शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सेनाबाट अवकाशपछि मौरीपालनमा रमाइरहेका घनश्याम, वार्षिक २० लाख रुपैयाँ आम्दानी

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस ३ २०८२
सेनाबाट अवकाशपछि मौरीपालनमा रमाइरहेका घनश्याम, वार्षिक २० लाख रुपैयाँ आम्दानी

'बजारको चिन्ता छैन, उत्पादन भएको मह घरबाटै बिक्री हुन्छ। तोरीको कात्तके मह प्रतिकिलो ५ सय रुपैयाँ र जंगली मह  ७ सय ५० रुपैयाँ थोक मूल्यमा बिक्री गरिरहेका छौँ।'

बाँके- धेरैले अवकाशपछिको जीवन अनुत्पादक क्षेत्र वा आराम गर्ने नाममा त्यत्तिकै बिताउँछन्। बर्दिया बढैयाताल गाउँपालिका-६, मैनापोखरका ४२ वर्षीय घनश्याम खत्रीले भने अवकाशपछि झन् जाँगर चलाइरहेका छन्। 

उनले नेपाली सेनाको जागिरबाट अवकाश भएपछि पेन्सनबाट आएको केही रकममै चित्त बुझाएका छैनन्, बरु समयलाई उत्पादक काममा लगाएका छन्। त्यसबापत उनले राम्रो आम्दानीसमेत गरिरहेका छन्। खत्री विगत ४ वर्षदेखि मौरीपालनमा रमाइरहेका छन्।

२५ घारबाट सुरु गरिएको उनको व्यावसायिक यात्राले हाल उनलाई अवकाशप्राप्त सेना होइन, एउटा सफल व्यवसायिक पहिचान दिएको छ। उनले वार्षिक करिब २० लाख रुपैायाँ आम्दानी गर्दै आएका छन्।

बागेश्वरी मौरी फार्म दर्ता गरेर व्यावसायिक रूपमा अघि बढेका खत्रीसँग हाल १ सय ११ घार मौरी छन् र व्यवसायमा श्रीमती मेनका डाँगी खत्रीको बलियो साथ छ। यो दम्पतीलाई यतिबेला कात्तिके मह काढ्ने र बिक्री गर्ने चटारो छ। यसबाट वार्षिक करिब ५० क्विन्टल मह उत्पादन हुने गरेको खत्रीले सुनाए।

उनले भने, 'बजारको चिन्ता छैन, उत्पादन भएको मह घरबाटै बिक्री हुन्छ। तोरीको कात्तके मह प्रतिकिलो ५ सय रुपैयाँ र जंगली मह  ७ सय ५० रुपैयाँ थोक मूल्यमा बिक्री गरिरहेका छौँ।' 

यसरी आम्दानी गर्न उनको संघर्ष पनि कम छैन। उनले मौसमअनुसार मौरीका घारहरू असारदेखि मंसिरसम्म दाङका विभिन्न क्षेत्रमा, मंसिरपछि बर्दिया (बढैयाताल र राजापुर क्षेत्र) र अत्यधिक चिसोमा हुस्सुबाट जोगाउन फेरि दाङमा लैजाने गरेका छन्।

जंगली महका लागि सिसौको रसका लागि बढैयातालको भदै क्षेत्र र जामुनका लागि बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा मौरीलाई चरन गर्ने गरेको खत्रीले जानकारी दिए। 

'मौरीपालन देख्दा सजिलो लागे पनि यो उत्तिकै चुनौतीपूर्ण छ। मह काढ्नु मात्र ठूलो कुरा होइन, वर्षायाममा मौरीलाई आहाराको अभाव हुन नदिन र शत्रु जीवबाट जोगाउन धेरै चुनौती छन्। १ सय घार मौरी राम्ररी पाल्न सके मासिक १ लाख रुपैयाँसम्म सजिलै कमाउन सकिन्छ।'

यस व्यवसायले खत्री परिवारलाई मात्र आर्थिक लाभ दिएको छैन, स्थानीयलाई रोजगारीसमेत सिर्जना गरिरहेको छ। मह काढ्ने बेला ११ जना र ढुवानीका बेला ४ जनाले काम पाउने गरेका छन्। उनले यस व्यवसायलाई थप व्यवस्थापन गर्दै आम्दानीसँगै रोजगारीसमेत बढाउने योजना रहेको उनले सुनाए।

खत्रीले आत्मविश्वासका साथ भने, 'मेरो व्यवसायबाट आफ्नो परिवार मात्रै होइन, स्थानीयले पनि केही न केही लाभ पाइरहेको छन्। त्यसैले यसलाई थप व्यवस्थापन र विस्तार गर्ने मेरो योजना छ। हाल २ सय ५० घार पुर्‍याउने लक्ष्यका साथ घारहरूको व्यवस्थापन गरिसकेको छु।' रासस


प्रकाशित : बिहीबार , पुस ३ २०८२१२:०३
  • सम्बन्धित विषय:

  • # मौरीपालन
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend