काठमाडौं- नेपाली सेयर बजारलाई कृत्रिम उतारचढावमार्फत प्रभावित पार्ने, लगानीकर्तालाई भ्रममा पारेर नाफा आर्जन गर्ने र नियामकीय कमजोरीको फाइदा उठाउँदै अनाधिकृत कारोबार सञ्चालन गर्ने संरचनामा सेयर कारोबारी दिपेन्द्र अग्रवालको केन्द्रीय भूमिका रहेको तथ्य नेपाल धितोपत्र बोर्ड (सेबोन) को विस्तृत छानबिनबाट खुलेको छ।
नियामकीय अध्ययनले देखाएअनुसार अग्रवालको गतिविधि व्यक्तिगत चलखेलमा सीमित नरही ब्रोकर कम्पनी, टीएमएस प्रणाली, बहुपहिचान खाता तथा सामाजिक सञ्जालको संगठित दुरुपयोगमार्फत सञ्चालन भएको पाइएको छ।
छानबिनले नियामकीय कमजोरीकै जगमा अग्रवालले एकपछि अर्को कदम चालेको निष्कर्ष निकालेको छ। यही प्रक्रियामा अन्य व्यक्ति तथा संस्थाहरू पनि जोडिएको देखिएको सेबोनको ठहर छ।
यो प्रकरणले सेयर बजारमा एक व्यक्तिको भूमिकामात्र होइन, नियमन, अनुगमन र प्रविधि प्रयोगमा विद्यमान संरचनागत कमजोरीमाथि समेत गम्भीर प्रश्न उठाएको छ। सामाजिक सञ्जालको दुरुपयोग, कमजोर ‘केवाईसी’ प्रणाली, ब्रोकरहरूको लापरबाही तथा नियामकीय हस्तक्षेपमा ढिलाइजस्ता कारण सेयर बजारलाई ‘फोहोर’ बनाउने संरचना मौलाउँदै गएको छानबिनको निष्कर्ष छ।
अब दोषीमाथि कारबाहीमात्र पर्याप्त नहुने भन्दै यस्ता गतिविधि दोहोरिन नदिन तत्काल नियामकीय सुधार, प्रविधिगत निगरानी सुदृढीकरण र ब्रोकरहरूको जिम्मेवारी कडाइका साथ लागु गर्न ढिलाइ गर्न नहुने आवश्यकता औँल्याइएको छ।
सेबोनको प्रारम्भिक तथा विस्तारित अध्ययनपछि उक्त प्रकरण थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पठाइएको थियो। सीआईबीले गत शुक्रबार अग्रवाललाई पक्राउ गरी धितोपत्र अपराध, झुठो कारोबार तथा सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) सम्बन्धी कोणबाट अनुसन्धान अघि बढाएको छ।
सामाजिक सञ्जालमार्फत बजारमा भ्रम
नियामक अध्ययनअनुसार अग्रवालले सामाजिक सञ्जाललाई मुख्य ‘हतियार’ बनाउँदै निश्चित कम्पनीका सेयरबारे आकर्षक तर भ्रामक विवरण, अपुष्ट सूचना र अनुमान सार्वजनिक गर्ने गरेका थिए। यस्ता सामग्रीले सामान्य लगानीकर्तामा ती कम्पनीको सेयर बढ्ने भ्रम सिर्जना गर्दै कृत्रिम माग बढाउने काम गरेको सेबोनको ठहर छ।
बोर्डका अधिकारीहरूका अनुसार सेयर बजारमा सूचना संवेदनशील हुने भए पनि अग्रवालले नियामकीय मापदण्डविपरीत व्यक्तिगत हैसियतमा बजारलाई प्रभावित पार्ने सामग्री उत्पादन र वितरण गरेको देखिएको छ। यसले बजारको स्वाभाविक मूल्य निर्धारण प्रणालीलाई कमजोर बनाएको निष्कर्ष निकालिएको छ।
जोशी हाइड्रोपावर प्रकरण : योजनाबद्ध नाफा
छानबिनले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमा अग्रवालले अपनाएको रणनीति स्पष्ट पारेको छ। अध्ययनअनुसार अग्रवालले भ्रामक सूचना सार्वजनिक गर्नुअघि नै उक्त कम्पनीको सेयर ठूलो परिमाणमा संकलन गरेका थिए।
सामाजिक सञ्जालमार्फत सकारात्मक र बढाइचढाइ गरिएको सामग्री सार्वजनिक भएपछि बजारमा माग बढ्यो र सेयर मूल्य चर्कियो। त्यसपछि उनले उच्च मूल्यमा सेयर बिक्री गरी नाफा उठाएको देखिएको छ।
सेबोनको प्रतिवेदनअनुसार अग्रवालले जोशी हाइड्रोपावरको सेयर औसत २७५.७४ रुपैयाँमा खरिद गरी औसत ३४२.८५ रुपैयाँमा ७३ हजार ३०७ कित्ता सेयर खरिद–बिक्री गरेका थिए।
यसबाट उनले प्रति कित्ता ६७.११ रुपैयाँका दरले कुल ४९ लाख १९ हजार ८६५ रुपैयाँभन्दा बढी नाफा कमाएको देखिएको छ। यो कार्य धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९७ (ग) बमोजिम लगानीकर्तालाई झुक्याउने कसुर हुने आधार भएको सेबोनको निष्कर्ष छ।
१५ जनाको नाममा टीएमएस, वास्तविक स्वामित्व नफेरिएको पुष्टि
छानबिनमा अग्रवालले विभिन्न १५ जना व्यक्ति तथा संस्थाको नाममा रहेका टीएमएस युजर आईडी अनाधिकृत रूपमा प्रयोग गरी कारोबार गरेको देखिएको छ। बैंक खाताको विवरण विश्लेषण गर्दा दिपेन्द्र अग्रवाल र ज्योति अग्रवालको कारोबार राफसाफ एउटै रकम प्रयोग गरी गरिएको पाइएको छ।
यसले सेयर खरिद-बिक्री देखिए पनि वास्तविक स्वामित्वमा कुनै परिवर्तन नभएको पुष्टि भएको सेबोनको ठहर छ। यसलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४ को खण्ड (क) अनुसार झुठो कारोबार (फर्जी ट्रान्जेक्सन) मानिएको छ।
कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य प्रभावित
नियामक अध्ययनमा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमा समेत झुठो कारोबार भएको देखिएको छ। स्मार्ट डोर्स लिमिटेड, ज्योति अग्रवाल र दिपेन्द्र अग्रवालबीच भएको सेयर कारोबारले वास्तविक स्वामित्व नफेरिएको भए पनि २०८२ बैशाख १६ गते बैंकको अन्तिम सेयर मूल्य ११६ रुपैयाँ ८३ पैसाले बढ्ने वातावरण तयार भएको प्रतिवेदनमा उल्लेख छ।
यस कार्यलाई धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९४ र ९५ बमोजिमको कसुर मान्दै दफा १०३ को उपदफा (३) अनुसार आवश्यक मिसिलसहित प्रहरी प्रधान कार्यालयमा उजुरी पेश गर्न उपयुक्त हुने सेबोनको सिफारिस छ।
ब्रोकर कम्पनीहरू पनि जिम्मेवार
अग्रवालको गतिविधिलाई सहजीकरण गरेको ठहर गर्दै सेबोनले तीन धितोपत्र दलाल व्यवसायीलाई पनि कारबाही सिफारिस गरेको छ।
सिप्ला सेक्युरिटिज (प्रा.) लि. ले अग्रवालले अन्य १५ जनाको नाममा गरेको कारोबारमा वास्तविक धनी पहिचान भए पनि ग्राहक विवरण अद्यावधिक नगरेको देखिएको छ। यसलाई सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को उल्लंघन ठहर गर्दै ३० लाख रुपैयाँ जरिवाना गर्न सिफारिस गरिएको छ।
त्यस्तै श्रीकृष्ण सेक्युरिटिज लिमिटेड र हातेमालो फाइनान्सियल सर्भिसेस प्रालिले ग्राहक परिचय, अग्रिम रकम र कारोबार सीमासम्बन्धी व्यवस्था उल्लंघन गरेको देखिएको भन्दै दुबैलाई १०/१० लाख रुपैयाँ जरिवाना गर्न सिफारिस गरिएको छ। साथै धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार हदैसम्मको कारबाही प्रक्रिया अघि बढाइएको छ।