काठमाडौं- एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पुनर्निर्माण भएका थापाथली क्षेत्रका चार अखडाका ढोका साँघुरा हुँदा गाई पाल्ने परम्परा नै लोप हुने अवस्था सृजना भएको छ।
वि.सं. २०७२ बैशाख १२ गतेको भूकम्पले भत्किएका यस क्षेत्रका सम्पदाको पुनर्निर्माण अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गरेको हो। यस क्षेत्रका सम्पदास्थलका गौशालाका ढोका साँघुरा हुँदा समस्या भएको हो।
अधिकारसम्पन्न बागमती समितिका इञ्जिनियरले गरेको इञ्जिनियरिङअनुसार पुनर्निर्माण भएका गौशालाका ढोका साँघुरा हुँदा समस्या भएको श्रीराम मन्दिर वैरागी अखडा थापाथलीका महन्त रामस्वरूप वैष्णवदासले बताए।
भूकम्पअघि थापाथली क्षेत्रका चार अखडामा गरी १ सय ५० वटा गाई पालिन्थ्यो। भूकम्पपछि बनेका गौशालाका ढोका साँघुरा हुँदा गाईपालनलाई जारी राख्ने हिसाबले प्रत्येक अखडामा एक-दुईवटा मात्र गाई पालिएको छ। यी गौशालामा गाई पाल्न धेरै अप्ठ्यारो परेको गौसेवकको गुनासो छ।
समितिका इञ्जिनियरले ध्यान दिन नसक्दा यस्तो समस्या आएको काठमाडौं महानगरपालिका-११ का वडा अध्यक्ष हिरालाल तण्डुकार बताउँछन्।
थापाथली क्षेत्रमा वैरागी अखडासँगै उदासी, सन्न्यासी र गोरखनाथ अखडा पनि छन्। तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा बेलायतबाट फर्केपछि थापाथली चार अखडामा विभाजन भएको उनले सुनाए। रासस