शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

झापामा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस १ २०८२
झापामा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने

झापा- कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय विर्तामोडले यस वर्षको हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ।

शाखाका प्रमुख दीपककुमार राजवंशीका अनुसार शाखामा दैनिक करिब दुई सय मेट्रिकटन मल प्राप्त भइरहेको छ भने त्यति नै परिमाणमा बिक्री-वितरणसमेत भइरहेको छ।

उनका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर मसान्तसम्म शाखाले १३ हजार ४०७ दशमलव २७५ मेट्रिकटन रासायनिक मल बिक्री-वितरण गरेको छ। 'चालु आर्थिक वर्षमा १२ हजार ९५३ मेट्रिकटन मल प्राप्त भएको छ भने गत आर्थिक वर्षको समेत कार्यालयमा ८७३ मेट्रिकटन मल मौज्दात छ,' उनले भने।

शाखा कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा युरिया सात हजार ७५३ दशमलव २० मेट्रिकटन, डीएपी पाँच हजार ३४९ दशमलव ६५ मेट्रिकटन, पोटास २७३ दशमलव ३५ मेट्रिकटन र कृषि चुन ३१ दशमलव ०७५ मेट्रिकटन बिक्री-वितरण गरिएको छ।

हाल शाखामा युरिया एक हजार १०० मेट्रिकटन, डीएपी छ हजार मेट्रिकटन र पोटास पाँच सय मेट्रिकटन मौज्दात रहेको शाखा प्रमुख राजवंशीले जानकारी दिए। उनका अनुसार युरिया प्रतिबोरा आठ सय आठ रुपैयाँ ५० पैसा, डीएपी प्रतिबोरा दुई हजार २५८ रुपैयाँ ५० पैसा, पोटास प्रतिबोरा एक हजार ६५८ रुपैयाँ ५० पैसा र कृषि चुन प्रतिबोरा ‍दुई सय १५ रुपैयाँमा बिक्री भइरहेको छ। रासस


प्रकाशित : मंगलबार, पुस १ २०८२१२:०५
  • सम्बन्धित विषय:

  • # रासायनिक मल
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend