काठमाडौं- बैंक तथा वित्तीय संस्थाले आफूले प्राप्त गर्नुपर्ने सम्पूर्ण रकम असुल हुने गरी गैरबैकिङ सम्पत्ति सकार गरेमा त्यसरी सकार गर्दा उक्त सम्पत्तिउपर ऋणीले हकदाबी छोडेको प्रतिवद्धतासमेत लिएमा कालोसूचीबाट नाम हट्न सक्ने व्यवस्था गरिएको छ।
यस्तै राष्ट्र बैंकको निर्देशनबमोजिम कालोसूचीमा समावेश भएका व्यक्ति, फर्म, कम्पनी, संस्थाले बैंक तथा वित्तीय संस्थामा खाता (कल खाता समेत) खोल्न नपाउने व्यवस्था रहेकोमा कानूनबमोजिम सामाजिक सुरक्षा भत्ता, तलबी खाता एवं पेन्सन रकम प्राप्त गर्ने प्रयोजनको लागि खाता खोल्न सकिने गरिएको छ। यसमा तलबी खाता थप गरी नयाँ निर्देशन जारी भएको हो।
इजाजतपत्रप्राप्त 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०६१ मा संशोधन गरी राष्ट्र बैंकले नयाँ व्यवस्था थप गरेको हो।
कालोसूचीबाट नाम हट्न सक्ने व्यवस्थामा राष्ट्र बैंकले भूलवश कालोसूचीमा समावेश भएकाहरुको सम्बन्धमा पनि केही व्यवस्था थप गरेको छ।
यसमा कालोसूचीमा समावेश नहुनु पर्ने कुनै व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्था भूलवश कालोसूची वा डिफल्टर सूचीमा समावेश गरिएको रहेछ भने सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाको कार्यकारी प्रमुखले निर्णय गरी अनुरोध गरेमा अविलम्ब त्यस्तो व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थालाई अभिलेख नै नरहने गरी कालोसूची हटाउनु पर्ने उल्लेख गरिएको छ।
त्यसरी भूलवश कालोसूची समावेश भइ हटेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थालाई कालोसूची समावेश भएको मानिने छैन। इजाजतपत्रप्राप्त संस्थाले भूलवश कालोसूचीमा समावेश भइ हटेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाको विवरण त्रैमासिक रुपमा आफ्नो सञ्चालक समितिमा पेश गर्नुपर्ने नयाँ व्यवस्था गरिएको छ।