शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

भारतको वित्तीय सेवामा हालसम्मकै ठूलो एफडीआई : जापानको एमयूएफजीले श्रीराम फाइनान्समा ४.४५ अर्ब डलर लगानी गर्ने

आइतबार, पुस ६ २०८२
भारतको वित्तीय सेवामा हालसम्मकै ठूलो एफडीआई : जापानको एमयूएफजीले श्रीराम फाइनान्समा ४.४५ अर्ब डलर लगानी गर्ने

एमयूएफजीले श्रीराम फाइनान्सको प्रतिकित्ता सेयर ८ सय ४२ भारतीय रुपैयाँमा खरिद गर्ने सहमति दुई पक्षबीच भएको उल्लेख छ।

काठमाडौं- भारतको वित्तीय सेवा क्षेत्रमा हालसम्मकै ठूलो प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आउने भएको छ। जापानी कम्पनीले भारतीय वित्तीय क्षेत्रमा ठूलो लगानी गर्ने भएको हो। 

जापानको मित्सुबिसी यूएफजी फइनान्सियल ग्रुप(एमयूएफजी)ले भारतको गैरबैंकिङ वित्तीय कम्पनीमा लगानी गर्न लागेको हो। एमयूएफजीले भारतको गैरबैंकिङ वित्तीय कम्पनी श्रीराम फाइनान्समा ४ अर्ब ४५ करोड अमेरिकी डलर लगानी गर्ने तय भएको छ। 

श्रीराम फाइनान्स भारतको दोस्रो ठूलो गैरबैंकिङ वित्तीय कम्पनी हो। ४ अर्ब ४५ करोड अमेरिकी डलर लगानी गरेर एमयूएफजीले श्रीराम फाइनान्सको २० प्रतिशत हिस्सा खरिद गर्नेछ। 

जापानका ठूला कम्पनीहरुले पछिल्लो समय भारतको विभिन्न क्षेत्रमा लगानी विस्तार गरिरहेको छन्। यस्तैमा एमयूएफजीले भारतको श्रीराम फाइनान्सको २० प्रतिशत सेयर हिस्सा खरिद गरेर ४ अर्ब ४५ करोड डलर लगानी गर्न लागेको द इकोनोमिक टाइम्सले लेखेको छ। स्थानीय कम्पनीहरुको सेयर खरिद गरेर जापानी कम्पनीहरुले भारतमा लगानी बढाइरहेका छन्। 

गएको साता मंगलबार जापानी कम्पनी एमयूएफजी बोर्डले श्रीराम फाइनान्समा लगानी गर्ने विषयको स्वीकृति दिइसकेको छ। त्यस्तै शुक्रबार श्रीराम फाइनान्सको बोर्डमा पनि आफ्नो २० प्रतिशत हिस्सा एमयूएफजीलाई बिक्री गर्ने विषयमा पेस गरिएको थियो। 

भारतको वित्तीय सेवा क्षेत्रमा भित्रिएको हालसम्मकै धेरै एफडीआई भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले समेत स्वीकृति दिइसकेको छ। गएको जुनमा पेस भएको प्रस्तावमा आरबीआईले डिसेम्बरको सुरुवातमै बाटो खुलाइदिएको थियो। 

एमयूएफजी र श्रीराम फाइनान्सबीच चलिरहेको वार्ताबारे द इकोनोमिक टाइम्सले गएको अक्टोबर १ मा समाचार प्रकाशित गरेको थियो। त्यसयता श्रीराम फाइनान्सको सेयर मूल्य ४२ प्रतिशतले वृद्धि भइसकेको छ। 

जापानको सबैभन्दा ठूलो बैंक एमयूएफजीले प्रारम्भिक पुँजीका रुपमा ४० हजार करोड भारतीय रुपैयाँ(४.४५ अर्ब डलर) लगानी गर्नेछ। एमयूएफजीले श्रीराम फाइनान्सको प्रतिकित्ता सेयर ८ सय ४२ भारतीय रुपैयाँमा खरिद गर्ने सहमति दुई पक्षबीच भएको ईटीले उल्लेख गरेको छ। गएको बिहीबार श्रीराम फाइनान्सको सेयर प्रतिकित्ता ८ सय ६९.२० भारुमा कारोबार भएको थियो। यो हिसाबमा श्रीराम फाइनान्सको बजार पुँजीकरण १ लाख ६३ हजार करोड भारु रहेको छ। यो मूल्य बजाज फाइनान्सको भन्दा कम अर्थात दोस्रो धेरै हो। 

एमयूएफजीले श्रीराम फाइनान्सको सेयर खरिद गरेसँगै कम्पनीका प्रमोटर श्रीराम ओनरसिप ट्रस्ट र सनलम अफ साउथ अफ्रिकाको २५.३९ प्रतिशत हिस्सेदारी २०.०५ प्रतिशतमा झर्नेछ। श्रीराम फाइनान्समा एकल रुपमा सबैभन्दा धेरै होल्डिङ कम्पनी श्रीराम क्यापिटलको रहेको छ भने अन्य हिस्सेदारहरुमा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरुको रहेको छ। सिंगापुर सरकारको ४.७३ प्रतिशत, कोटाक महिन्द्रा एमएफको २.०९ प्रतिशत, फिडेलिटीको १.१४ प्रतिशत र मनिटरी अथोरिटी अफ सिंगापुरको १.०७ प्रतिशत सेयर रहेको छ। 

एमयूएफजीले लगानी गरेपछि पनि तत्कालका लागि श्रीराम फाइनान्सको व्यवस्थापन तथा सीईओ परिवर्तन हुने छैन। एमयूएफजीले श्रीराम फाइनान्सको दुई जना बोर्ड सदस्य पाउनेछ। यद्यपी एमयूएफजीले भविष्यमा लगानी बढाएर कम्पनीको हिस्सा बढाउँदै बोर्डलाई आफूअनुकुल सञ्चालन गर्ने योजना रहेको अनुमान गरिएको छ। 

एमयूएफजीले भारतको गैर बैंकिङ कम्पनीमा लगानी गर्न खोजेको यो पहिलो पटक भने होइन। गत वर्ष नै कम्पनीले एचडीबी फाइनान्सियल सर्भिसमा २ अर्ब डलर लगानी गर्न खोजेको थियो तर त्यतिबेला डिल मिल्न सकेको थिएन। 


प्रकाशित : आइतबार, पुस ६ २०८२१०:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend