शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस ७ २०८२
पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत- पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्। लप्सी जिल्लाको रूपमा परिचित पर्वतमा यस वर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न किसानलाई भ्याइनभ्याइ भएको छ। 

जिल्लाका अधिकांश किसानले लप्सीका दाना बिक्री गर्दै आएका छन् भने जिल्लाको फलेवास नगरपालिका-४ मुडिकुँवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको प्रशोधन गर्दै आएको छ। 

बालीनाली थन्क्याइसकेपछि उद्योगले लप्सीबाट माडा, अचार, क्याण्डी, तितौरा, जाम, लप्सी धुलो, पिरो क्याण्डी लगायतका परिकार बनाउँदै आएको छ। विगत डेढ दशकदेखि लप्सी प्रशोधन गर्दै आएको उद्योगले यस वर्ष झण्डै ७० लाख रुपैयाँबराबरको कारोबार गर्ने लक्ष्य राखको छ। उद्योगमा यस वर्ष झण्डै ६० टन लप्सी प्रशोधनको तयारी गरिएको छ। 

अहिले गाउँ गाउँबाट लप्सी संकलन गर्ने र अचार, माडा बनाउने तथा क्याण्डिका लागि गुदी निकालेर राख्ने काम भइरहेको उद्योगका सञ्चालक थानेश्वर भुसालले जानकारी दिए। पर्वतमा झण्डै दुई सय मेट्रिकटन लप्सी उत्पादन हुने भए पनि ३० प्रतिशत मात्र प्रशोधन गर्न सकिएको उनको भनाइ छ। बाँकी केही किसानले बोटबाटै दाना बिक्री गर्दै आएका छन् भने जनशक्तिको अभावले टिप्न नसक्दा बोटमै खेर जाने गरेको समेत भुसालले बताए।

जनशक्ति र प्रविधिको अभाव तथा पर्याप्त बजार नहुँदा उत्पादित सबै लप्सी प्रशोधन गर्न नसकिएको सञ्चालक भुसालको भनाइ छ। अहिले भने स्वदेशकै बजारमा निर्भर हुनुपरेको उनको भनाइ छ। 

भुसालले सञ्चालन गरेको उद्योगमा सात जनालाई रोजगारी दिएका छन्। लप्सीसँगै अमला, अदुवालगायतका परिवार बनाएर हुने कुल आम्दानीबाट खर्च कटाएर वर्षमा १० लाख रुपैयाँदेखि १२ लाख रुपैयाँसम्म बचत हुने गरेको उनले बताए।

चार वर्ष पहिले उत्पादित लप्सीका दश लाख बराबरका परिकार अमेरिका पठाएका भुसालले नेपालमा भन्दा पनि बढी विदेशमा माग रहे पनि अहिले पठाउने संयन्त्र नरहेको बताए। नेपालीहरूले विदेश फर्किँदा कोसेली र पाहुँरको रूपमा लैजानेबाहेक व्यावसायिक हिसाबले उद्योगबाटै होलसेलमा विदेश पठाउन नसकिएको उनको भनाइ छ। 

जिल्लाका झण्डै ४० वडामा लप्सीको उत्पादन हुँदै आएको छ। कुनै बेला जंगलमा त्यसै झरेर कुहिने लप्सी पछिल्लो समय प्रशोधन गर्न थालेपछि आम्दानीको राम्रो स्रोत बनेको हो। वनपाखामा त्यसै खेर जाने लप्सीबाट आम्दानी गर्न सकिने भएपछि लप्सीको व्यावसायिक खेती सुरु भएको छ। सामुदायिक खाद्य प्रशोधन उद्योगले किसानलाई लप्सी खेतीतर्फ आकर्षित गर्नका लागि निःशुल्क बिरुवा वितरण गर्दै आएको छ। 

उद्योगमा लप्सीसँगै अदुवा, अलैँची, अमला, बेसार, टिमुर, खुर्सानी लगायतको प्रशोधनसमेत हुँदै आएको छ। भने पछिल्लो दुई वर्षयता मकैको सातु उत्पादनबाट लाखाैँ रुपैयाँ आम्दानी गर्ने गरेको सञ्चालक भुसालले बताए। लप्सी, अमला र अदुवा यामको बेलामा प्रशोधन हुने भए पनि मकै, भटमास, बदाम लगायतको मिक्स सातु बाह्रैमास उत्पादन हुने सञ्चालक भुसालले बताए। रासस 


प्रकाशित : सोमबार, पुस ७ २०८२११:३०
  • सम्बन्धित विषय:

  • # लप्सी
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend