस्ने समस्या बढ्दै गएकाले याक मर्ने थालेको स्थानीय बासिन्दाले गुनासो गर्ने गरेको बताए। 

वन्यजन्तु संरक्षण र पारिस्थितिकीय प्रणालीमा विद्यावारिधि गरेका श्यामकुमार थापाका अनुसार पछिल्लो समय जलवायु परिवर्तनका कारण चिसो मौसममा हिमालमा हिउँ नपर्ने र गर्मीमा खर्कमा पानी अभाव भई हिमाली भेगका वनस्पती र बुट्यान मर्दै जाने समस्या देखिन थालेको छ। हिमाली क्षेत्रमा चरिचन घट्दै गएपछि त्यस क्षेत्रका स्थानीय बासिन्दाले चौँरीपालनको वैकल्पिक व्यवसाय खोज्न थालेका छन्। 

जलवायु परिवर्तनका विज्ञ उत्तमबाबु श्रेष्ठका अनुसार जहाँ खर्कहरू छन् त्यहाँ तापक्रम वृद्धिद्धर सरदरभन्दा बढी देखिएको छ। कर्णालीको क्षेत्रका हिमाली जिल्लामा लामो समयसम्म खडेरी देखिएको र जसको कारण घाँस सुक्ने, घाँसको गुणस्तर र मात्रा कम हुने समस्या देखिने उहाँको भनाइ छ।  

बजारको समस्या

हिमाली क्षेत्रमा प्रतिचौँरी वार्षिक औसत ३०० लिटर दूध उत्पादन हुने कृषि तथा पशुपक्षी विभागले जानकारी दिएको छ। विभागका अनुसार वार्षिक करिब चार हजार मेट्रिकटन घ्यू, आठ हजार मेट्रिकटन छुर्पी र तीन हजार मेट्रिकटन पनिर चौँरीको दूधबाट उत्पादन हुँदै आएको छ। एक मध्यम खालको खर्कले प्रतिवर्ष औसत पाँच लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्न सक्ने अनुमान गरिएको छ। 

छुर्पी, घ्यू, चौँरीको रौँ र मल बिक्रीबाट हुने आम्दानीले हिमाली गाउँमा आर्थिकस्तर वृद्धि सम्भव बनाएको छ। चौँरीपालन कम हुँदै गएपछि उत्पादनमा पनि कमी आएको स्थानीय बताउँछन्। विशेषगरी मनाङका पशुपालक किसानलाई प्रत्यक्ष लाभ हुने गरी बजारको व्यवस्थापन नहुँदा पलायन हुने अवस्था सिर्जना भएको छ। 

नेपाल याकचौँरी किसान महासंघका केन्द्रीय अध्यक्ष पविहाङ राईका अनुसार बजार अभाव र मूल्यको अस्थिरताले किसान निरुत्साहित छन्। आयातीत घ्यू, मासुले स्थानीय उत्पादन प्रतिस्पर्धी हुन नसकेको उनी बताउँछन्। आयातीतभन्दा स्थानीय उत्पादनलाई प्राथमिकता दिन सके चौँरीपालक किसानलाई प्रोत्साहन मिल्ने उनको भनाइ छ। 

चौँरी खर्कहरू समुद्री सतहबाट तीन हजार मिटरदेखि पाँच हजार पाँच सय मिटर उचाइसम्म पाइन्छन्। मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, गोर्खा, धादिङ, दोलखा, रसुवा, सिन्धुपाल्चोक, रामेछाप, मुगु, डोल्पा, जुम्ला, हुम्ला, रुकुम पूर्व, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङलगायतका ३१ जिल्लामा व्यावसायिक चौँरीपालक किसान छन्।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयकी वरिष्ठ पशु विकास अधिकृत शोभा शर्माका अनुसार नेपालभर हाल करिब ३५ हजार खर्क छन्। तीमध्ये झन्डै १० हजार खर्क सक्रिय रूपले चौँरीपालनमा प्रयोग भइरहेका छन्। मलेसियन एनिमल हस्बन्डरी जोर्नल (एमएएचजे) ले गरेको अनुसन्धानले सन् २०१७ सम्म याक, नाक चौँरीपालन वृद्धि भएको देखाएको थियो भने त्यसपछिका वर्षमा बिस्तारै घट्दै गएको बताइन्छ। 

मनाङमा मात्र करिब एक हजार १५० खर्क सक्रिय छन्। यस्तै मुस्ताङमा ८५०, डोल्पामा एक हजार ३०० र सोलुखुम्बुमा करिब ७५० खर्क सक्रिय छन्। डोल्पा, मुस्ताङ, मनाङलगायतका ठाउँमा व्यापक चरन क्षेत्र र चौँरीपालन परम्परागत जीवनशैलीसँग गाँसिएको हुँदा खर्कको संख्या बढी छ। दोलखा, ताप्लेजुङलगायतका जिल्लामा खेतीयोग्य जमिन बढी भएकाले चौँरी पाल्ने खर्कको घनत्व कम छ। वैदेशिक रोजगारी, सहरीकरण, जलवायु परिवर्तन र नयाँ पुस्ताको विकर्षणले चौँरीपालन घट्दै गएको छ। सिँचाइको अभावले अधिकांश खर्क संकटमा पर्दै गएका छन्। खर्कका नजिकै रहेका तालतलैयालगायत पानीका स्रोत हराउने क्रममा छन्।

देशभरका युवा वैदेशिक रोजगारीको मोहले पलायन हुने क्रम बढेसँगै यहाँका खेतीयोग्य जमिन बाँझिनुका साथै खेतीपाती र पशुपालन चुनौतीपूर्ण बन्दै गएको छ। नार्पाभूमि गाउँपालिका-३ नारगाउँका पशुपालक मिङ्मार छिरिङ लामा भन्छन्, 'वैदेशिक रोजगारी, विकट क्षेत्रका कारण गोठाला नपाइने मुख्य समस्याले पशुपालन घट्दै गएको छ।' 

उनका अनुसार नार्पाभूमिमा हरेक वर्ष चार-पाँच परिवारले पशुपालन छाड्दै गएका छन्। केही अन्यत्र पलायन भएका छन् भने केहीले व्यवसाय फेर्ने गरेको उनी बताउँछन्।

संरक्षणका प्रयास

गण्डकी प्रदेशले लोपोन्मुख याकचौँरी याक आनुवंशिक स्रोत केन्द्र स्याङबोचे सोलुखुम्बुबाट याक वितरण कार्यको पनि सुरुआत गरेको छ। याकलाई लोप हुन नदिन केन्द्रले हाडनाताबाट देखिने समस्या समाधान गर्ने उद्देश्यले २०७९ सालदेखि मनाङमा याकचौँरीको नश्ल सुधार कार्यक्रम सुरु गरेको थियो। शुद्ध नश्लमार्फत याक उत्पादन प्रक्रियाका लागि गाँउमै ब्याड याक वितरण गर्दै आएको केन्द्रका सूचना अधिकारी रामललन यादवले बताए। याकचौँरीपालक व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष सुरेश थकालीका अनुसार सामूहिक याकचौँरीपालन गर्ने मनाङका किसानलाई नौ र मुस्ताङमा १० वटा ब्याड याक वितरण गरिएको थियो। 

चिसो बढेसँगै तीन हजारदेखि पाँच हजार मिटर उचाइका लेकको खर्कमा पुर्‍याइएका याकचौँरी एक हजार ७०० मिटर उचाइको बेँसीतर्फ झारिसकिएको छ। हिउँ पर्ने वा चिसो बढ्दै जाँदा यहाँका याकचौँरीलाई घाँस तथा आहाराको अभाव हुने गर्दछ। चिसोले यहाँका घाँस सुकेर याकचौँरीको आहार (सोइ) को अभाव हुने हुँदा आफैले घाँस संकलन गरेर याकचौँरीलाई खुवाउने गरेको किसान बताउँछन्। 

यहाँका पशुपालक किसानले घाँसको अभाव पूरा गर्न जैविक रूपमा दाना (सोइ) बनाएर खुवाउने गरेका छन्। यहाँका किसानले गर्दै आएका खेतीपाती (गहुँ, करु, कोलो बोडी, फापर) लगायत रैथाने बालीका सुकेका डाँठ, दाना, पिठोको मिश्रण बनाई खुवाउने गरिएको याकचौँरीपालक किसान महासंघ गण्डकी प्रदेशका अध्यक्ष सुरेश थकाली बताउँछन्। घाँस नपुगेर हुन सक्ने याकचौँरीको दुर्बलतालाई यस प्रकारको दानाले पौष्टिक तथा भिटामिनसमेत पूर्ति गर्ने गरेको किसान बताउँछन्।

हिमाली जिल्लाका तालतलैया र मुहान सुक्दै गएपछि त्यसको वैकल्पिक उपायका रूपमा 'रिचार्ज पोखरी' निर्माण गर्ने थालेका छन्। वडा नं. ६ स्थित पोंकर ताल परिसरमा रिचार्ज पोखरी निर्माण गरिएको नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए। 

उनले भने, 'मनाङका तालतलैया, प्राकृतिक पानीका मुहान अहिले सुक्दै गएका छन्। यसको संरक्षणका लागि हामीले रिचार्ज पोखरी निर्माण गर्ने निर्णय गरेका हौँ।' तीनवटा रिचार्ज पोखरी निर्माण गरिएको छ। भिमथाङ र तिल्चेमा रिचार्ज पोखरी निर्माण भइरहेको छ।  

पोखरीबाट याकलाई पानी खुवाउने व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए। भिमथाङमा ५० लिटरको रिचार्ज पोखरी बनाइएको छ। जलवायु परिवर्तनले पारेको असर र यसको न्यूनीकरणका लागि समुद्री सतहदेखि चार हजार मिटर उचाइमा रिचार्ज पोखरी निर्माण गरिएको छ। नवीन लामिछाने/रासस


प्रकाशित : बिहीबार , पुस १० २०८२१४:३७
  • सम्बन्धित विषय:

  • # चौँरीपालन
  • # चौँरी
  • # याक
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend