शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

जेनजी आन्दोलनको २३ अर्ब ४४ करोड बीमा दाबीमध्ये ४ अर्ब ३८ करोड भुक्तानी, कसले कति दिए?

राष्ट्रिय बीमा कम्पनीले गरेको छैन कुनै पनि भुक्तानी

आइतबार, मंसिर २८ २०८२
जेनजी आन्दोलनको २३ अर्ब ४४ करोड बीमा दाबीमध्ये ४ अर्ब ३८ करोड भुक्तानी, कसले कति दिए?

प्रदेशअनुसार सबैभन्दा धेरै भुक्तानी बागमती प्रदेशमा ३ अर्ब ११ करोड १५ लाख रुपैयाँ भएको छ भने कोशी प्रदेशमा ६६ करोड ४८ लाख रुपैयाँ भुक्तानी भएको छ।

काठमाडौं- नेपाल बीमा प्रधिकरणले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट भएको क्षतिको बीमा दाबी विवरण सार्वजनिक गरेको छ।प्राधिकरणले मंसिर २७ गतेसम्म परेको बीमा दाबीको विवरण सार्वजनिक गरेको हो।

सार्वजनिक विवरणअनुसार १८ वटा बीमा कम्पनीमा ३ हजार ३ सय बीमा दाबी संख्या रहेको छ भने २३ अर्ब ४४ करोड ६ लाख रुपैयाँबराबरको रकम दाबी गरिएको छ।

प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार दाबी परेको रकममध्ये ४ अर्ब ३८ करोड ४७ लाख रुपैयाँबराबरको दाबी भुक्तानी भएको छ। जसमा सम्पत्ति बीमा दाबी संख्या ७ सय १० वटा रहेको छ भने बीमा दाबी रकम १९ अर्ब ८८ लाख रुपैयाँ रहेको छ। ३ अर्ब करोड ८९ लाख रुपैयाँबराबरको दाबी भुक्तानी भएको छ।

मोटर बीमाको २ हजार ३ सय ८ वटा बीमा दाबी संख्या रहेको छ। ३ अर्ब ४७ करोड ५३ लाखको बीमा दाबी रकम रहेकोमा १ अर्ब ८ करोड ६० लाख रुपैयाँबराबरको दाबी भुक्तानी भएको छ।

इन्जिनियर तथा ठेक्का जोखिम बीमाको ६ करोड ८१ लाखको बीमा दाबी भुक्तानी भएको छ। त्यसैगरी परिवहन बीमाको ६६ लाख बराबरको बीमा दाबी भुक्तानी भएको छ भने अन्य क्षेत्रको ४९ लाख बराबरको बीमा दाबी भुक्तानी भएको छ।

विवरणअनुसार सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ४ सय ७ वटा दाबी संख्या रहेको छ भने ५ अर्ब ५३ करोड ५६ लाख दाबी रकम रहेको छ। जसमध्ये कम्पनीले १ अर्ब ६६ करोड ७८ लाख बराबरको दाबी भुक्तानी दिएको छ।

त्यसैगरी दाबी रकमको आधारमा सबैभन्दा धेरै दाबी परेको दोस्रो बीमा कम्पनी दि ओरेन्टिएल इन्स्योरेन्स कम्पनी हो। यो इन्स्योरेन्समा ५ अर्ब ४५ करोड ७० लाख रुपैयाँबराबरको दाबी परेको छ। दाबी संख्या १ सय १ रहेको छ भने कम्पनीले हालसम्म ९ करोड १२ लाखमात्रै भुक्तानी दिएको छ। यो कम्पनीमा हिल्टन होटलको क्षतिको बीमा दाबी परेको थियो। जसको बीमा दाबी भुक्तानी भएको छैन। कम्पनीले दाबी भुक्तानी दिने प्रक्रियामा रहेको जनाएको छ।

बीमा दाबी रकम धेरै भएको कम्पनीमा तेस्रो हो आईजीआई प्रूडेन्सियल इन्स्योरेन्स कम्पनी। यो बीमा कम्पनीमा २ सय १९ वटा बीमा दाबी परेको छ भने बीमा दाबी रकम २ अर्ब ८० करोड ९७ लाख रहेको छ। जसमध्ये कम्पनीले ६६ करोड १ लाखबराबरको बीमा दाबी भुक्तानी गरेको छ।

बीमा दाबी परेका अन्य कम्पनीहरुमा शिखर इन्स्योरेन्सको २ अर्ब ४० करोड ५८ लाखबराबरको बीमा दाबी परेकोमा कम्पनीले ७१ करोड ११ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ।

त्यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २० करोड ९९ लाख, नेको इन्स्योरेन्सले २२ करोड ५९ लाख,हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३० करोड ६५ लाख, सानीमा जीआईसी इन्स्योरेन्सले ८ करोड ८१ लाख, युनाइटेड अजोड इन्स्योरेन्सले ५ करोड २० लाख, एनएलजी इन्स्योरेन्सको १७ करोड २७ लाख, नेपाल इन्स्योरेन्सले १८ करोड ४ लाख, प्रभु इन्स्योरेन्स् ५० लाख, नेशनल इन्स्योरेन्सले २७ लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ५२ लाख, स्टार माइक्रो इन्स्योरेन्सले ३ लाख, ट्रस्ट माइक्रो इन्स्योरेन्सले २९ लाख, नेपाल माइक्रो इन्स्योरेन्सले २२ लाख बीमा दाबी भुक्तानी गरेका छन्।

राष्ट्रिय बीमा कम्पनीमा २ सय ४७ वटा बीमा दाबी संख्या रहेको छ भने अहिलेसम्म ५८ करोड ६९ लाख रुपैयाँ बीमा दाबी रकम रहेकोमा कम्पनीले अहिलेसम्म कुनैपनि पोलिसिकाे बीमा दाबी भुक्तानी गरेको छैन।

प्रदेशअनुसार सबैभन्दा धेरै भुक्तानी बागमती प्रदेशमा ३ अर्ब ११ करोड १५ लाख रुपैयाँ भएको छ भने कोशी प्रदेशमा ६६ करोड ४८ लाख रुपैयाँ भुक्तानी भएको छ। 

यस्तै गण्डकी प्रदेशमा ३० करोड ५७ लाख, लुम्बिनीमा १२ करोड ७७ लाख, मधेश प्रदेशमा ८ करोड ६० लाख, सुदूरपश्चिममा ५ करोड ५३ लाख र सबैभन्दा कम कर्णालीमा ३ करोड ३८ लाख रुपैयाँ भुक्तानी भएको छ।


प्रकाशित : आइतबार, मंसिर २८ २०८२१७:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend