शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ सर्वसाधारणका लागि खुला

सोमबार, पुस ७ २०८२
रिलायन्स स्पिनिङ मिल्सको आईपीओ सर्वसाधारणका लागि खुला

बुक बिल्डिङ विधिबाट मूल्य निर्धारण भइ रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन भएको हो। यसअघि सर्वोत्तम सिमेन्टको पनि यसै विधिमार्फत आईपीओ आएको थियो।

काठमाडाैं-‘रिलायन्स स्पिनिङ मिल्स’ लिमिटेडले आज पुस ७ गते देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ।

बुक बिल्डिङ विधिबाट मूल्य निर्धारण भइ रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन भएको हो। यसअघि सर्वोत्तम सिमेन्टको पनि यसै विधिमार्फत आईपीओ आएको थियो। 

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्कासन गरेको आईपीओको बाँडफाँट गरेपछि अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्कासन गर्न गरेको हो।

कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याइएको साधारण सेयरमा ५७ हजार ७९८ कित्ता साधारण सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता सेयर निष्कासन गर्न लागेको हो। कम्पनीको प्रतिसेयर मूल्य भने ८२० रुपैयाँ ८० पैसा रहेको छ। 

बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा ९१३० को उपदफा ९१० बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता सेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो। सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिसेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो।

लगानीकर्ताले न्यूनतम ५० कित्ता लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्कासन बन्द छिटोमा पुस ११ गते हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा पुस २१ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले २०५१ साल बैशाख २८ गते कम्पनी दर्ता गरी २०५२ भदौ १९ गतेबाट कारोबार सञ्चालनमा ल्याएको हो। यो उद्योगले आधुनिक प्रविधिका धागोहरू उत्पादन गर्ने गर्छ। कम्पनीले आफ्नो उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी उत्पादनहरु भारत, टर्की, भियतनाम, बेलायतलगायत मुलुकहरुमा निर्यात गर्दै आएको छ। उद्योगका अनुसार वार्षिक ५ करोड अमेरिकी डलरको निर्यात हुन्छ।

कम्पनीको मूल उद्योग सुनसरीको खनार र शाखा उद्योग दुहबीमा रहेको छ। नेपालका प्रतिष्ठित र सफल उद्योपतिहरु पवनकुमार गोल्याण, अक्षय गोल्याण र शशिकान्त अग्रवाल कम्पनीका संस्थापक लगानीकर्ता हुन्। पवनकुमार ६ दशक लामो इतिहास बोकेको गोल्याण ग्रुपका अध्यक्ष र अक्षय प्रबन्ध निर्देशक हुन्।

अन्तर्राष्ट्रिय बजारमा समेत विशिष्ट पहिचान स्थापित गर्न सफल रिलायन्सलाई उद्योग तथा वाणिज्य क्षेत्रबाट राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको भन्दै नेपाल सरकारले गत असारमा अक्षयलाई ‘महत्वपूर्ण वर्ष व्यक्ति’ (सीआईपी) बाट सम्मान गरेको थियो।

कम्पनीले मूल उद्योगको उत्पादन क्षमता तथा पुँजी वृद्धि सम्बन्धमा उद्योग विभागबाट २०७७ मंसिर २६ गते पुँजी तथा क्षमता अभिवृद्धि गर्ने अनुमति प्राप्त गरेको छ। संशोधित क्षमताअनुसार कम्पनीको उत्पादनलाई विविधीकरण गरी नयाँ उत्पादन वार्षिक ६ हजार ३ सय मेट्रिक टन भिस्कोज यार्न र ६ हजार ३ सय मेट्रिक टन अल्लो रहेको छ।

साथै उद्योगको वार्षिक क्षमता १६ हजार ५ सय ६० मेट्रिक टन रहेको छ भने उत्पादन क्षमता प्रतिदिन १८२ मेट्रिक टन तथा वार्षिक क्षमता ६५ हजार ५ सय २० मेट्रिक टन पुग्ने प्रक्षेपण गरिएको छ। त्यसैगरी विद्युत शक्तिसमेत २३ हजार केभीए पुगेको छ। कम्पनीले विश्वका प्रतिष्ठित टेक्सटायल मेसिनरी म्यानुफ्याक्चर्स कम्पनीहरूले प्रयोग गर्ने उच्च प्रविधियुक्त स्पिनिङ प्लान्टबाट धागोको उत्पादन गरिरहेको छ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्थाअनुसार कम्पनीले आफ्नो जारी पुँजी एक अर्ब ९० करोडको ११ लाख ५५ हजार ९ सय कित्तामध्ये १० प्रतिशत अर्थात १ लाख १५ हजार ५ सय ९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकाका लागि निष्कासन भएको हो। यसअघि ७ लाख ७० हजार ६ सय ४० कित्ता सेयर संस्थागत लगानीकर्ताहरूका लागि बाँडफाँट गरेको कम्पनीले अब बाँकी रहेको सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने छ। 

कम्पनीले संकलित पुँजीलाई परिचालन तथा उद्योगको क्षमता विस्तार गरेर निर्यात प्रवर्द्धन गरी विदेशी मुद्रा भित्र्याउने, स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गरी श्रम शक्तिलाई पलायन हुनबाट रोक्ने, महिलालाई रोजगारीको अवसर दिलाइ आयआर्जनमा आत्मनिर्भर बनाउँदै जीवनस्तर उकास्नमा मद्धत पुर्‍याउने लक्ष्य लिएको छ।

पछिल्लो ५ वर्षको वार्षिक वित्तीय विवरण विश्लेषण गर्दा कम्पनीको अवस्था बलियो देखिन्छ। आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वित्तीय विवरण तुलना गर्दा त रिलायन्सले तीब्र आर्थिक पुनः उत्थान हासिल गरेको छ।

कम्पनीको लेखा परीक्षण गरिएको वार्षिक वित्तीय विवरणले कुल आम्दानी र सञ्चालन नाफामा उल्लेख्य वृद्धि भएको देखाउँछ। आव २०८०/८१ मा रिलायन्सको कुल आम्दानी ९ अर्ब २० करोड ६० लाख रुपैयाँ रहेकोमा आव २०८१/८२ मा १० अर्ब २३ करोड ७८ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी सञ्चालन नाफा ५७ करोड २८ लाखबाट बढेर १ अर्ब ३ करोड ७२ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको नगद सञ्चय पनि राम्रो देखिन्छ। आव २०८१/८२ मा कम्पनीको ५ अर्ब ८२ करोड ३९ लाख रुपैयाँ कुल जगेडा कोष रहेको छ। १८ महिनाअघि मूल्यांकन स्थिर गरिएदेखि कम्पनीले ४७ करोड ५८ लाख रुपैयाँ जगेडामा थपेको छ।

त्यसैगरी पुनर्मूल्यांकनसहित प्रतिसेयर नेटवर्थ पनि ४११ रुपैयाँ ११ पैसा रहेको छ। हालको आईपीओ मूल्यले प्रक्रिया रोकिएको समयमा थपिएको जगेडा कोष र नेटवर्थलाई पूर्ण रुपमा समेटेको छैन। आर्थिक वर्ष २०८१/८२ को नाफाको आधारमा आईपीओ मूल्य तय गर्दा मूल्य अझ बढ्ने भए पनि अदालतको आदेशअनुसार पुरानै प्रक्रियाले निरन्तरता पाउँदा लगानीकर्ता लाभान्वित हुने अवस्था बनेको हो।

कम्पनीले केयर रेटिङ नेपालबाट ‘सिंगल ए माइनस’रेटिङ पाएको छ। रिलायन्सको आईपीओ निष्कासनका सम्बन्धमा विवाद देखिएपछि बीचमै कम्पनीविरुद्ध उच्च अदालतमा मुद्दासमेत दायर भएको थियो। उच्च अदालतले रिलायन्सको पक्षमा फैसला गरिदिएर आईपीओको बाटो खोलिदिएसँगै रोकिएको प्रक्रिया अघि बढेको हो।

 


प्रकाशित : सोमबार, पुस ७ २०८२१०:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend