काठमाडौं- रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया रोक्न दायर गरिएको अन्तिम कानुनी प्रयासलाई सर्वोच्च अदालतले शुक्रबार पूर्णविराम लगाएको छ। जारी आईपीओ प्रक्रिया बदर गर्न माग गर्दै दायर रिट निवेदन खारेज भएसँगै अब रिलायन्सको आईपीओ निष्कासन प्रक्रिया निर्वाध रूपमा अघि बढ्ने भएको छ।
न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव खगेन्द्रराज कँडेलद्वारा दायर रिटमा मागबमोजिम नहुने आदेश दिएको हो । यससँगै रिलायन्स स्पिनिङ मिल्सको आईपीओ सम्बन्धी कानुनी विवाद अन्त्य भएको छ।
कँडेलले मंसिर २२ गते अर्थ मन्त्रालयसमेतलाई विपक्षी बनाएर हालसम्म भएका कामकारबाही उत्प्रेषणको आदेशबाट बदर गर्न तथा कम्पनीलाई पुनः विवरणपत्र स्वीकृत गरी शेयर निष्कासन गर्न परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । तर यसअघि नै उच्च अदालत पाटनले उक्त विषयमा फैसला गरिसकेको भन्दै सर्वोच्च अदालतका रजिष्ट्रार मानबहादुर कार्कीले रिट दरपिठ गरेका थिए।
दरपिठ आदेशविरुद्ध इजलास पुगेको कँडेल समूहको मागमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उच्च अदालत पाटनको फैसलामा कुनै त्रुटि वा कैफियत नदेखिएको ठहर गरेको हो। इजलासले रजिष्ट्रार कार्कीको दरपिठ आदेश सदर गर्दै रिट खारेज गरिदिएको छ।
उच्च अदालत पाटनको आदेश कार्यान्वयन भइसकेपछि नेपाल धितोपत्र बोर्डले यसअघि अवरुद्ध भएको आईपीओ निष्कासन प्रक्रिया अघि बढाउन स्वीकृति दिएको थियो। सोहीअनुसार रिलायन्स स्पिनिङ मिल्सले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओको शेयर बाँडफाँटसमेत सम्पन्न गरिसकेको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको १ लाख १५ हजार ५९६ कित्ता शेयरमा करिब १७ गुणा बढी आवेदन परेको थियो। कुल १९ लाख ४४ हजार ३३० कित्ताको माग दर्ता भएको धितोपत्र बोर्डले जनाएको छ ।
अब ग्लोबल आइएमई क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा सर्वसाधारणका लागि पुस ७ गतेदेखि आईपीओ खुल्नेछ । सर्वसाधारण समूहका लागि निष्कासन हुने कुल ११ लाख ५५ हजार ९६० कित्तामध्ये वैदेशिक रोजगारमा रहेका, सामूहिक लगानी कोष र कर्मचारीका लागि छुट्याएपछि बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता सर्वसाधारणका लागि खुला हुनेछ।
सर्वसाधारण लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। बुक बिल्डिङ विधिबाट कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । यसअनुसार न्यूनतम आवेदनका लागि लगानीकर्तालाई ४१ हजार ४० रुपैयाँ आवश्यक पर्छ।
रिलायन्स स्पिनिङ मिल्स नेपालकै ठूला धागो उत्पादक तथा रोजगारी प्रदान गर्ने उद्योगमध्ये एक हो। पछिल्ला पाँच वर्षको वित्तीय विवरण विश्लेषण गर्दा कम्पनीको वित्तीय अवस्था सुदृढ देखिन्छ । विशेषगरी आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को तुलना गर्दा कम्पनीले तीव्र आर्थिक पुनरुत्थान (भी–सेप्ड रिकभरी) हासिल गरेको देखिन्छ।
लेखा परीक्षण गरिएको विवरणअनुसार आव २०८०/८१ मा ९ अर्ब २० करोड ६० लाख रुपैयाँ रहेको कुल आम्दानी आव २०८१/८२ मा बढेर १० अर्ब २३ करोड ७८ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा सञ्चालन नाफा ५७ करोड २८ लाख रुपैयाँबाट बढेर १ अर्ब ३ करोड ७२ लाख रुपैयाँ पुगेको छ।
आव २०८१/८२ मा कम्पनीको कुल जगेडा कोष ५ अर्ब ८२ करोड ३९ लाख रुपैयाँ पुगेको छ। मूल्यांकन स्थिर गरिएको १८ महिनाको अवधिमा कम्पनीले ४७ करोड ५८ लाख रुपैयाँ जगेडामा थप गरेको छ । पुनर्मूल्यांकनसहित प्रतिशेयर नेटवर्थ ४११ रुपैयाँ ११ पैसा रहेको छ।
कम्पनीले तीव्र नाफा वृद्धि गरिसक्दा पनि दुई वर्षअघिको नाफालाई आधार मानेर निर्धारण गरिएको मूल्यमा आईपीओ निष्कासन गर्दा लगानीकर्ताले तुलनात्मक रूपमा कम मूल्यमा सेयर प्राप्त गर्ने अवसर पाएका छन्। आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको खुद नाफा ४७ करोड ५८ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८४४ प्रतिशतको वृद्धि हो। प्रतिसेयर आम्दानी पनि सोही अनुपातमा बढेको छ।
यस अर्थमा, रिलायन्स स्पिनिङ मिल्सको आईपीओले नेपाली सेयर बजारमा नयाँ उत्साह सिर्जना गर्ने अपेक्षा गरिएको छ।