खोटाङ- राजनीति गर्दैमा अरू कुनै पेसा गर्नुहुँदैन भन्ने छैन। कतिपयले राजनीतिलाई नै पेसाझैँ बनाउँदा मुलकुमा भ्रष्टाचार बढेको आरोप पनि लाग्दै आएको छ।
यस्तै सन्दर्भमा संविधानसभा सदस्य दुर्गाजयन्ती राईले दिक्तेलबजारमा कृषि उत्पादनको मूल्य अभिवृद्धि र स्थानीय उद्योग प्रवर्द्धन गर्ने उद्देश्यसहित 'नमुना कृषिजन्य सामग्री प्रशोधन केन्द्र' सञ्चालन गर्दै आएकी छन्। स्थानीयले उत्पादन गरेका मकै, फापर, कोदो, धान, तोरीको तेल, राँगाको मासु, रायोको सागलगायत संकलन तथा प्रशोधन गरेर उनले बिक्री गर्दै आएकी छन्।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यसमेत रहेकी संविधानसभा सदस्य राईले वि.सं. २०७६ सालमा पाँच हजार रुपैयाँ लगानीमा २५ केजी मकैको च्याँख्ला र दश प्याकेट गुन्द्रुक-सिन्की राखेर व्यवसाय सुरु गरेकी थिइन्। नेतृ राईको पसलमा अहिले मकैको च्याँख्ला, फापर-कोदोको पीठो, धानको चामल, घ्यू, मह, तोरीको तेल, राँगाको सुकुटी, गुन्द्रुक, सिन्की, गेडागुडीदेखि हरियो सागसब्जीका साथै डालो-नाङ्लोसम्मका कृषि उपज तथा सामग्री पाइन्छ।
भूमिगत राजनीतिदेखि चार वर्षसम्म संघीय संसद्को जिम्मेवारी निर्वाह गरिसकेकी नेतृ राईलाई सुरुमा व्यापारमा हात हाल्न निकै जोखिम थियो। कृषि उपजको व्यवसायमा बजार कत्तिको राम्रो होला भन्ने अनिश्चितता थियो। तर, परम्परागत स्वाद खोज्ने ग्राहकहरूले नेतृ राईको पसलप्रति चासो देखाए।
कृषि व्यवसाय विस्तार हुँदै गएपछि नेतृ राईले हाल धरान, काठमाडौं, हङकङ, सिंगापुर र स्थानीय हाटबजारसमेतमा सामग्री आपूर्ति गर्दै आएकी
छन्। विदेशमा नेपालीले मन पराउने परम्परागत खाद्यवस्तुको मागले आफ्नो व्यवसाय अझै विस्तार गर्न मद्दत पुगेको नेतृ राईले जानकारी दिइन्।
हेटौँडा महाधिवेशनपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले नेता तथा कार्यकर्ताले उत्पादन र उद्यममा पनि जोडिनुपर्छ भन्ने नीतिगत निर्णय गरेपछि उद्यमलाई नियमित, दीर्घकालीन र व्यवस्थित रूपमा अघि बढाउने मनस्थिति बनाएको नेतृ राईले बताइन्।
'पहिलाको समयमा मैले सिंगै समय पार्टीलाई दिएकी थिएँ। त्यही परिस्थिति पनि थियो। तर, मुलुकमा शान्ति सम्झौता भयो, गणतन्त्र आयो, त्यसपछि पार्टीलाई पूरा समय दिनै नपर्ने अवस्था आयो,' उनले भनिन्, 'संगठनको काम आंशिक रूपमा गरे पनि पुग्ने वातावरण बनेपछि मैले उत्पादनमूलक क्षेत्रमा हात हालेकी हुँ।'
'नेताले पनि आयआर्जनका स्रोत बनाउनुपर्छ' भन्ने पार्टीकै निर्णयले यस कामप्रति आफूलाई प्रेरणा मिलेको नेतृ राईले बताइन्।
'किसानसँग घुलमिल हुन पाउँदा सामाजिक चिन्तन बलियो हुन्छ। उपभोक्ता बुझ्दा हाम्रो व्यावहारिक धरातल अझै मजबुत बन्दो रहेछ,' उनले भनिन्, 'उद्यमले मेरो राजनीतिक जीवनलाई पनि सकारात्मक प्रभाव पारेको छ। राजनीति निःस्वार्थ हुनुपर्छ। राजनीति गर्छु भन्ने सबै नेताले केही न केही आम्दानी हुने व्यवसाय गर्नुपर्छ भन्ने मेरो बुझाइ छ।'
प्रशोधन केन्द्रमा उत्पादनका लागि कच्चा सामग्री पर्याप्त मात्रामा नपाउनु नै प्रमुख चुनौतीको देखिएको उनको भनाइ छ।
'सिजनमा त किसानले धेरै सामान ल्याउनुहुन्छ। तर, वर्षभरि समान रूपमा कच्चा पदार्थ पाइँदैन। त्यो नै मुख्य चुनौती हो,' उनले भनिन्, 'पसलमा आउने हरेक सामानको शतप्रतिशत लागतमा २०-२५ प्रतिशत नाफा जोडेर मूल्य निर्धारण गर्ने गरेकी छु। उपभोक्ताले सधैँ यथार्थ मूल्यमै सामान पाउने गर्नुभएको छ।'
स्थानीय उत्पादनमा आधारित व्यवसायले रोजगारी, आत्मनिर्भरता र स्थानीय आर्थिक चक्रलाई मजबुत बनाउने जानकारी दिँदै नेतृ राईले राजनीति क्षेत्रका अन्य व्यक्तित्वलाई पनि कृषि वा स्थानीय उद्योगमा जोडिन प्रोत्साहन दिएकी छन्।
व्यवसायको माध्यमबाट किसान र उपभोक्तासँग सीधा जोडिन पाउँदा सामाजिक तथा राजनीतिक यात्रा नै बलियो भएको नेतृ राईको बुझाइ छ। सरकारका तीनवटै तह संघीय, प्रदेश र स्थानीय सरकारले कृषि क्षेत्रमा अनुदानमार्फत उत्पादन वृद्धि गर्न सके देशको समग्र अर्थतन्त्रलाई टेवा पुग्ने नेतृ राई बताउँछिन्।
दिक्तेल बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षसमेत रहेकी राई वि.सं. २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन जनमोर्चा नेपाल पार्टीबाट समानुपातिकतर्फबाट संविधानसभा सदस्य बनेकी थिइन्। रासस