काठमाडौं- कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदन परियारले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तत्पर रहेको बताएका छन्।
ललितपुरमा आज आयोजित 'नेपाल फुड फोरम २०२५' को उद्घाटन सत्रमा उनले व्यवसायीकरण र प्रतिस्पर्धी बजारको विकासमा देखिएका समस्या समाधान गर्न सरकारले काम गरिरहेको बताए। उनले कृषि व्यवसायलाई संस्थागत गर्ने, ग्रामीण अर्थतन्त्रलाई पुनरुत्थान गर्ने र नेपालभर दिगो विकासलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, 'कृषि लगानी दशक (२०२४-२०३४) को घोषणामार्फत प्रदर्शित सरकारको प्रतिबद्धतालाई पनि दोहोर्याउन चाहन्छु, जसको उद्देश्य कृषि वित्तपोषण बढाउने र संरचनात्मक आर्थिक रूपान्तरणलाई तीव्र पार्ने हो, यस दशकको दृष्टिकोण र उद्देश्यहरूलाई अगाडि बढाउन सरकार तयार छ।'
मन्त्रालयले प्रभावकारी स्रोत परिचालन र लगानी बढाउन बलियो अन्तरएजेन्सी सहकार्य र साझेदारीको महत्त्वमा जोड दिइरहेको भन्दै उनले कृषि खाद्य प्रणालीमा नवीनता, जलवायु स्मार्ट खेती, उद्यमशीलता र प्रविधि सञ्चालित रूपान्तरणमार्फत कृषिलाई नेपालको आर्थिक विकासको मुख्यधारमा ल्याउन सकिने बताए। रासस