शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

स्वदेशमै केही गर्ने दृढताले युवराजलाई दिलाएको सफलता

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस ६ २०८२
स्वदेशमै केही गर्ने दृढताले युवराजलाई दिलाएको सफलता

मोरङ- उर्लाबारी-२ भुसिका युवराज तिवारीले तीन लाख रुपैयाँबाट सुरु गरेको  कृषि फार्म अहिले एक करोड रुपैयाँबराबरको भएकोे छ। 

स्वदेशमै केही गर्ने उद्देश्यका साथ आठ वर्षअगाडि उनले एउटा कुखुराको फार्म खोलेका थिए। सुरुमा १५० वटा कुखुराबाट सुरु भएको फार्ममा अहिले १५ होलिस्टेन गाई र एक हजार ५०० भन्दा बढी ब्रोइलर कुखुरा छन्।

विदेश  त्यागेर नेपालमै कृषि पेसा अँगालेका तिवारीले यो अवस्थासम्म आइपुग्न जीवनका धेरै सपना पसिनासँगै साटेका छन्। आफ्नो पसिनाको गन्धमा सफलता खोज्न तिवारीले सुरुसुरुमा धेरै समस्या भोग्नुपरेको थियो। 

गोठ र घरको सम्पूर्ण खर्च कटाएर मासिक ४०-५० हजार रुपैयाँ आम्दानी गर्ने तिवारी गाउँमा परिवारका साथ हाँसीखुसी जीवन बिताइरहेका छन्। कुखुरासँगै गाईपालनमा लागेका किसान तिवारीले अहिले गाउँमै सफलता हासिल गरेका छन्। गाउँमै केही गर्ने उद्देश्यसाथ पशुपालनमा लागेका तिवारीको बिहान-बेलुकाको दैनिकी नै फेरिएको छ।

बिहानको झिसमिसेमै पाँच किलोमिटर टाढा पथरीबजारमा देखिने तिवारी गाई र बाछाको पहिलो आवाजमै ओछ्यान छोड्नुपर्ने बताउँछन्। बिहान ३ बजे गाईको गोठमा पस्ने तिवारी ५ बजे दूधको क्यानसँगै पथरीबजारमा भेटिन्छन्। गोठमा नौवटा दुहुना, दुईवटा ब्याउनेसहित १५ वटा गाई छन्। 

गोठनजिकैको फार्ममा एक हजार ५०० बढी ब्रोइलर कुखुरा छन्। गोठमा भएका गाईले दैनिक ७० लिटरभन्दा बढी दूध दिन्छ। तिवारी दूध बिक्रीका लागि बिहान ५ र बेलुका ४ बजे पथरीबजार पुग्ने गर्छन्। तिवारीले आठ वर्षअघि देखेको एउटा सानो सपना पूरा हुँदै गएको छ।  ब्रोइलरबाट मात्र सोचेजस्तो आम्दानी नभएपछि तिवारीले तीन वर्षअघि तीन लाख रुपैयाँ खर्च गरेर गाईको गोठ बनाए।

सुरुआती दिनमा न त ठूलो पुँजी थियो न त ठूलो अनुभव। तर, आत्मविश्वासका साथ केही गरेर देखाउने सोच बोकेका तिवारीको यात्रा कहिल्यै रोकिएन। श्रीमती र दुई छोरीको साथ पाएका उनले गाउँमै सफलता हासिल गरिरहेका छन्। 

श्रीमती चन्द्रकला बिहान श्रीमानसँगै दूध दुहुन, खोले पकाउन, कुटी काट्न गोठतिर लाग्छिन्। बीबीएस अध्ययनरत दुई छोरी कुखुराको स्याहार र दानापानीतिर लाग्छन्। पढाइसँगै छोरीहरू बाबुआमाको आधुनिक पशुपालनमा खुसी छन्। बाबुआमाको मेहनतका कारण आज आफूहरूले उच्च शिक्षा हासिर गर्न सकेको उनीहरू बताउँछन्।

तिवारी बिहानको झिसमिसेमा गोठमा हुँदा गाउँले निद्रामा हुन्छन्। प्रत्येक दिन हातमा टर्च र काँधमा बाल्टी बोकेर गोठ पुग्ने उनलाई क्यानमा भरिएको दूधले नयाँ ऊर्जा दिन्छ।  तिवारी मुस्कुराउँदै भन्छन्, 'दूध बेच्ने बेला सुत्न पाइन्नँ, बेलुका पनि बजार पुग्नैपर्छ। तर, थकित भएका बेला ग्राहकले दिने प्रतिक्रियाले थप काम गर्न ऊर्जा मिल्छ।' 

कृषिमा सफलता पाउँदै गरेका तिवारीबाट धेरै किसानलाई ऊर्जा मिलेको छ। पहिला-पहिला दुई-तीन सय कुखुरा हुर्काउन गाह्रो हुने तिवारीका फार्ममा आज एक हजार ५०० भन्दा बढी चल्ला हुर्किरहेका छन्। पहिला-पहिला यसले के गरेको भन्ने गाउँलेहरू आजभोलि उनको प्रगतिको तारिफ गर्दै केही सिक्न आउने गरेका छन्।

सरकारी  अनुदानको आशा नराखेका तिवारीलाई यतिबेला भने समस्या थपिँदै गएको छ। समयको बचत र कामको भार कम गर्न भए पनि दूध दुहुने मेसिन आवश्यक परेको उनी बताउँछन्। नगर र वडाबाट अनुदान पाए केही सहज हुने आशा तिवारीले राखेका छन्। वस्तु बस्ने म्याट, कुटी काट्ने मेसिन, दानासम्बन्धी ज्ञान, गोठ सफा गर्ने तरिका, आधुनिक गोठ निर्माण र सामान्य पशु उपचारको तालिम पाए सहज हुने तिवारी बताउँछन्। रासस


प्रकाशित : आइतबार, पुस ६ २०८२१५:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend