तनहुँ- रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी नगरपालिका-१ तल्लीपोखरी नयाँगाउँका दिनेश ढकालको परिवारले व्यावसायिक कृषि फार्म सञ्चालन गरेका छन्।
दिनेशसहित उनका बुबा पिताम्बर, आमा ताराका साथै श्रीमती सदीक्षालगायत व्यावसायिक कृषिमा होमिएका छन्। डीटीपीएस नामक कृषि फार्म दर्ता गरी उनीहरूले व्यावसायिक कृषि सुरु गरेका हुन्। परिवारमा एकअर्काको साथ र सहयोगले सफलता हासिल गरेको उनीहरूको भनाइ छ।
ढकाल परिवारले २०४० सालदेखि गर्दै आएको परम्परागत सुन्तलाखेतीसँगै २०७४ सालदेखि कृषि फार्ममार्फत दर्ता गरी सुन्तलाखेतीका अतिरिक्त कालिजपालन, अदुवा र अकबरे खुर्सानी खेती गर्दै आएका छन्। उनीहरूले अन्य तीन जनालाई प्रत्यक्ष रोजगारी दिएका छन्।
उनीहरूको सुन्तलाखेती हाल १४ रोपनी क्षेत्रफलमा फैलिएको छ। सुन्तलाखेतीबाटै वार्षिक ५-६ लाख रुपैयाँसम्म आम्दानी हुने दिनेशले बताए। उनको फार्ममा सानाठूला गरी एक हजार बोट रहेकामा करिब २५० बोटमा सुन्तला फलेका छन्। राम्रो फल्ने एउटै बोटमा २० क्रेटसम्म फल्ने गरेको छ।
ढकाल परिवारले सात वर्षअघि सुरु गरेको व्यावसायिक कालिजपालन पनि फस्टाउँदै गएको छ। फार्ममा हाल १३ हजारको संख्यामा कालिज छन्। तीन वर्षअघि जापान जाने सोचमा रहेकामा कालिज फस्टाउँदै गएपछि विदेश जाने मोह त्यागेको दिनेशले बताए।
प्रतिकालिज भाले २ हजार ५ सय रुपैयाँ र पोथी १ हजार ५ सय रुपैयाँमा बिक्री हुने गरेको छ। सुरुमा २०७६ सालमा एक सयको संख्याबाट उनले कालिजपालन सुरु गरेका थिए।
'व्यावसायिक कालिजपालनमा धेरै सम्भावना छ, स्वदेशभित्र मात्र नभई चीन, दुबई जस्ता देशमा कालिजको माग धेरै छ,' उनले भने, 'कालिजपालनमा राज्यले प्रोत्साहन गर्ने हो भने यही व्यवसायबाट मैले १ सय ५० जनासम्मलाई रोजगारी दिन सक्छु।'
उनले पछिल्लो तीन वर्षयता सुन्तला बगानभित्र अकबरे खुर्सानी तथा अदुवाखेती पनि गर्दै आएका छन्। अकबरे खुर्सानी वार्षिक ६-७ क्विन्टलसम्म उत्पादन हुने गरेको जानकारी दिँदै ढकालले प्रतिकेजी होलसेलमा २ सय ५० रुपैयाँदेखि खुुद्रा ४ सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेको बताए। उनीहरूले अकबरे खुर्सानीबाट वार्षिक ३ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्।
सुन्तलाखेती, कालिजपालन, अकबरे खुर्सानी, अदुुवासहित कुल २८ रोपनी क्षेत्रफलमा फार्म फैलिएको छ। व्यावसायिक कृषिमा राज्यको साथ र सहयोग आवश्यक हुने बताउँदै ढकालले आफूहरूले लामो समयदेखि फार्म सञ्चालन गरे पनि राज्यका तर्फबाट हालसम्म प्राविधिक सहयोग पाउन नसकेको दुखेसो गरे।
'प्राविधिक सहयोगका लागि आग्रह गर्दै फार्ममा आइदिनका लागि पटक-पटक फोन गरे पनि सम्बन्धित निकायले चासो नदिएको मेरो अनुुभव छ,' उनले भने, 'केही गर्छुु भन्नेलाई राज्यका तर्फबाट प्रोत्साहन भएमा युवाहरूलाई आकर्षण गर्न सकिन्छ।' रासस