काठमाडौं- नेपाल बीमा प्राधिकरणले गत असोज १८ गते आएको अविरल वर्षा र बाढीपहिरोका कारण भएको भौतिक क्षतिको बीमा दाबी विवरण सार्वजनिक गरेको छ।
प्राधिकरणले सार्वजनिक गरेको पुस २ गतेसम्मको अद्यावधिक विवरणअनुसार बाढी र पहिरोबाट ठूलो क्षति भए पनि पीडितले पाउने राहत स्वरूपको बीमा भुक्तानीको गति भने सुस्त देखिएको छ।
सार्वजनिक तथ्यांकअनुसार ७९० वटा बीमा पोलिसीमार्फत कुल ४ अर्ब १८ करोड २६ लाख रुपैयाँ बराबरको दाबी परेको छ तर हालसम्म ११ करोड १५ लाख रुपैयाँमात्रै भुक्तानी भएको छ।
बीमा कम्पनीहरूमध्ये सबैभन्दा धेरै दाबी रकम एनएलजी इन्स्योरेन्समा देखिएको छ जहाँ ५१ वटा दाबीमार्फत ७८ करोड १८ लाख रुपैयाँ माग गरिएकोमा हालसम्म ३१ लाख ९० हजार रुपैयाँ मात्रै भुक्तानी भएको छ।
त्यसैगरी शिखर इन्स्योरेन्समा ६० वटा पोलिसीको ६३ करोड ९६ लाख बराबरको दाबी परेकोमा कम्पनीले हालसम्म ८ करोड ३३ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ जुन अन्य कम्पनीको तुलनामा बढी हो।
युनाइटेड अजोड इन्स्योरेन्समा ३४ वटा पोलिसीको ६० करोड बराबरको दाबी रहेकोमा ५ लाख रुपैयाँ मात्र भुक्तानी भएको छ।
अर्कोतर्फ नेशनल इन्स्योरेन्समा २९ करोड २४ लाख र प्रभू इन्स्योरेन्समा ११ करोड ९१ लाखको दाबी परे पनि यी दुवै कम्पनीले अहिलेसम्म भुक्तानी प्रक्रिया सुरु गरेका छैनन्।
अन्य कम्पनीहरूको अवस्था हेर्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ७९ लाख, आजीआई प्रूडेन्सियलले ६६ लाख, नेपाल इन्स्योरेन्सले २९ लाख र सगरमाथा लूम्विनीले २५ लाख रुपैयाँ भुक्तानी गरेका छन्।
यस्तै दि ओरिएन्टलले २२ लाख, हिमालयन एभरेष्टले ६ लाख, सानिमा इन्स्योरेन्सले ४ लाख, नेको इन्स्योरेन्सले २ लाख, ट्रस्ट माइक्रोले ७ लाख र स्टार माइक्रोले ९९ हजार रुपैयाँ बीमा दाबी बापतको रकम भुक्तानी गरेका छन्।
बीमालेखका आधारमा वर्गीकरण गर्दा सम्पत्ति बीमा तर्फ सबैभन्दा धेरै ३ अर्ब ५८ करोड ३१ लाख रुपैयाँको दाबी परेको छ जसमा हालसम्म ९ करोड ६३ लाख रुपैयाँ भुक्तानी भएको छ।
इन्जिनियरिङ तथा ठेकेदार बीमामा ८ लाख, कृषि वाली बीमामा १८ लाख, निजी मोटर बीमामा १ करोड २० लाख र सामुद्रिक बीमामा ३ लाख रुपैयाँ भुक्तानी भएको प्राधिकरणको विवरणमा उल्लेख छ।
सार्वजनिक मोटर बीमा र लघु बीमा तर्फ १२ लाख र १० लाख रुपैयाँको दाबी परे पनि ती शीर्षकमा हालसम्म कुनै पनि भुक्तानी हुन सकेको छैन।
बीमा दाबी रकम अल्झिएर बस्दा पीडित बीमितहरूले पुनर्निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउन कठिनाइ भोगिरहेका छन्।