काठमाडौं- वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा दिने अधिकतम ब्याजदर ५ प्रतिशतविन्दुभन्दा तल झरेको छ। पुस महिनाका लागि अधिकांश बैंकहरूले ब्याजदर घटाएसँगै समग्र औषत दर ५ प्रतिशतविन्दुभन्दा तल झरेको हो।
सार्वजनिक विवरणअनुसार पुस महिनामा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औषत ब्याजदर ४.८३४ प्रतिशतविन्दु कायम भएको छ। यसअघि मंसिर महिनामा यस्तो निक्षेपको अधिकतम औषत ब्याजदर ५.४०५ प्रतिशतविन्दु थियो। एक महिनाको अवधिमा औषत ब्याजदर ०.०२६५ प्रतिशतविन्दुले घटेको देखिएको छ।
पुस महिनामा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर ४.८३४ प्रतिशत र संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर ३.४४५ प्रतिशत कायम भएको छ।
मंसिरको तुलनामा पुस महिनामा २० वाणिज्य बैंकमध्ये तेह्र बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकले समान रूपमा ०.०५ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन्। त्यसैगरी प्रभु बैंक र कृषि विकास बैंकले ०.०४ प्रतिशतविन्दुले दर घटाएका छन् भने कुमारी बैंकको ब्याजदर ०.०३८ प्रतिशतविन्दुले घटेको छ। नेपाल एसबिआई बैंक, सनिमा बैंक, लक्ष्मी सनराइज बैंक, एभरेष्ट बैंक, नबिल बैंक, नेपाल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि फरक–फरक अनुपातमा ब्याजदर घटाएका छन्।
यसबीच सात वाणिज्य बैंकले भने मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। सिटिजन्स बैंक इन्टरनेसनल, माछापुच्छ्रे बैंक, एनआइसी एशिया बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक र हिमालयन बैंकले पुस महिनामा पनि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर परिवर्तन गरेका छैनन्।
पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले दिने भएका छन्। यी दुवै बैंकले अधिकतम ५.५ प्रतिशतसम्म ब्याजदर कायम गरेका छन्। सबैभन्दा कम ब्याज भने प्राइम कमर्सियल बैंकले दिएको छ। जहाँ पुस महिनामा अधिकतम ४.२५ प्रतिशत ब्याज पाइनेछ।
व्यक्तिगत मुद्दति निक्षेपसँगै संस्थागत मुद्दति निक्षेपको ब्याजदर पनि घटेको छ। मंसिरको तुलनामा पुस महिनामा संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर ०.१३ प्रतिशतविन्दुले घटेको छ। पुस महिनाका लागि ५ वाणिज्य बैंकले संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् भने बाँकी १५ बैंकले मंसिर महिनाकै दरलाई निरन्तरता दिएका छन्।
बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर बन्दै गएकाले निक्षेपमा ब्याजदर घट्दो क्रममा रहेको छ। ब्याजदर घट्दै जाँदा निक्षेपकर्ताको आकर्षण केही कम भए पनि कर्जा लागत घटेर लगानी र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएपनि कर्जा जान भने सकेको छैन। जसका कारण ११ खर्ब ५० अर्ब भन्दा बढी लगानीयोग्य रकम वित्तीय संस्थामा थुप्रिएको छ।
कुनको बैंकको ब्याजदर कति?
१. प्राइम कमर्सियल बैंक
व्यक्तिगत मुद्दति ४.२५ प्रतिशत, संस्थागत मुद्दति २.७५ प्रतिशत
२. ग्लोबल आइएमई बैंक
व्यक्तिगत मुद्दति ५.५ प्रतिशत, संस्थागत मुद्दति ३.७५ प्रतिशत
३. राष्ट्रिय वाणिज्य बैंक
व्यक्तिगत मुद्दति ५ प्रतिशत, संस्थागत मुद्दति ४ प्रतिशत
४. प्रभु बैंक
व्यक्तिगत मुद्दति ४.५५ प्रतिशत, संस्थागत मुद्दति २.७५ प्रतिशत
५. कृषि विकास बैंक
व्यक्तिगत मुद्दति ४.५५ प्रतिशत, संस्थागत मुद्दति २.७५ प्रतिशत
६. कुमारी बैंक
व्यक्तिगत मुद्दति ४.५३ प्रतिशत, संस्थागत मुद्दति ३.५ प्रतिशत
७. नेपाल एसबिआई बैंक
व्यक्तिगत मुद्दति ४.५५ प्रतिशत, संस्थागत मुद्दति २.८ प्रतिशत
८. सनिमा बैंक
व्यक्तिगत मुद्दति ४.७५ प्रतिशत, संस्थागत मुद्दति ३.३ प्रतिशत
९. लक्ष्मी सनराइज बैंक
व्यक्तिगत मुद्दति ४.७५ प्रतिशत, संस्थागत मुद्दति ३.५ प्रतिशत
१०. एभरेष्ट बैंक
व्यक्तिगत मुद्दति ४.७५ प्रतिशत, संस्थागत मुद्दति ४ प्रतिशत
११. नबिल बैंक
व्यक्तिगत मुद्दति ४.५५ प्रतिशत, संस्थागत मुद्दति ३.५५ प्रतिशत
१२. नेपाल बैंक
व्यक्तिगत मुद्दति ५.१ प्रतिशत, संस्थागत मुद्दति ३.२५ प्रतिशत
१३. स्ट्यान्डर्ड चार्टर्ड बैंक
व्यक्तिगत मुद्दति ४.६ प्रतिशत, संस्थागत मुद्दति २.७५ प्रतिशत
१४. सिटिजन्स बैंक इन्टरनेसनल
व्यक्तिगत मुद्दति ४.७५ प्रतिशत, संस्थागत मुद्दति ३ प्रतिशत
१५. माछापुच्छ्रे बैंक
व्यक्तिगत मुद्दति ५ प्रतिशत, संस्थागत मुद्दति ३ प्रतिशत
१६. एनआइसी एशिया बैंक
व्यक्तिगत मुद्दति ५ प्रतिशत, संस्थागत मुद्दति ४ प्रतिशत
१७. सिद्धार्थ बैंक
व्यक्तिगत मुद्दति ५ प्रतिशत, संस्थागत मुद्दति ४ प्रतिशत
१८. नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
व्यक्तिगत मुद्दति ५ प्रतिशत, संस्थागत मुद्दति ४ प्रतिशत
१९. एनएमबि बैंक
व्यक्तिगत मुद्दति ५ प्रतिशत, संस्थागत मुद्दति ४ प्रतिशत
२०. हिमालयन बैंक
व्यक्तिगत मुद्दति ५.५ प्रतिशत, संस्थागत मुद्दति ४.२५ प्रतिशत